आन्दोलनका घाइते तथा अभिभावक गुमाएका विद्यार्थीलाई निजी विद्यालय संचालकले छात्रवृत्तिको प्रबन्ध मिलाउने


काठमाडौं । निजी विद्यालय संचालकहरुले जेनजी पुस्ताको अगुवाइमा देशभर भएको आन्दोलनमाथि भदौ २३ गते राज्यपक्षबाट आन्दोलनमा हुन सक्ने सम्भावित जोखिमलाई आकलन गर्न नसक्दा, सुरक्षाका महत्वपूर्ण प्रबन्धहरूमा चुकेका कारणले थुप्रै विद्यार्थीले ज्यान गुमाउनु परेको बताएको छ ।

शनिबार विज्ञप्ति जारी गरी उनीहरुले आन्दोलनमा थुप्रै विद्यार्थी, युवा, प्रहरी र सर्वसाधारण नागरिकले अमूल्य ज्यान गुमाउनु परेको, सयौं घाइते भएका साथै दोस्रो दिन अर्थात् भदौ २४ गते आन्दोलनले उग्ररूप लिंदा सार्वजनिक तथा निजी सम्पत्तिमा खर्बौंको क्षति पुगेको घटनाले स्तब्ध भएको बताएका हुन् ।

यस्तो घटना अत्यन्तै दुर्भाग्यपूर्ण र पीडादायी भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘युवाहरूका जायज मागहरूलाई राज्यले गम्भीरतापूर्वक नलिंदा उत्पन्न यो परिणामले देशले एकातिर होनहार भविष्य बोकेका युवाहरू गुमाएको छ भने अर्कातिर निजी–सार्वजनिक सम्पत्तिको अत्याधिक नोक्सानी व्यहोर्नुपरेको छ । सांस्कृतिक सम्पदा, ऐतिहासिक धरोहरहरू तथा निजी सम्पत्तिहरू आगलागी र तोडफोडमा परेका छन्, जुन अत्यन्तै दुर्भाग्यपूर्ण र पीडादायी छ ।’

उनीहरुले आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण युवा विद्यार्थीहरू, सर्वसाधारण नागरिक लगायत प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । साथै, सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारलाई यथोचित क्षतिपूर्ति प्रदान गर्न तथा घाइतेहरूको पूर्ण उपचारको व्यवस्था गर्न उनीहरुले माग गरेका छन् । साथै घाइते तथा अभिभावक गुमाएका विद्यार्थीहरूको अध्ययनमा हाम्रा शैक्षिक संस्थाका तर्फबाट आवश्यक छात्रवृत्तिको प्रबन्ध मिलाउन समेत प्रतिबद्धता उनीहरुले जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान परिस्थितिले बालबालिकाको नियमित पठनपाठन अवरुद्ध भएको स्पष्ट छ । यद्यपि २०८२–०५–२७ अन्तरिम सरकार गठन भएको र स्थानीय प्रशासनले कफ्र्यू र आदेश क्रमश हटाउदै गएको परिस्थितिलाई मध्यनजर गर्दा अबको अवस्था अनुकूल हुँदै जाने विश्वासका साथ हामी सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, नागरिक समाज तथा सरोकारवाला सबै पक्षहरूलाई संयमित रहन, सकारात्मक वातावरण निर्माण गर्न र देशलाई पुनः शान्ति, स्थायित्व र विकासको लयमा फर्काउन सक्रिय भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दछौं । साथै सम्पूर्ण शैक्षिक संस्थाहरूलाई बालवालिकाको नियमित पढ्न पाउने अधिकारलाई ध्यानमा राख्दै आफ्नो स्थानीय अवस्थालाई मध्यनजर गर्दै प्रशासनसँग समन्वय गरी भोलि मिति २०८२–५–२९ गतेदेखि अनुकूलतालाई हेरी क्रमशः विद्यालय खोल्दै जान सकिने जानकारी गराउँदछौं ।’