काठमाडौँ महानगरले थाल्यो एसइई नतिजा सुधारका लागि विशेष कक्षा


काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधारका लागि विशेष कक्षा सुरु गरेको छ । विभागले ६ वटा विद्यालयमा विशेष कक्षा थालेको हो ।

गत वर्षको एसइई परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका ११ वटा विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने विभागको योजना छ ।

सोही अन्तर्गत पहिलो चरणमा धेरै विद्यार्थी भएका गीतामाता माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुह्ेश्वरी बालशिक्षा माध्यमिक विद्यालयमा विशेष कक्षा सुरु गरिएको विभागका प्रमुख नमराज ढकालले बताए ।

यी विद्यालयमा विशेष कक्षाको आवश्यकता भएका ५२३ जना विद्यार्थीलाई कक्षामा सहभागी गराइने ढकालले जानकारी दिए । ‘विषय विज्ञ, स्रोत शिक्षक, सेवानिवृत्त शिक्षकहरूले यी कक्षाहरू लिनुहुनेछ,’ उनले भने ।

न्यून नतिजा र न्यून विद्यार्थी भएका प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्री माध्यमिक विद्यालयमा आउँदो चैत ३ गतेपछि कक्षा सञ्चालन हुने ढकालले जानकारी दिए ।

यी विद्यालयका १०४ जना विद्यार्थीलाई विशेष कक्षामा सहभागी गराइने र दुवै समूहमा गरी ६२७ जना विद्यार्थीलाई विशेष कक्षा प्रदान गरिने विभागले जनाएको छ ।

‘विद्यार्थीमा परीक्षाको डर हटाउनुस्’

गीतामाता माविमा कक्षाको सुरुआत गर्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यार्थीमा परीक्षाको डर हटाउन अध्यापनमा संलग्न शिक्षकसँग आग्रह गरिन् । परीक्षामा आत्मविश्वाशका साथ सहभागी हुन प्रोत्साहन गर्ने, उत्तर लेख्ने सीप सिकाउने उद्देश्यले कक्षा सञ्चालन गरिएको उनले बताइन् ।

यस वर्ष महानगरले सामुदायिक विद्यालयबाट करिब चार हजार ५५७ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेछन् ।

विसं २०८१ एसइईमा सहभागी विद्यार्थीमध्ये ७८९ विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका थिए । यसमा १७ जनाले ४ जिपिए पाए । यो नतिजा २०८० को भन्दा ४४.७७ प्रतिशत धेरै हो ।