मलाया युद्ध लडेको सैनिकको कथा ‘गोर्खा वारियर’(भिडियोसहित)
काठमाडौं । नेपालीले सन् १९४९ मा भएको मलाया युद्धमा देखाएको वीरताको कथामा फिल्म बनेको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘गोर्खा वारियर’का बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा गोर्खा सैनिकले देखाएको बहादुरीसँगै युद्ध लडेको सैनिकको जीवनी प्रस्तुत हुने जानकारी दिइयो ।
“सैनिकले केकस्तो अवस्थामा युद्ध लडेका थिए भन्ने यसमा देखाएका छौँ । उहाँको परिवार र जीवनीसमेत समेटेका छौँ”, निर्देशक चाम्सले भने, “हामीले नेपालीले कायम गरेको वीरताको कथा फिल्ममार्फत विश्वलाई भन्नुपर्छ ।”
कार्यक्रममा फिल्मको टिजरसमेत सार्वजनिक गरियो । जङ्गल युद्धलाई देखाउँदा कठिनाइ भएकै कारण निर्माणमा लामो समय लागेको निर्देशक चाम्सले जानकारी दिए । “म आफैँ पूर्वसैनिक भएकाले पनि यसमा युद्ध लड्ने प्राविधिक शैली नै देखाएका छौँ । अन्य फिल्म जस्तो एउटा हिरोले नभई सम्पूर्ण टिमले वास्तविक झैँ यसमा युद्ध लड्नेछन्”, निर्देशक चाम्सले भने ।
पत्रकार सम्मेलनमा उपस्थित सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक शैलेन्द्र खनालले निर्देशक चाम्सलगायतको टिमलाई शुभकामना दिए । “नेपाली वीरताको कथालाई अन्य निर्माताले पनि पर्दामा ल्याउनुपर्छ । म यसमा गीतकारका रूपमा जोडिन पाउँदा खुसी छु”, पूर्वमहानिरीक्षक खनालले भने ।
उपस्थितले भिएफएक्स, ब्याकग्राउन्ड स्कोर, सिनेम्याट्रोग्राफी तथा कलर ग्रेडिङलगायतको प्राविधिक पक्षको तारिफ गरेका थिए । नेपालीसहित हिन्दी र अङ्ग्रेजी भाषामा प्रदर्शन हुन लागेको फिल्मको २०२३ मा बेलायतमा प्रिमियर हुँदैछ ।
फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय छ । विजय लामा सैनिक मेजरको भूमिकामा छन् ।
नेपाल र मलेशियामा छायाङ्कन गरिएको फिल्ममा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, समीर मियाँको भिएफएक्स, शैलेन्द्र खनाल ‘शरद’को गीत रचना र एलिस कार्कीको सङ्गीत रहेको छ ।