जनकले ल्याए ‘बिजुली’


काठमाडौं । गायक जनक ताम्राकारको ‘बिजुली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा महेश ताम्राकारको शब्द र संगीत छ । सिन्धुलीका रमणीय स्थानमा छायाँकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन प्रधान र नायिका उपासना सिंह ठकुरीले अभिनय गरेका छन् ।

गीतमा बिजुलीको काम गर्दै गरेका निराजनले विज्ञापनमा देखिएकी मोडललाई गरेको प्रेमकथा देखाइएको छ । गीतको भिडियो हरि हुमागाईंले निर्देशन गरेका हुन् भने उत्तम हुमागाईंले छायाँकन गरेका छन् ।

यस्तै भिडियोमा मौसम हिमालीको कोरियोग्राफी छ भने, उदयराज पौडेलको एरेन्ज, शैलेन्द्र एम प्रधान (बाबु)को मिक्सिङ मास्टरिङ छ ।