सुरक्षा पन्तको विरोध किन ?
-नारायण गाउँले ।
सुरक्षा पन्त झण्डा बोकेर राजाको पक्ष या विपक्षमा नारा लगाउन गएकी थिइनन् । आर्टिकल लेखेर पक्षविपक्षमा तर्क गरेकी पनि थिइनन् । कलाकार थिइन्, कलाक्षेत्रकै मानिने एउटा टक–शोमा गएकी थिइन् । अपेक्षा र तयारी पनि कलाक्षेत्रकै प्रश्नको हुँदो हो ।
शो चलाउनेलाई सधैँ कन्ट्रोभर्सी चाहिन्छ । एक्कासी त्यहाँ राजनैतिक प्रकृतिको प्रश्न आयो । चिन्नुहुन्छ भन्ने प्रश्नको उत्तर चिन्छु भन्नु स्वाभाविक नै थियो । उहाँलाई कुन रूपमा देख्न चाहनुहुन्छ भन्ने प्रश्न खास सान्दर्भिक र उनको विषयसँग सबन्धित थिएन । सोध्नेले खास र चर्चित हुने उत्तर चाहेको देखिन्थ्यो । राजाको रूपमा भन्नका लागि देशमा राजतन्त्र बाँकी छैन । त्यो तन्त्र उनले फालेको पनि होइन । फेरि राजा नै बन्न पनि त उनी तेस्रो पुस्ताका हुन् । पालो आएकै छैन । मान्छेका रूपमा भन्ने कुरो भएन, हृदयेन्द्र मान्छे नै हुन् । राजकुमार उनी जन्मसिद्ध नै थिए ।
प्रधानमन्त्रीका रूपमा भन्ने उत्तर राजनैतिक हुन्थ्यो । पार्टी खोलेर चुनाव लड्न आऊ भन्नेहरूको लाइनमैँ हुन्थ्यो । एउटा कलाकारका लागि सबैभन्दा पवित्र र ठूलो पेशा कला नै हो ! उनले कलाकारका रूपमा भनिन् । यसमा असम्मानको कुनै गन्ध छैन । सुन्दर हुनुहुन्छ, लोकप्रिय हुनुहुन्छ, त्यो उमेर समूहमा ठूलो फ्यान–फलोइङ् छ, सिनेमा या कलाको कुनै क्षेत्रमा सफल हुन सक्नुहुन्छ भन्नु गाली हो, असभ्य हो भने सभ्यता के होला ? पारस शाहसँग जोडेर, अनेक घटना र राजनीतिसँग जोडेर मानमर्दन गरेको भए, अन्य राजनैतिक टिप्पणी गरेको भए अलग हुन्थ्यो ।
के हृदयेन्द्र यत्तिकै बस्ने त ? केही नगर्ने ? कुनै क्षेत्रमा या पेशामा नलाग्ने ? राजतन्त्र फर्कियो भने त लौ फेरि राजकुमार बन्ने लाइनमा हुनुहोला रे, फर्किएन भने केही नबन्ने ? के राजाबाहेक अरू सबै पेशा र क्षेत्र निकम्मा हुन् ? म पूर्व शिक्षक हुँ । मलाई सोधिएको भए शिक्षक नै भन्थेँ । मलाई शिक्षण पेशाप्रति सम्मान र प्रेम छ । एउटा कलाकारले कला भनिन् । हृदयेन्द्रका बूढा हजुरबुबा राजा महेन्द्र पनि कलाकार हुनुहुन्थ्यो, सर्जक हुनुहुन्थ्यो ।
राजावादीहरूलाई लाग्ने पहिलो आरोप राजाको शासनमा बोल्न पाइन्न भन्ने हो । आज त्यत्ति बोलेकै भरमा सुरक्षा पन्तको विरोध गर्नुभएको छ भने तपाईं आफैले त्यो आरोप पुष्टि गर्दै हुनुहुन्छ । बोल्न पाइन्न भनेको टेप लगाउने भनेको होइन, यस्तै विचार र अभिव्यक्ति राख्दा गाली खाइन्छ, खेदिन्छ भन्ने हो । संसारका धेरै देशमा राजतन्त्र छ । कति राजपरिवारका सदस्य कला क्षेत्रमा छन् । त्यहाँ राजपरिवारबारे यत्तिको टिप्पणीलाई कत्ति पनि अनैतिक मानिन्न । मानिएको दिन राजतन्त्रको लोकप्रियता पनि रहन्न । नेपालमा त अहिलेको संविधान अनुसार राजतन्त्र नै छैन । यो त वस्तुगत तथ्य हो नि । एउटा सभ्य नागरिकले अर्को सभ्य नागरिकलाई कला क्षेत्रमा आउनुस् भन्नु कसरी असभ्य हुन्छ र ? त्यो पनि कूटनीति प्रयोग गरेर, लामो सोचेर, रणनीतिपूर्वक दिइएको उत्तर होइन । देशको संविधान र व्यवस्थालाई सम्मान गर्नु अनैतिक हुन्छ र ? देउवादेखि कमल थापा र राजेन्द्र लिङ्देनसम्मले मानेको संविधानलाई एउटा कलाकारले चुनौती दिन मिल्छ ?
तन्त्र जे सुकै होस्, तर सहिष्णुता, सद्भाव र अभिव्यक्तिलगायतका नागरिक स्वतन्त्रताको त सबैले सम्मान गर्नैपर्छ । वैचारिक स्वतन्त्रता नभएको तन्त्र आउन त सक्छ तर टिक्न सक्दैन ।