सुनसरी । धार्मिक, सांस्कृतिक तथा मूल्यमा आधारित शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित बराहक्षेत्र–१, चतराधामस्थित पवित्र श्रीरामतारक ब्रह्म पीठ अन्तर्गत सञ्चालित ’जगद्गुरु श्रीरामानन्दाचार्य गुरुकुल’ले नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । गुरुकुलले साधकवृन्द, भक्तजन तथा धर्मप्रेमी समुदायलाई लक्षित गर्दै हार्दिक मंगलमय आशीर्वादसहित विद्यार्थी भर्ना आह्वान गरेको हो ।
गुरुकुलले कक्षा ६ देखि १२ सम्मको अध्ययन व्यवस्था गर्दै नेपाल सरकारको पाठ्यक्रमअनुसार अंग्रेजी माध्यममा गुणस्तरीय शिक्षा प्रदान गरिने जनाएको छ । आधुनिक र परम्परागत शिक्षाको समन्वयलाई प्राथमिकता दिँदै यहाँ स्मार्ट कक्षाकोठा, कम्प्युटर प्रयोगशाला तथा विज्ञान प्रयोगशाला जस्ता पूर्वाधारमार्फत विद्यार्थीलाई व्यवहारिक तथा प्रविधिमैत्री शिक्षा दिइने व्यवस्था गरिएको छ ।
संस्थाका अनुसार गुरुकुल शिक्षापद्धति अन्तर्गत विद्यार्थीहरूलाई ब्रह्ममुहूर्तदेखि नै अनुशासित जीवनशैलीमा अभ्यस्त गराइनेछ । दैनिक योग, प्राणायाम, ध्यान, नित्य सन्ध्या–वन्दन, वेद–व्याकरण अध्ययनका साथै संस्कार, संस्कृति र जीवन–कर्तव्यसम्बन्धी शिक्षामा विशेष जोड दिइनेछ । यसका अतिरिक्त खेलकुद, नृत्य, संगीत लगायत अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र व्यक्तित्व विकासमा ध्यान दिइने बताइएको छ ।
आवासीय सुविधासहित सञ्चालन हुने गुरुकुलमा सुरक्षित, स्नेहपूर्ण वातावरण, सन्तुलित आहार–विहार तथा आयुर्वेदिक जीवनशैलीको अभ्यासलाई पनि प्राथमिकतामा राखिएको छ। विद्यार्थीहरूको शारीरिक, मानसिक र आध्यात्मिक विकासलाई एकैसाथ अगाडि बढाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
अभिभावकसँग नियमित सम्पर्क कायम राख्न भिडियो कलमार्फत संवाद गर्ने व्यवस्था मिलाइएको छ, जसले टाढा रहेका अभिभावकलाई समेत आफ्ना सन्तानको प्रगति नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नेछ ।
गुरुकुल व्यवस्थापनले आजको प्रतिस्पर्धात्मक युगमा केवल शैक्षिक डिग्री मात्र पर्याप्त नभएको उल्लेख गर्दै संस्कार, चरित्र र आध्यात्मिक चेतनासहितको जीवन नै वास्तविक सफलताको आधार भएको धारणा सार्वजनिक गरेको छ। यही उद्देश्यलाई आत्मसात् गर्दै गुरुकुल सञ्चालन गरिएको जनाइएको छ।
संस्थाले आफ्ना सन्तानलाई चरित्रवान, अनुशासित, संस्कारित र धर्म–संस्कृतिले युक्त उत्कृष्ट व्यक्तित्वका रूपमा विकास गराउन चाहने अभिभावकलाई समयमै भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। सीमित सिट रहेका कारण शीघ्र सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया