जेनजी र नेपालीमा विज्ञानको शिक्षा


डा. गोविन्दशरण उपाध्याय ।

औपचारिकरूपले नेपालमा २०२७ देखि अंग्रेजी शिक्षाको आरम्भ भएको हो । ५५ वर्ष वितिसक्दा पनि ग्रामीणक्षेत्रका अधिकांश विद्यार्थी अंग्रेजी मै फेल हुन्छन् । घोक्न सक्ने विद्यार्थी पास हुन्छन्, नसक्ने फेल हुन्छन् । गणित र विज्ञानको पनि अंग्रेजी माध्यममा किताव पाइने र परीक्षामा लेख्नु पर्ने हुँदा विद्यार्थीलाई निकै मार पर्छ ।

नेपालमा थुप्रै भाषाहरू छन् तर संविधानले नेपाली भाषालाई नेपालीहरूबीच आमसंचारको माध्यमका रूपमा मान्यता दिएको छ । नेपालमा बोलिने सम्पूर्ण भाषाहरू राष्ट्रीय भाषा नै हुन् । नेपाल सरकारहरूले ५५ वर्षसम्म नेपालका घरघर अंग्रेजी भाषा पुर्याउन गरेको लागनी जोड्ने हो भने नेपालका हरेक नागरिक र बालबच्चाले अंग्रेजका बालबालिकाले भन्दा बढी अंग्रेजी लेख्नु र पढ्नु पर्ने हो ! तर सर्वसाधारण नेपालीका बालबालिकाहरू फेल हुने विषय, डराउने विषय, घोक्नु पर्ने विषय र शिक्षक/शिक्षिका नै नपाइने विषय पनि अंग्रेजी नै बनेको छ ।

अंग्रेजी अन्तराष्ट्रिय भाषा हो । विदेशी भाषाका रुपमा अंग्रेजी जान्नु, बुझ्नु र लेख्न पढ्न सक्नु राम्रो हो तर ५५ वर्षसम्म सरकार र गैरसरकारी संस्थाहरूले पानीझैं पैसा बगाउंदा पनि डरको विषय बनेको अंग्रेजी भाषाको विकासका लागि सरकारहरू किन मरिमेट्छन् ? किनभने अंग्रेजीमा विदेशीको लगानी आउँछ । नेपाली भाषाका लागि नेपाल आफैले लगानी गर्नुपर्छ ।

केही दिन अगाडी मेरो काम सिंहदरवार भित्र रहेको योजना आयोगको कार्यालयसँग पर्यो । मैले योजना आयोगका प्रतिवेदनहरू खोजें । अचम्मको तत्थ्य के भेटें भने योजना आयोगका प्रतिवेदनहरू धेरैजसो अंग्रेजीमा प्रकाशित भएका रहेछन् । जुन देशका ९०% सांसद, जनप्रतिनिधिहरूले अंग्रेजी लेख्न, पढ्न, बोल्न र बुझ्न सक्दैनन्, त्यही देशको योजना आयोगले अंग्रेजीमा प्रतिवेदन छाप्छ ? बुझ्न असजिलो छैन कि कुनै पनि सांसद र जानप्रतिनिधिहरूले योजनाआयोगका प्रतिवेदनहरू बुझ्ने कुनै सम्भावना छैन । तैपनि योजना आयोग चलेकै छ ।

मैले गाउँबाट विज्ञान पढ्न काठमाडौं आएकी भतिजीका लागि सरकारी +२ मा विज्ञान पढ्ने गरी भर्ति गरिदिएँ । उनी नेपाली मिडियममा पढेकी हुँदा अंग्रेजीमा पढाईने +२ को विज्ञान बुझ्न सकिनन् । यो कुरा थाहा पाएपछि मैले विद्यालयसंग सम्पर्क गरें – थाहा भयो कि नेपाली भाषामा विज्ञानका पुस्तकहरू लेखिएका नै रहेनछन् !! संदेश प्रष्ट छ : नेपालीमा पढ्नेले विज्ञान पढ्न पाइन्न । विज्ञान पढ्न अंग्रेज हुनैपर्छ !!! ५५ वर्षको अन्तरालमा जुन रकम अंग्रेजीका लागि विनियोजित गरिएको थियो त्यसको केवल १% विज्ञानलाई अंग्रेजीभाषामा लेखेको भए मेरा भतिजीजस्ता धेरैको विज्ञान पढ्ने रहर पुरा हुन्थ्यो ।

हालै नेपालमा जेनजीको निकै चर्चा छ । मैले केही अगुवा जेनजीहरूको बोली र भाषण सुनेको छु । उनीहरू अंग्रेजी बोल्छन् र नेपाली बोल्दा मुख विगार्छन् । सुकिलामुकिला जेनजीका लागि अंग्रेजी सभ्यताको प्रतिक, ज्ञानको प्रतिक, आधुनिकताको प्रतिक, प्रगतिको प्रतिक होला तर मेरा भतिजीहरूका लागि अंग्रेजी बाटो रोक्ने सबैभन्दा खराव तगारो हो । के जेनजीहरूले लाखौं नेपाली बालबालिकालाई नेपाली भाषामा विज्ञान, म्याथ र अन्य विषयहरू पढ्न पाउनु पर्ने मौलिक अधिकार बारे सोच्लान् ? कनेर नेपाली बोल्ने जेंजीहरूसंग मेरा भान्जी, भतिजी, छोरा, नातिहरूले के आशा गर्ने ?

भाषाप्रति मेरो कुनै पूर्वाग्रह छैन । त्यसो त नाइजेरिया, केन्या, युगाण्डा इथोपियाजस्ता थुप्रै देशहरूले अंग्रेजी भाषालाई महत्व दिएका छन् । केन्या र स्वाजीलेण्डक ९०% मान्छेले अंग्रेजी बोल्छन्, लेख्छन् र बुझ्दछन्ः तर ती न अमेरिका भएका छन् न बेलायत । आफ्नो भाषामा पाठयक्रम विकास गरेर हरेक बालबालिकालाई शिक्षा दिने जापान, चीन, कोरिया, जर्मन, इटालीहरू अविकसित छैनन् । त्यहाँ अंग्रेजी भाषा विना पनि मेडिकल, टेक्निकल, शैक्षिक उपलब्धिहरू राम्रै भएका छन् । जर्मन र जापानमा अंग्रेजी कत्ति पनि नजान्ने व्यक्तिहरूले शीर्ष बैज्ञानिक अनुसंधान र विज्ञता प्राप्त गरेका छन् ।

आधुनिक मनोबैज्ञानिक गार्डनर र जन डिवी दूवैले सिकाइको सबै भन्दा उपयुक्त भाषा मातृभाषानै हुने भनेर खोज गरेको धेरै समय वितेको छ । नेपालका निजीस्कूलहरूका नाम समेत हवार्ड र डिवीका नाम पञ्जिकृत छन् । डिवीको नाम भएको विद्यालयमा नेपाली बोल्ने (मातृभाषा बोले) दण्डित हुन्छन् । अनि, नेपाल सरकार, तथाकथित नागरिक अगुवा, प्राध्यापकहरू नेपाललाई सबैभन्दा कम आइक्यू (IQ) भएका मान्छेको देश भनेर अपमानित गरियो भन्दै रोइलो गर्छन् । समस्या अंग्रेजी भाषाको होइन, माइण्ड–सेटको हो । अंग्रेजी जान्ने मान्छेमात्रै जान्ने, बुझ्ने, आधुनिक, सभ्य र बैज्ञानिक हुन्छ भन्ने गलत–स्कूलिङको हो ।
जेनजीहरूले बुझ्नुपर्छ कि भ्रस्टाचारको अर्थ केवल आर्थिकस्तरमा मात्र हुँदैन । संबिधानले ‘सार्वभौम – नागरिक भएको पगरी गुथाएका छोराछोरीले आफ्नै संचारभाषा वा मातृभाषामा पढ्न नपाउने गरी अंग्रेजी थोपर्ने षड्यन्त्र गर्नेहरू पनि भ्रष्ट्राचारी नै हुन् । हामी जेनजी हौँ भन्दै कनेर नेपाली बोल्दैमा देशले कोल्टो फेर्दैन । जेनजीहरूले बुझ्नुपर्छ कि अंग्रेजी बोल्नेमात्र जेनजी हुँदैनन् । यदि फेरि पनि जेनजीहरूले शिक्षा क्षेत्रमा मातृभाषा कनेर बोल्ने शैक्षिक व्यबस्थालाई जस्ताको तस्तै रहन दिए भने सर्वसाधारणले लगाएको आरोप कि ‘जेनजीहरू विदेशीले परिचालन गरेका गोटी हुन्’ ठीक ठहर्ने छ । आमनेपाली जनताले अंग्रेजी कनेर पनि बोल्न सक्दैनन् तर नेपालीचाहिं धारा प्रवाह बोल्छन्ः अंग्रेजी जेनजीले यो कुरा बुझ्न जरुरी छ ।

अंग्रेजी जान्नुपर्छ तर लादिएको (कुनै पनि भाषाले) अंग्रेजीले घर नघाटको बनाउँछ । अंग्रेजीका कारण नेपालीहरू भ्रमित भएका छन् । अंग्रेजीका कारण सर्वसाधारण नेपालीका बालबालिकाहरू विज्ञानको शिक्षाबाट बन्चित भएका छन् । अंग्रेजी पढ्न र जान्न चाहनेले स्वतन्त्रता पूर्वक सिकोस् तर अंग्रेजी पढ्न नचाहने र नजान्नेहरूका लागि वैज्ञानिक शिक्षाको पहुँचबाट टाढा राख्नेहरू अपराधी हुन् । यस्तो अपराधमा साथ दिनेहरू पनि अपराधी नै हुन् । अंग्रेजी पढ्ने, बोल्ने र लेख्न सक्नेमात्र सभ्य, शिक्षित मान्छे हुन्छन् भन्ने माइण्ड-सेटमा विश्वास गर्ने/गराउनेहरू महाअपराधी हुन् ।

मेरो कुरा सामान्य छः अंग्रेजी नजानेका कारणले कुनै पनि बालबालिकाहरू विज्ञान, चिकित्सा, नर्स, प्राविधिक शिक्षा पढ्न बाटो बन्चित हुनुहुँदैन । नेपालीमा पढेर पनि हाम्रा बालबालिकाहरू चिकित्सक, बैज्ञानिक, इन्जिनियर, पण्डित बन्न पाउनुपर्छ । यो संविधानले दिएको अधिकार हो कुनै सरकारी मन्त्री, उच्चअधिकारी वा एनजीओले कृपा गरेर दिने अनुदान होइन । के जेनजीहरू यस विषयमा सचेत छन् ? के जेनजीको आन्दोलनपछि नेपाली नागरिकहरूले नेपाली भाषामा विज्ञान, चिकित्साजस्ता विषयहरू पढ्न पाउने व्यवस्था हुने छ ? सायद, यस विषयमा नेतृत्व गर्ने जेनजीहरूले विचार पुर्याउने छन् ?