काभ्रे । प्रधानमन्त्री सुशीला कार्कीले नेपालका विश्वविद्यालयका कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको बताएकी छन् ।
बुधबार काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले कुलपति बनाउने विषयमा गम्भीर भएकाले विश्वविद्यलायका उपकुलपतिसहित उच्च नेतृत्व तथा अन्य सरोकार भएकासँग परामर्श गरी सरकार गृहकार्यमा जुटेको बताइन् ।
प्रधानमन्त्री कार्कीले पछिल्लो समय प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको बताउँदै सोहीअनुसार शिक्षामन्त्री महावीर पुनले सरोकार भएका निकायका प्रतिनिधिसँग आवश्यक छलफल, परामर्श र गृहकार्य गरिरहनुभएको जानकारी दिइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौँ ।’ यस्तो व्यवस्थाबाट नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परालाई अन्त्य गर्ने विश्वास लिइएको उनको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले युवाहरूको बदलिँदो सोचअनुरूप नयाँ राजनीतिक परिस्थितिमा आफू प्रधानमन्त्री बनेको उल्लेख गर्दै गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकभित्रै सम्बोधन हुनेपर्ने राष्ट्रिय आकाङ्क्षा आमनागरिकको रहेको जेनजी आन्दोलनले प्रष्ट पारेको बताइन् ।
‘त्यसको जग बसाल्ने अभिभारा निभाउनमा हामी सरकारको तर्फबाट प्रयास गरिरहेका छौँ’, उनले भनिन् ।
नेपालको उच्च शिक्षाका क्षेत्रमा पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र भर्चुअल रियालिटी प्रविधिको विकास भएको जनाउँदै प्रधानमन्त्री कार्कीले युवामा परिवर्तनका आकाङ्क्षा देखिनु स्वभाविक भएको बताइन् ।
उच्च शिक्षामा नेपालको लगानी न्यून रहँदै आएको भन्दै लगानी नबढाई ती आकाङक्षा पूरा गर्न सम्भव नभएको उनले बताइन् । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं केयूका सहकुलपति महावीर पुनको पनि उपस्थिति थियो । समारोहमा विभिन्न विधाका दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिक्रिया