चलचित्र ‘महाभोज’को गीत ‘लालूमै’


काठमाडौँ । नेपाली रङ्गमञ्च हुँदै चलचित्रमा अभिनय गर्ने कलाकारहरू अभिनयमा अब्बल मानिन्छन् । उनीहरूले आफ्नो पात्रलाई जीवन्त बनाउन गरेको मेहनतको प्रसंशा हुने गर्छ । यद्यपि उनीहरू नृत्यमा भने कमजोर देखिने गरेका छन् । उनीहरूको जति अभिनयको चर्चा हुन्छ, त्यति नै नृत्य गर्न नसकेको आरोप लाग्ने गरेको छ ।

आइतबार ठमेलस्थित छायाँ सेन्टरमा रहेको चलचित्र भवनमा चलचित्र ‘महाभोज’ मा समावेश गीत ‘लालूमै’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेता दयाहाङ राईले आफूले छमछमी नृत्य गर्न नसकेको स्वीकार्दै गीतको भावअनुसार प्रस्तुत हुने गरेको बताए ।

उनले भने, “मैले पहिले नै चलचित्रका निर्माता तथा निर्देशकलाई नृत्यमा कमजोर छु भनेको हुन्छ । किनकि मैले जति नै प्रयास गर्दा राम्रो नृत्य गर्न सकिन । त्यसकारण मैले गर्ने नृत्य सामान्य हुन्छ । तर, छमछमी नाच्नु मात्र नृत्य होइन ।”

अभिनेता राईले नाटकमा नृत्य गर्नुपर्ने भए पनि आफूले प्रयास गर्दा नसकेको बताए । यद्यपि उनले केही साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडिओ) मा नृत्य गरेका छन् ।

अभिनेता खगेन्द्र लामिछानेले आफूले जमलमा रहेको नाँचघरमै केही समय सिक्दा नृत्यमा पारङ्गत हुन् नसकेको स्वीकारे । उनले भने, “मैले चलचित्रमा काम गर्ने भएपछि केही समय नृत्य सिक्ने कोसिस गरें । तर, मेरो शारीरिक हाउभाउले गर्दा छमछमी नाच्न नसक्ने भए । मैले कोसिस नगरेको होइन तर सम्भव नभएपछि अन्य विधामा केन्द्रित भएको हुँ ।”अभिनेता लामिछानेले आफू सुहाउँदो नृत्य चलचित्रमा गरिरहेका छन् ।

अर्का अभिनेता आर्यन सिग्देलले गीतको भावअनुसार श्रव्यदृश्यमा सबैले आफूलाई प्रस्तुत गरेको बताए । उनले भने, “गीत भनेको नाच्ने मात्र होइन, त्यहाँ हाउभाउ प्रस्तुत गर्नसक्नु पर्छ । उहाँहरुको ‘फेस एक्सप्रेसन’ले नै नृत्यको काम गरिदिन्छ ।”

उक्त गीतमा निश्चल बस्नेतको स्वर, केतन क्षेत्रीको सङ्गीत तथा हर्क साउदको शब्द लेखेका हुन् । गणतन्त्र दिवसको विशेष अवसरमा आगामी जेठ १५ गते सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’लाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

यसमा अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, बसुन्धरा भुसाल, मोहन निरौला, वुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारले अभिनय गरेका छन् ।

&nbsp