‘सप्तरङ्ग–३’को घोषणा
काठमाडौं । सप्तरङ्गको तेश्रो संस्करणमा महानायक राजेश हमाल लगायत चर्चित कलाकार सहभागी हुने भएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरङ्ग–३’ हुने जानकारी गराएको हो । यो संस्करणको ‘सप्तरङ्ग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ ।
‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाईलाई जनमानसमा कलामार्फत प्रष्ट्याउने ‘सप्तरङ्ग’आयोजकले बताएको छ । ‘सप्तरङ्ग’ पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित भएको थियो । कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरङ्ग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ ।
काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर , २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ। ‘सप्तरङ्ग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीलगायतका कलाकारहरू सहभागी हुनेछन् ।
पहिलो र दोस्रो संस्करणले सात प्रदेश बीचको आमजनताको सम्बन्ध सुमधुर बनाउन प्रभावकारी भएको थियो । यो संस्करणले सातै प्रदेशमा साङ्गीतिक यात्राको माध्यमबाट स्वास्थ्य र समृद्धिको नारालाई प्रवर्द्धन गरिनेछ । यसैगरी कार्यक्रमको होस्ट निता प्रधान, विवेक खतिवडा र नरेश भट्टराईले गर्नेछन् ।