चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’
काठमाडौँ । भीमदर्शन रोका स्मृति कोषले शनिबार काठमाडौँमा एक समारोहकाबीच छ दशकदेखि सिर्जनामा सक्रिय वरिष्ठ चित्रकार शशिविक्रम शाहलाई ५० हजार एक रुपैयाँ राशिको आदर्श गुरु सम्मान प्रदान गरेको छ ।
उनलाई सिद्धार्थ वनस्थली स्कुलका प्राचार्य रुपक राजवंशी, साहित्यकार रोचक घिमिरेले सम्मान पत्र र खादा ओढाउँदै सम्मान गरे । कोषले आजै काभ्रेको पनौतीमा रहेको सहारा ज्येष्ठ नागरिक समाजलाई पनि त्यति नै रकमसहित सम्मान गरेको छ ।
सम्मानित भएपछि कलाकार शाहले आफूलाई सिर्जनामा लाग्न जाँगर थपिएको बताए । उनी स्वदेशमा मात्र नभई विदेशमा पनि परिचित छन् । बेलायतको टेक मोर्डन आर्ट ग्यालरीमा उनको मात्र चित्र राखिएका छन् ।
साहित्यकार रोचक घिमिरेले स्रष्टा सम्मानलाई समाजले निरन्तरता दिनुपर्नेमा जोड दिए भने । प्राचार्य राजवंशीले भीमदर्शन रोकाको शैक्षिक योगदानको चर्चा तथा कलाकार शाहका कलाकृतिको समीक्षा गरेका थिए ।