महान् मनिषा
भनिन्छ, एक्लो वृहस्पति पनि झुट हुन्छ । तर होईन रहेछ, एक्लो वृहस्पति पनि सत्य साबित गर्न काफी हुँदो रहेछ । नेपालको नयाँ नक्शा सार्वजनिक गर्ने सरकारको निर्णयलाई एक्लै बचाऊ गर्ने महान् अभिनेत्री मनिषा कोइराला अहिले एकलो वृहस्पति साबित भएकी छिन् । मनिषाले नेपाली भूगोल, भूमि र नक्शाको बचाउमा बोल्दा, ट्वीट गर्दा सिंगै भारतीय मिडियाहरु अभिनेत्री मनिषाको तुच्छ आलोचना र विरोध गरिरहेका छन् । फोहर गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै भारतीय मिडियाले मनिषालाई अन्टसन्ट आरोप लगाएको भारतीय मिडिया हेर्दा दर्शकहरु नै लज्जित हुनुपर्ने अवस्था देखिदैछ ।
आफ्नै बलबुता, संघर्ष र क्षमताले स्थापित विख्यात कलाकार मनिषा कोइरालालाई भारतको नून खाएर चीनको गीत गाएको आरोप लगाउने भारतीय मिडियाहरुले वास्तवमा मनिषाको आलोचना गरेका होइनन्, आफ्नो वस्त्र उतारेका हुन्, आफ्नो औकात विश्वसामु देखाएका हुन् । मनिषा कोइरालाले बोलेको बोली सत्य हुन् । तर सत्य स्वीकार गर्न नसक्ने भारतीय केही मिडिया आफैं सर्वांग भएका हुन् । आफै सत्य स्वीकार गर्न नसकेर एकतर्फी पागल बनेका हुन् ।
संसार जान्दछ, भारतीय रजतपट दुनियाँका लागि दिनको घाम जत्तिकै छर्लंग छ की मनिषा नेपाली छोरी, भारतीय सिने उद्योगकी चर्चित र स्थापित कालाकार हुन् । नेपालको प्रतिष्ठित राजनीतिक कुल खान्दान कोईराला वंशकी मनिषा भारतकी कलाकार हुन्, तर नेपाली धर्तीकी सन्तान हुन् । भारतीय सिनेमा उद्योग उनको कर्मथलो हो, जहाँ उनले कलाकारिता बेचेकी हुन् । भारतीय सिने उद्योगमा उनले आफनो अलौकीक कला बेचेकी हुन्, कलाकारिताको पारख पस्केर पारिश्रमिक लिएकी हुन् । न की भारतको नून दानमा थापेकी वा खाएकी होइनन् ।
नेपालको उच्च राजनीतिक खान्दानमा जन्मेकी मनिषलाई जीवन्त अभिनय कुनै भारतीयले बक्सिसमा दिएका होइनन् । भारतीय फिल्म उद्योगमा मनिषाको उदय, एकल वर्चस्व र लोकप्रियता मनिषाको उम्दा कला क्षमताको प्रष्फुटन थियो, कसैको निगाहा थिएन । हिन्दूस्तान वा संसारको कुनै पनि भूगोल मनिषाको कलाको भोको थियो र त्यो उनले जहाँ पनि देखाउन सक्थिन । फरक यत्ति हो, उनले पहिलो कर्मभूमि हिन्दूस्तानी रजतपट दुनियाँलाई बनाईन् ।
फेरि कलाको न भूगोल हुन्छ, न सीमा । कला नै त्यस्तो सेतु हो जसले संसारलाई एकसूत्रमा समान रुपमा जोड्छ । उसै पनि भारत र नेपाल वीचको रोटीबेटीको जनस्तरको संवन्धलाई मनिषाले कला मार्फत थप उचाई दिएकी हुन् । नेपाली चेलीको पौरखले हिन्दूस्तानी सिने जगत माथि उठेको पक्का हो ।
अहिले समय क्रममा उनी जीवनको फरक मोडमा आफ्नो मातृभुमि नेपालको रक्षा, हित र विकासका लागि लागिपरेकी हुन् । उनले सत्य बोलेर मातृभूमि नेपाल र नेपालीको शीर उच्च पारेकी हुन् । उनलाई भारतको नून खाएर चीनको गीत गाएको आरोप लगाउने भारतीय केही मिडियाहरु नै वास्तमा झुट हुन्, नक्कली हुन् ।
त्यसमाथि पनि भारतको नून खाएर चीनको गीत गाएको भन्ने भारतीय मिडिया टिप्पणी त आकाशतिर फर्केर थुक्ने भारतीय मुर्खता मात्र हो । नेपाली चेली मनिषा न चिनियाँ दलाल हुन्, न त प्रवक्ता । फेरि भारत र नेपालको आपसी बिबादको विषय हो कालापानी, र दुई देशले समझदारीपूर्वक यो विषय मिलाउन भनेर जब चीनले औपचारिक रुपमा प्रतिक्रिया दिईसक्यो भने, भारतले मनिषालाई चिनियाँ गाइने सम्झनु आफनै लघुताभाष र अल्पज्ञानको पराकाष्ठा मात्रै हो । चिनका लागि मनिषाको एक छिमेकीप्रतिको सदभाव बाहेक अरु न झुकाव छ, न समर्पण ।
मनिषा जननायक विपी कोईरालाकी नातिनी, काँग्रेस नेता प्रकाश कोइरालाकी छोरी मात्रै होइन, देशभक्त नेपाली चेलीका रुपमा प्रश्तुत हुदा भारतीय केही मिडियाको तारो बनिन् । यसले उनको मान मर्दन गरेको छैन, ईज्ज्त घटाएको पनि छैन, बरु स्वाभिमानी, राष्ट्रवादी, देशभक्त नेपाली माझ मनिषालाई महान् देशभक्त नेतृ बनाएको छ ।
मनिषा विरुद्ध अरिंगाल झैं खनिएका भारतीय मिडिया विरुद्ध वा मनिषाको प्रतिरक्षामा चुँ गर्न नस्कने कैयन स्थापित नेपाली कलाकारहरु आफैं पनि नाँगिएको बेला हो यो । आफूले त मनिषाले जसरी देशको पक्षमा बोल्न सकेनन् । सकेनन्, मनिषाको साहसिक भनाईको पनि बचाउ गर्न सकेननन् मै हुँ भन्ने स्वनामधन्य नेपाली कलाकारहरुले । यो पनि कलाकारको देशभक्तिको स्तर मापन गर्ने एक कडी नै हो ।
जो होस, एकलै देशभक्तिको अडान राख्ने, भारतीय प्रहार झेल्ने र नेपालीको शीर उच्चो पार्दै नेपाली स्वाभिमानको गाथामा शक्तिशाल झैं अडिग महान मनिषाको
साहस लाई सबैले गरौं सलाम । र, भनौ महान मनिषा कोइराला जिन्दावाद ।