काठमाडौं । ‘रेलको बाटो’ नामक फिल्म निर्माण हुने भएको छ । कस्तुरी प्रोडक्सन प्रालिले रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बनाउन लागेको फिल्मको बिहीबार पोस्टर सार्वजनिक गर्दै औपचारिक निर्माण घोषणा गरिएको हो ।
फिल्मले कर्णालीको पीडा बोकेको छ । पोस्टरमा देखिएको ’लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे’ भन्ने वाक्यले राज्यको उपेक्षामाथि गहिरो भावनात्मक र राजनीतिक संकेत गरेको छ ।
फिल्मको कथा तथा निर्देशन लक्ष्मण सुनारको रहनेछ । थिम पोस्टरमा ‘गाउँपालिका भवन उद्घाटन’ लेखिएको गेट र तल ’प्रधानमन्त्रीज्यूलाई स्वागत छ’ भन्ने ब्यानर देखिन्छ ।
यो फिल्ममा संगीत सुरज पण्डितको रहनेछ । छायाँकन निशाल पौडेलले गर्नेछन् भने पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन्। फिल्मका कार्यकारी निर्मातामा नगेन्द्र घिमिरे छन् भने वितरण अधिकार काफिया फिल्मस्ले लिएको छ । कर्णालीका विभिन्न जिल्लामा फिल्मको छायाँकन गरिनेछ र २०८३ सालमा प्रदर्शनमा ल्याइने योजना निर्माण टिमको छ ।

प्रतिक्रिया