चलचित्र निर्माणमा आएको रुपान्तरण



 

काठमाडौं । विसं २०६३ पश्चात प्रविधिमा रुपान्तरणसँगै राजनीतिक घटनाक्रमले समय बदलियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउने आश पनि गरियो । केही समयसम्म त्यस्ता चलचित्र सिमित सङ्ख्यामा बने । विसं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरू भएको डिजिटल चलचित्रको यात्राले ‘लूट’ को प्रदर्शन पश्चात गति लियो । यसले नेपाली चलचित्रमा स्थापित पुराना मान्यतालाई भत्काउन सफल भयो ।

अभिनेता, पहिरन, छायाँङ्कन, लवजसँगै प्रस्तुतिका हिसाबले अन्यभन्दा फरक चलचित्र ‘लूट’ ले नयाँ अध्यायको सुरूआत गर्यो । देशमा भइरहेका परिवर्तनले दिएका विषयवस्तु तथा उक्त परिवर्तनसँगै भित्रिएका आधुनिक प्रविधिले दिएको सहजताका कारण अहिले चलचित्रलाई समाजसँग जोड्ने गरिएको छ ।

चलचित्र ‘द कप’मार्फत निर्देशकीय यात्राको प्रारम्भ गरेका विश्वप्रख्यात निर्देशक खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले चलचित्र भन्नेबित्तिकै मस्तिस्कमा निर्माण हुने चित्र हलिउड र बलिउडले स्थापित गरेको बताए । “ती उद्योगबाट निर्मित चलचित्र हेर्दै हेराइको विकास गरेका छौँ, त्यहीँ कारण चलचित्र भन्नेबित्तिकै हाम्रो मानसपटलमा हिरो, हिरोइन, भिलेन, गीत र द्वन्द्वजस्ता स्थापित भाष्यको चित्र बन्छ”, उनले भने

सामाजिक विषय र बदलाको कथा कयौँ चलचित्रमा देखिए । किनकि ती दर्शकमार्फत अनुमोदित विषय थिए । त्यसलाई धेरै समयसम्म निर्देशक र पटकथाकारले परिवर्तन गर्न खोजेनन् । बजारकै अनुसार चलचित्र निर्माण भइरहेको निर्देशक सुनिल पाण्डेले बताए । उनले भने, “पचासको दशकमा फरक किसिमका चलचित्रले प्रदर्शनमा सहजता पाउथेनन्, गीत, द्वन्द्व र काल्पनिक कथा भएका चलचित्र दर्शकको रोजाइमा पर्थे, दर्शक फेरिएपछि चलचित्रको निर्माण फेरियो ।”

चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाका अनुसार नेपाली चलचित्रको बजार अहिले बढेको छ । ‘कबड्डी ४ः द फाइनल म्याच’ ले घरेलु बजारमा २३ करोडको व्यापार गर्नुले भविष्य उज्वल रहेको सङ्केत गरेको उनले भने । छक्कापञ्जा शृङ्खला, जात्रा शृङ्खलाको बजार पनि उस्तै रहेको उनको भनाइ थियो ।

“पछिल्लो समय चलचित्र जारीकै व्यापार हेर्ने हो भने स्वदेशझैँ विदेशमा पनि राम्रो दर्शक पाएको छ, यसको कुल व्यापारलाई मध्यनजर गर्ने हो भने नेपाली चलचित्रको बजारको आकार बढेको अनुमान गर्न सकिन्छ, दर्शक छन्, बजार छ, अब हामीले चलचित्र बनाउन सक्नुपर्छ”, निर्देशक देउजाले भने ।

मौलिक विषयवस्तुले चलचित्रमा स्थान पाएसँगै निर्माण शैलीमा परिवर्तन आएको निर्देशक प्रदीप भट्टराईले बताए । “पर्दामा हाम्रो मौलिकता र संस्कृतिले स्थान पाएका छन् । हामीसँग भएको कथालाई पर्दामा उतार्न पाएका छौँ, राम्रा भनिने चलचित्रले स्वदेशी बजारको मात्रै भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, चलचित्र राम्रो बनाउन सके व्यावसायिकरूपमा विदेशमा पनि प्रदर्शन गर्न सकिन्छ”, उनले  भने । उनी निर्देशित पछिल्लो चलचित्र ‘महापुरूष’ले विदेशमा पनि राम्रो व्यापार गरेको थियो ।

उनझैँ मौलिक विषयलाई उठान गर्ने क्रम अहिले चलचित्रमा बढेको छ । प्रविधिझैँ निर्माणमा समेत नयाँ शैलीले मान्यता पाएको छ । अहिले चलचित्रका अभिनेता भन्नेबित्तिकै सुकिला वा सयौँ भिलेनलाई पिट्ने मात्र हुँदैनन् । आम मानिसझैँ शक्तिविहीन र पर्दा बाहिर देखिने पात्रले स्थान पाएका छन् । यहीँ कारण चलचित्रलाई विभिन्न धारको भन्ने पनि गरिन्छ । अधिकांश चलचित्रकर्मी भने चलचित्रको एउटै धार ‘दर्शकको मन जित्नु’ रहेको बताउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

आईसीसी सिड्नी थिएटरमा ‘१९७४ एडी’ को ऐतिहासिक प्रस्तुति

काठमाडौं ।  चर्चित ब्यान्ड १९७४ एडी ले अष्ट्रेलियास्थित सिड्नीको आईसीसी थिएटरमा पहिलोपटक सांगीतिक

यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना