आर्थिक बोझ पार्ने शिक्षकका मागहरु यसैपाली सरकारले बहन गर्न सक्दैनः शिक्षामन्त्री पन्त


काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकको सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ ।

आइतबार बसेको समितिको बैठकमा शिक्षा विधेयकको सम्बन्धमा छलफल भएको हो । छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग गरेका नौं बुँदे सहमति कार्यान्वनमा आफू प्रतिवद्ध रहेको बताए ।

उनले शिक्षक महासंघमा प्रतिनिधिहरुले नौ बुँदे सहमति भन्दा अगाडि भएका सहमतिहरुलाई पनि छलफलको एजेन्डा बनाएकाले आफ्नो प्रतिबद्धता भनेको नौ बुँदे प्रतिवद्धता भएको बताए ।

उनले भने, ‘नौ बुँदे प्रतिवद्धतालाई सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म कार्यान्वयन गरेर जाने हो । त्यसमा अस्पष्ट रहेका कतिपय बुँदाहरुमा शिक्षक महासंघका प्रतिनिधिहरुसँग बसेर छलफल गर्नेछौं । र एउटा निक्र्यौलमा पुग्छौं ।’

उनले आर्थिक बोझ पार्ने मागहरु यसैपाली सरकारले बहन गर्न नसक्ने बताए । उनले प्रतिबद्धता गरेर भोलि व्यवहारमा कार्यान्वयन हुन नसक्ने प्रतिबद्धता गर्नुको अर्थ नरहेको बताए ।