काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र अक्सफोर्ड युनिभर्सिटी प्रेस, इन्डियाबीच नेपालमा पठन संस्कार र गुणस्तरीय प्रवर्द्धनका लागि समझदारी भएको छ ।
काठमाडौँमा आज आयोजित कार्यक्रममा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र अक्सफोर्ड युनिभर्सिटी प्रेस, इन्डियाका प्रबन्ध निर्देशक सुकान्त दासबीच सम्झौतापत्रमा हस्ताक्षर आदानप्रदान भएको हो । सम्झौताअनुसार विश्वसनीय र लोकप्रिय कार्यक्रमको अङ्गका रूपमा ७० वटा पुस्तकको ‘प्याक’ नेपाली विद्यालयलाई सहुलियतमा उपलब्ध हुनेछ । साथै ती विद्यालयका शिक्षकका लागि अनलाइन तालिम कार्यक्रम पनि सञ्चालन हुनेछ । अक्सफोर्डले प्याब्सनको केन्द्रीय कार्यालयमा स्रोत तथा सिकाइ केन्द्र स्थापनमा सहयोग गर्नेछ ।
पठन संस्कृति बढाउन र विश्वस्तरको गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि सोच्ने क्षमता, सिर्जनशीलता, शैक्षिक विकास तथा आजीवन सिकाइका लागि सम्झौता भएकाले यसबाट पाँच हजारभन्दा बढी निजी विद्यालय र त्यहाँका विद्यार्थीहरू लाभान्वित हुने अध्यक्ष अधिकारीले बताए । प्याब्सनका निवर्तमान अध्यक्ष डिके ढुङ्गानाले लामो समयको प्रयास र संवादपछि यस प्रकारको सहमति भएको बताउनुभयो । अक्सफोर्डका प्रबन्ध निर्देशक दासले नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय सहभागिता र महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया