डा. गोविन्दशरण उपाध्याय
आजको युगलाई हामी माया गरेर भनौँ वा अलिकति अहङ्कार मिसाएर – ‘विज्ञानको युग’ भन्छौँ । यसो भन्नु गलत पनि होइन। मानव इतिहासलाई हजारौँ वर्ष पछाडि फर्केर हेर्ने हो भने आधुनिक विज्ञानले मानिसको दैनिक जीवनमा ल्याएको परिवर्तन अद्भुत छ। कुनै समय सामान्य सङ्क्रमणले ज्यान जाने मान्छे आज जटिल शल्यक्रियाबाट पुनः जीवन पाउँछ । महिनौँ लगाएर पुगिने ठाउँमा केही घण्टामै पुगिन्छ। पृथ्वीको एउटा कुनामा बसेको मानिस अर्को कुनामा रहेको आफन्तसँग अनुहार हेरेर कुरा गर्न सक्छ। अन्तरिक्षमा उपग्रह घुमिरहेका छन्, मानिसले जीनको संरचना पढिरहेको छ, कृत्रिम बुद्धिमत्ताले भाषा बुझ्न थालेको छ र ब्रह्माण्डको आरम्भसम्म खोज्ने प्रयत्न भइरहेको छ । यस अर्थमा विज्ञान मानव बुद्धिको महान् उपलब्धि हो ।
तर एउटा कुरा बिर्सनु हुँदैन – विज्ञान आकाशबाट झरेको होइन, मान्छेले निर्माण गरेको हो । मान्छेले जिज्ञासाका कारण विज्ञान निर्माण गर्यो | रोगबाट बच्न चिकित्सा बनायो, दूरी घटाउन यातायात र सञ्चार बनायो, अँध्यारो हटाउन बिजुली बनायो, श्रम घटाउन मेसिन बनायो | त्यसैले विज्ञानको अन्तिम प्रयोजन मूलतः मानवजीवनलाई सहज, सुरक्षित र समृद्ध बनाउनु हो । तर यही ठाउँमा अर्को गम्भीर प्रश्न जन्मिन्छ – मान्छेका लागि निर्माण गरिएको विज्ञानले मान्छेलाई नै नष्ट गर्न थाल्यो भने त्यसलाई कसले रोक्ने? त्तर फेरि विज्ञान मात्र होइन । त्यहाँ दर्शन चाहिन्छ । नीतिशास्त्र चाहिन्छ । मनोविज्ञान चाहिन्छ । समाजशास्त्र चाहिन्छ । इतिहास चाहिन्छ । भाषा, साहित्य, संस्कृति, राजनीति र मानवशास्त्र चाहिन्छ अर्थात् विज्ञानसँगै मानविकी र सामाजिक विज्ञान चाहिन्छ ।
विज्ञान जान्नु र विज्ञानको सदुपयोग जान्नु एउटै कुरा होइन । भौतिकशास्त्रले परमाणुभित्र कति ऊर्जा छ भनेर पत्ता लगाउन सक्छ । तर त्यो ऊर्जा अस्पताल चलाउन प्रयोग गर्ने कि हिरोसिमा बनाउन – भौतिकशास्त्रको समीकरणले निर्णय गर्दैन । रसायनशास्त्रले विष बनाउने र औषधि बनाउने दुवै ज्ञान दिन सक्छ। जीवविज्ञानले जीन परिवर्तन गर्ने प्रविधि दिन सक्छ, तर ‘मानिसको जीनमा कति हस्तक्षेप गर्नु उचित हुन्छ?’ भन्ने प्रश्न जीवविज्ञानको प्रयोगशालाले मात्र समाधान गर्दैन । कृत्रिम बुद्धिमत्ताले लाखौँ मानिसको विवरण विश्लेषण गर्न सक्छ | तर नागरिकको गोपनीयता उल्लङ्घन गर्न मिल्छ कि मिल्दैन? एल्गोरिदमले कुनै जाति, वर्ग, लिङ्ग वा समुदायमाथि भेदभाव गर्यो भने जिम्मेवार को हुन्छ? मानव निर्णयको अधिकार मेसिनलाई कति दिन मिल्छ? यी सबै मानविकी, सामाजिक विज्ञान, कानुन र नीतिशास्त्रका प्रश्न हुन् ।
यसैले UNESCO ले कृत्रिम बुद्धिमत्तासम्बन्धी विश्वव्यापी नैतिक मापदण्ड तयार गर्दा मानव गरिमा, मानव अधिकार, न्याय, निष्पक्षता, पारदर्शिता, विविधता, वातावरणीय दिगोपन र अन्तिम मानव उत्तरदायित्वलाई मूल सिद्धान्त बनाएको छ। २०२१ मा UNESCO का सदस्य राष्ट्रहरूले स्वीकार गरेको Recommendation on the Ethics of Artificial Intelligence ले स्पष्ट रूपमा प्रविधि मानव नियन्त्रण र नैतिक उत्तरदायित्वबाट बाहिर जान नहुने बताउँछ | यसको अर्थ सरल छ – विज्ञानले शक्ति दिन्छ, मानविकीले त्यो शक्ति कहाँ, किन र कसरी प्रयोग गर्ने भनेर प्रश्न गर्छ । शक्ति ठूलो हुनु सभ्यता होइन । शक्तिको विवेकपूर्ण प्रयोग गर्न सक्नु सभ्यता हो ।
हामीले आफ्ना बालबालिकालाई के बनाउँदै छौँ? नेपालका धेरै अभिभावकको एउटा प्रिय सपना हुन्छ- “मेरो छोराछोरीले विज्ञान पढोस् | यो सपना नराम्रो होइन । विज्ञान पढ्नुपर्छ । इन्जिनियर चाहिन्छन्, चिकित्सक चाहिन्छन्, कम्प्युटर वैज्ञानिक चाहिन्छन्, कृषिविज्ञ चाहिन्छन्, भौतिकशास्त्री र रसायनशास्त्री चाहिन्छन् । तर समस्या विज्ञानप्रतिको प्रेममा होइन अपितु मानविकीप्रतिको तिरस्कारमा छ । अझै पनि हाम्रो समाजमा राम्रो अङ्क ल्याउने विद्यार्थीलाई विज्ञान पढाउने, त्यसपछि व्यवस्थापन र अन्तिम विकल्पका रूपमा मानविकी रोज्ने मनोविज्ञान पाइन्छ | कसैले स्वेच्छाले दर्शन, इतिहास, मनोविज्ञान, समाजशास्त्र, भाषा वा संस्कृति पढ्न चाह्यो भने प्रश्न गरिन्छ – “यति राम्रो विद्यार्थी भएर पनि मानविकी?”
यो प्रश्न सामान्य होइन। यसभित्र एउटा बौद्धिक हिंसा लुकेको छ | एउटा किशोरले आफ्नै रुचिले दर्शन पढ्न चाहन्छ। घरले भन्छ – “यसबाट के हुन्छ?” कसैले इतिहास पढ्छ—“जागिर पाइन्छ?” कसैले साहित्य पढ्छ – “लेखेर पेट पालिन्छ?” तर इन्जिनियरिङ पढ्ने किशोरलाई प्रायः सोधिँदैन—“तिमीलाई साँच्चिकै इन्जिनियर बन्न मन छ?” यहीँबाट शिक्षा ज्ञानको खोजीबाट हटेर केवल आयको साधन बन्न थाल्छ । शिक्षाले रोजगारी दिनुपर्छ | आत्मनिर्भर बनाउनु पनि पर्छ । तर शिक्षा केवल तलब कमाउने मेसिन बनाउने प्रक्रिया होइन । शिक्षाले राम्रो पेशाकर्मी मात्र होइन, राम्रो मानिस र जिम्मेवार नागरिक पनि निर्माण गर्नुपर्छ ।
हाम्रो छिमेकी भारतजस्तो विज्ञान र प्रविधिमा ठूलो लगानी गरिरहेको देशको राष्ट्रिय शिक्षा नीति २०२० ले समेत कला र विज्ञानबीच “कठोर विभाजन” हुनु नहुने स्पष्ट नीति लिएको छ । भारतको National Curriculum Framework ले विज्ञान, सामाजिक विज्ञान, कला र मानविकीलाई समेट्ने बहुविषयक तथा समग्र शिक्षा आवश्यक रहेको बताउँछ | त्यसले नैतिकता, सहानुभूति, संवैधानिक मूल्य, सहकार्य, आलोचनात्मक चिन्तन र सृजनशीलतालाई शिक्षाका आधारभूत उपलब्धिका रूपमा राखेको छ । भारतले २०२० देखि भारतका प्राचीन मौलिक भाषा, संस्कृति तथा परम्परालाई शिक्षानीतिमा समावेश गरेको छ । त्यसैले विज्ञानलाई माथि र मानविकीलाई तल राख्ने मानसिकता आधुनिक होइन अपितु आधुनिकताको आवरणमा बाँचेको पुरानो शैक्षिक पूर्वाग्रह हो ।
नेपालमा मानविकी कहाँ उभिएको छ ? नेपालको उच्चशिक्षाको तथ्याङ्क पनि विचारणीय छ | विश्वविद्यालय अनुदान आयोगको २०२३/२४ को उच्चशिक्षा प्रतिवेदनअनुसार नेपालका उच्चशिक्षा संस्थामा ६३३,०५३ विद्यार्थी अध्ययनरत थिए। त्यसमध्ये मानविकी तथा सामाजिक विज्ञानतर्फ करिब ७२,६८२ विद्यार्थी थिए – कुल विद्यार्थीको लगभग ११.५ प्रतिशत । यसको विपरीत व्यवस्थापनमा मात्र २८२,८३६ अर्थात् करिब ४४.७ प्रतिशत विद्यार्थी थिए । यो तथ्याङ्कले मानविकी समाप्त भयो भन्ने प्रमाणित गर्दैन, तर कम्तीमा एउटा प्रश्न अवश्य उठाउँछ – मानिस, समाज, संस्कृति, नैतिकता, इतिहास र चेतनाबारे अध्ययन गर्ने विषय हाम्रो शैक्षिक प्राथमिकतामा किन क्रमशः किनारामा पुगिरहेका छन् ?
अझ विडम्बना के छ भने हामी समाजमा हिंसा बढ्यो भन्छौँ, भ्रष्टाचार बढ्यो भन्छौँ, परिवार कमजोर भयो भन्छौँ, मानसिक स्वास्थ्य बिग्रियो भन्छौँ, राजनीतिक असहिष्णुता बढ्यो भन्छौँ, सामाजिक सञ्जालले घृणा बढायो भन्छौँ – तर यी समस्याको अध्ययन गर्ने दर्शन, मनोविज्ञान, समाजशास्त्र, इतिहास र संस्कृतिलाई चाहिँ “काम नलाग्ने विषय” भन्छौँ । यो विरोधाभास होइन र? असलमा, मानविकी विज्ञानको विरोधी होइन : यहीँ एउटा भ्रम हटाउन आवश्यक छ । मानविकीको समर्थन गर्नु विज्ञानको विरोध गर्नु होइन विज्ञान र मानविकीलाई दुईवटा प्रतिस्पर्धी शिविर बनाउनु नै गलत हो । अमेरिकाको National Academies of Sciences, Engineering, and Medicine ले उच्चशिक्षामा विज्ञान, इन्जिनियरिङ र चिकित्सासँग मानविकी तथा कलाको एकीकरणबारे विस्तृत अध्ययन गरेको छ । Branches from the Same Tree नामक उक्त प्रतिवेदनले उपलब्ध अनुसन्धानहरूको समीक्षा गर्दा यस्ता एकीकृत कार्यक्रमहरू आलोचनात्मक चिन्तन, गहिरो अध्ययन, समस्या समाधान, सञ्चार, समूहकार्य, नैतिक निर्णय, सहानुभूति, लचकता र वास्तविक जीवनमा ज्ञान प्रयोग गर्ने क्षमतासँग सकारात्मक रूपमा सम्बन्धित रहेको जनाएको छ ।
शीर्षक नै अर्थपूर्ण छ – Branches from the Same Tree—एउटै रुखका हाँगाहरू । विज्ञान एउटा हाँगा हो। दर्शन अर्को । साहित्य अर्को । कला, मनोविज्ञान, इतिहास र समाजशास्त्र अरू हाँगा हुन् |हाँगाहरूलाई आपसमा काटेर रुख बलियो हुँदैन ।विज्ञान पढ्ने विद्यार्थीले दर्शन पढ्दा उसको विज्ञान कमजोर हुँदैन; प्रश्न गर्ने क्षमता बलियो हुन्छ । चिकित्सकले साहित्य पढ्दा उसको चिकित्सा ज्ञान घट्दैन, बिरामीको पीडा बुझ्ने संवेदना थपिन सक्छ। इन्जिनियरले समाजशास्त्र बुझ्दा गणित बिर्सँदैन; उसले निर्माण गरेको सडक, बाँध वा शहरले समुदायमा पार्ने प्रभाव बुझ्न सक्छ | यसैले आधुनिक शिक्षाको लक्ष्य STEM विरुद्ध Humanities होइन अपितु STEM सहित Humanities हुनुपर्छ ।
मेसिन अत्यन्त दक्ष हुन सक्छ, तर करुणावान् हुँदैन : मानविकीको शिक्षा करुणासहितको दक्षता हो । मेसिनको एउटा विशेषता हुन्छ – उसलाई जे प्रोग्राम गरिएको छ, त्यही गर्छ । मानिसको विशेषता भनेको केवल गणना गर्न सक्नु होइन । यदि गणना नै बुद्धिको अन्तिम मापदण्ड हो भने क्यालकुलेटरले हामीलाई धेरै पहिले पराजित गरिसकेको थियो । मानिस कथा बुझ्छ । मृत्युमा रुन्छ । अन्याय देखेर क्रोधित हुन्छ । प्रेम गर्छ । क्षमा गर्छ । आफ्नो स्वार्थ त्यागेर अपरिचित मानिसलाई बचाउँछ ।
मरेका पुर्खालाई सम्झन्छ र जन्मिन बाँकी सन्ततिको भविष्यका लागि आज निर्णय गर्छ | यही मानवीय संसारलाई भाषा, साहित्य, दर्शन, कला, इतिहास, मनोविज्ञान र समाजशास्त्रले अध्ययन गर्छन् । UNESCO ले सामाजिक तथा मानव विज्ञानलाई जलवायु परिवर्तन, डिजिटल रूपान्तरण, असमानता, जनसांख्यिक परिवर्तन तथा नयाँ प्रविधिका नैतिक चुनौती सामना गर्न आवश्यक ठानेको छ । दर्शनशास्त्रको शिक्षालाई उसले आलोचनात्मक चिन्तन, मानवीय मूल्य, संवाद र कट्टरताविरुद्ध बौद्धिक क्षमता विकास गर्ने माध्यम मानेको छ | अर्थात् मानविकी “कथा पढ्ने फुर्सदिलो विषय” होइन । यो मानिसलाई बुझ्ने विज्ञान र विवेकको क्षेत्र हो ।
जलवायु संकट विज्ञानको असफलता होइन, मूल्यको सङ्कट पनि हो : आज पृथ्वी तातिरहेको छ। IPCC को पछिल्लो व्यापक मूल्याङ्कनले मानव गतिविधि- विशेष गरी हरितगृह ग्यास उत्सर्जन—ले विश्व तापक्रम वृद्धि गराएको कुरा “unequivocal” अर्थात् शङ्कारहित रूपमा स्थापित गरेको छ। २०११–२०२० को औसत विश्व तापक्रम औद्योगिकपूर्व १८५०–१९०० को तुलनामा करिब १.१ डिग्री सेल्सियस माथि पुगेको थियो । यो विज्ञानले दिएको तथ्य हो । तर अर्को प्रश्न विज्ञानभन्दा बाहिर जान्छ – असीमित उपभोग कति उचित हो? आजको सुविधा बचाउन भोलिको पुस्ताको भविष्य बिगार्न पाइन्छ? धनी समाजले अधिक प्रदूषण गरेर गरिब समुदायलाई त्यसको मूल्य चुकाउन लगाउनु न्याय हो? वन केवल काठको परिमाण हो कि संस्कृति, जीवन र भविष्य पनि हो?
यी प्रश्नको उत्तर तापक्रम मापन गर्ने उपकरणसँग हुँदैन । त्यहाँ अर्थशास्त्र चाहिन्छ, समाजशास्त्र चाहिन्छ, दर्शन चाहिन्छ, नीतिशास्त्र चाहिन्छ, आदिवासी ज्ञान र संस्कृतिको अध्ययन चाहिन्छ । अर्थात् जलवायु परिवर्तन समाधान गर्न जलवायु विज्ञान मात्र पर्याप्त हुँदैन; जलवायु नैतिकता र सामाजिक न्याय पनि चाहिन्छ ।
परमाणु बम : विज्ञानको विजय कि विवेकको पराजय हो ब्बनेर विवेकले प्रश्न गर्न सक्छ, मसिनले गर्न सक्दैन | मानव इतिहासको सबैभन्दा कठोर उदाहरण परमाणु हतियार हो | परमाणु विखण्डन बुझ्नु महान् वैज्ञानिक उपलब्धि थियो। तर त्यही ज्ञानबाट यस्तो अस्त्र बन्यो जसले केही क्षणमै एउटा शहरलाई खरानी बनाउन सक्छ । आज पनि त्यो खतरा समाप्त भएको छैन। Stockholm International Peace Research Institute को SIPRI Yearbook 2026 अनुसार जनवरी २०२६ मा संसारका नौ आणविक हतियारयुक्त राष्ट्रसँग अनुमानित १२,१८७ आणविक वारहेड छन् | तीमध्ये करिब ९,७४५ सैन्य भण्डारमा सम्भावित प्रयोगका लागि राखिएका छन् र ४,०१२ मिसाइल वा विमानसँग तैनाथ अवस्थामा छन् । SIPRI ले आणविक हतियारको आधुनिकीकरण र भूराजनीतिक तनावसँगै गलत आकलन तथा तनाववृद्धिको जोखिम बढिरहेको चेतावनी दिएको छ।
हिरोसिमा र नागासाकी इतिहास हुन्; आणविक खतरा वर्तमान हो । International Committee of the Red Cross ले एउटा आणविक विस्फोटले नै ठूलो सङ्ख्यामा मानिस मार्न, स्वास्थ्य संरचना ध्वस्त पार्न, दीर्घकालीन विकिरणजन्य रोग सिर्जना गर्न र राष्ट्रिय सीमाभन्दा बाहिरसम्म वातावरणीय प्रभाव फैलाउन सक्ने बताएको छ । व्यापक आणविक युद्धले जलवायु, खाद्य उत्पादन र विश्वव्यापी मानवजीवनमा विनाशकारी असर पार्न सक्छ । अब परमाणु बमलाई एउटा क्षणका लागि बोल्न सक्ने मेसिनका रूपमा कल्पना गरौँ | के त्यसले भन्छ – “म विस्फोट हुनु पाप हो, त्यसैले विस्फोट हुन्नँ” , भन्दैन | बमसँग नैतिक चेतना हुँदैन | मिसाइलसँग करुणा हुँदैन । कुनै पनि हतियार र मसीनसंग दया वा क्षमा हुँदैन । एल्गोरिदमसँग अपराधबोध हुँदैन । नैतिक निर्णय सधैँ मानिसले गर्नुपर्छ । त्यसैले समस्या विज्ञानमा होइन। समस्या विज्ञानको शक्ति बोकेको तर नैतिक शिक्षाबाट खाली भएको मानिसमा हुन सक्छ।
अव संस्कृतिको कुरा गरौँ – संस्कृतिलाई हामी प्रायः पोसाक, पर्व, नाचगान र खानपिनमा सीमित गर्छौँ । संस्कृति त्योभन्दा धेरै ठूलो कुरा हो । मान्छेले आमालाई कसरी सम्बोधन गर्छ, मृतकलाई कसरी सम्झन्छ, पाहुनालाई कसरी स्वागत गर्छ, वृद्धलाई कस्तो व्यवहार गर्छ, प्रकृतिसँग कस्तो सम्बन्ध राख्छ, विवाहलाई के अर्थ दिन्छ, दुःखमा कसको हात समात्छ, अन्यायलाई कसरी बुझ्छ- यी सबै संस्कृतिका अंश हुन् । भाषाले स्मृति बोक्छ । इतिहासले अनुभव बोक्छ | दर्शनले प्रश्न बोक्छ | साहित्यले अनुभूति बोक्छ । मनोविज्ञानले मन बुझ्छ । समाजशास्त्रले सम्बन्ध बुझ्छ । यी विषय कमजोर हुँदा केवल केही विश्वविद्यालयीय विभाग कमजोर हुँदैनन् अपितु समाजले आफूलाई बुझ्ने क्षमता कमजोर हुन्छ ।
संस्कृति नबुझ्ने इन्जिनियरले घर बनाउन सक्छ, घरको अर्थ नबुझ्न सक्छ । मानव मन नबुझ्ने प्रविधिविद्ले सामाजिक सञ्जाल बनाउन सक्छ, त्यसले किशोरको मनमा के गरिरहेको छ भन्ने नबुझ्न सक्छ । इतिहास नपढेको शासकले ठूलो निर्णय गर्न सक्छ, तर पुराना गल्ती फेरि दोहोर्याउन सक्छ | त्यसैले मानविकी विलासिता होइन अपितु सभ्यताको स्मृति प्रणाली हो ।
अव प्रश्न उठ्छ : भविष्यको विश्वविद्यालय कस्तो हुनुपर्छ? नेपालले विज्ञानको शिक्षा घटाउनु हुँदैन । बरु अझ राम्रो प्रयोगशाला बनाउनुपर्छ । अनुसन्धान बजेट बढाउनुपर्छ । प्रविधि, चिकित्सा, कृषि, इन्जिनियरिङ, गणित र कृत्रिम बुद्धिमत्तामा ठूलो लगानी गर्नुपर्छ । तर त्यसैसँग एउटा अनिवार्य शर्त हुनुपर्छ — हरेक वैज्ञानिकले मानिस र समाज पनि बुझ्न पाओस् । चिकित्सा विद्यार्थीले चिकित्सा–नीतिशास्त्र, मनोविज्ञान र सञ्चार पढोस् । इन्जिनियरले वातावरणीय नैतिकता र समाज बुझोस् ।
AI पढ्ने विद्यार्थीले दर्शन, गोपनीयता, न्याय र मानव अधिकार बुझोस् । व्यवस्थापन पढ्नेले अर्थशास्त्रमात्र होइन, सामाजिक उत्तरदायित्व पनि बुझोस् । मानविकी पढ्ने विद्यार्थी पनि विज्ञान, तथ्याङ्क, डिजिटल प्रविधि र वैज्ञानिक विधिबाट टाढा नबसोस् । यही समन्वय भविष्यको शिक्षा हो ।
विज्ञानविहीन मानविकी अन्धविश्वासतर्फ जान सक्छ | मानविकीविहीन विज्ञान संवेदनाहीन शक्तिमा रूपान्तरित हुन सक्छ । एउटाले तथ्य दिन्छ, अर्कोले अर्थ खोज्छ । एउटाले प्रकृति कसरी काम गर्छ भन्छ, अर्कोले हामी कसरी बाँच्नुपर्छ भनेर प्रश्न गर्छ । एउटाले शक्ति दिन्छ, अर्कोले संयम सिकाउँछ | त्यसैले हाम्रा छोराछोरीलाई वैज्ञानिक बनाऔँ – तर विज्ञान जान्ने मात्र होइन, मानिस बुझ्ने वैज्ञानिक इन्जिनियर बनाऔँ-तर पुलसँगै समाज जोड्न सक्ने इन्जिनियर । चिकित्सक बनाऔँ—तर रोग मात्र होइन, रोगीलाई पनि देख्ने चिकित्सक । प्रविधिविद् बनाऔँ—तर मेसिनको क्षमताभन्दा मानव गरिमालाई माथि राख्ने प्रविधिविद् । र दर्शन, साहित्य, इतिहास, मनोविज्ञान तथा समाजशास्त्र पढ्ने विद्यार्थीलाई “कमजोर” भन्ने हाम्रो अज्ञानता त्यागौँ । किनभने अन्ततः प्रश्न विज्ञान वा मानविकीमध्ये कुन रोज्ने भन्ने होइन ।
प्रश्न हो – हामीलाई अत्यन्त दक्ष मेसिनजस्तो मानिस चाहिएको हो कि ज्ञान, विवेक, करुणा र उत्तरदायित्वसहितको पूर्ण मानिस? विज्ञानले हामीलाई चन्द्रमामा पुर्याउन सक्छ, तर चन्द्रमामा पुगेर पनि एकअर्काको घाँटी काट्ने हो भने त्यो यात्राको अर्थ के रह्यो? विज्ञानले मानिसको आयु बढाउन सक्छ, तर त्यो लामो जीवन घृणा, युद्ध, एक्लोपन र संवेदनाहीनतामा बित्ने हो भने विकासको अर्थ के रह्यो? त्यसैले विज्ञान अवश्य पढाऔँ । अझ धेरै पढाऔँ। अझ राम्रो पढाऔँ । तर दर्शन पनि पढाऔँ | साहित्य पढाऔँ | मनोविज्ञान, समाजशास्त्र, इतिहास, संस्कृति र नीतिशास्त्र पनि पढाऔँ । किनभने विज्ञानले संसार परिवर्तन गर्ने शक्ति दिन्छ; मानविकीले त्यो संसार मान्छे बस्न योग्य रहोस् भन्ने विवेक दिन्छ । विज्ञानले हामीलाई शक्तिशाली बनाउँछ | मानविकीले त्यो शक्तिको प्रयोग गर्दा मान्छे बनिरहन सिकाउँछ । यी दुईमध्ये कुनै एउटा रोज्नु पर्दैन | दुवै चाहिन्छ | किनभने हामीलाई केवल विकसित राष्ट्र होइन—विवेकशील सभ्यता चाहिएको छ | मानविकीलाई वेवास्ता गरेर उन्नत राष्ट्र प्राप्त भए पनि मानवीय स्वभाव, कर्तव्यपारायण मान्छे पाइन्न | विवेकी मान्छे पाइन्न । त्यसैले मानविकी र समाजशास्त्रको पठन/पठन अवश्य छ | मान्छेलाई महान् मान्छे बन्न मदत गर्ने शिक्षाको सबैभन्दा बढी आवश्यकता छ ।

प्रतिक्रिया