उच्च मावि तथा उच्च शिक्षा पढ्ने विद्यार्थीलाई पालिकाको अनुदान
पर्वत । सरकारले माध्यमिक तहसम्मको पठनपाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च शिक्षा पढ्न भने विद्यार्थीले शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था छ । आर्थिक रूपमा सबल विद्यार्थीले शुल्क तिरेरै भए पनि गुणस्तरीय शिक्षा लिइरहेका छन् । आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीले भने बीचैमा पढाइ छाडेर बस्नुपर्ने वा विदेश पलायन हुने गरेको अवस्था छ ।
तर, यसलाई मध्यनजर गर्दै पर्वतको महाशिला गाउँपालिकाले विद्यार्थीलाई अनुदान उपलब्ध गराउन थालेको छ । पालिकाले आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि उच्च शिक्षा पढ्न प्रोत्साहित गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ ।
महाशिलाले उच्च मावि, स्नातक वा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई छुट्टाछु्ट्टै अनुदान दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिए । उच्च माविमा गणित, विज्ञान तथा नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप वार्षिक ५० हजार उपलब्ध गराइने उनले बताए । यस वर्ष विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उक्त अनुदान उपलब्ध गराइने पाण्डेयले जानकारी दिए ।
यसैगरी, विपन्न तथा असहाय परिवारका विद्यार्थीलाई उच्च शिक्षामा सहज पहुँच पुर्याउन मेडिकल, इन्जिनियरिङ, कृषि र भेटेरिनरी विषयमा स्नातक अध्ययन गरिरहेका वा अध्ययन गर्न इच्छुकलाई पनि अनुदान दिइने भएको छ ।
यस्ता विद्यार्थीलाई वार्षिक एक लाख अनुदान उपलब्ध गराइने पाण्डेयले बताए । जतिसुकै सङ्ख्यामा भए पनि स्नातक तहका विद्यार्थीलाई अनुदान दिइने पालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले आर्थिक अभावका कारण कोही पनि विद्यार्थी गुणस्तरीय शिक्षाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले विद्यार्थी अनुदान कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार गाउँपालिकाले मङ्गलबार एक सूचना जारी गरी १५ दिनभित्र इच्छुक विद्यार्थीलाई पालिकामा सम्पर्क गर्न आग्रह गरिसकेको छ ।
हाल गाउँपालिकामा कृषि, पशु, स्वास्थ्यसम्बन्धी जनशक्ति र गणित तथा विज्ञान पढाउने शिक्षकको अभाव रहेको छ । यसैले यस्ता विषय अध्ययन गर्ने विद्यार्थीलाई वार्षिक एक लाखका दरले चार वर्षसम्म अनुदान दिइने उनले बताए । पालिकामा विज्ञान र गणित पढाउने शिक्षकको अभाव लामो समयदेखि खड्किँदै आएको छ ।
पटक पटक सूचना गर्दा पनि यी विषयका शिक्षक पदपूर्ति गर्न मुस्किल हुने गरेको अध्यक्ष भुसालले बताए । त्यसैले गाउँपालिकाभित्रबाट उच्च शिक्षामा विज्ञान र गणित तथा नर्सिङ पढ्ने विद्यार्थीलाई वार्षिक ५० हजारका दरले चार वर्षसम्म सहयोग गर्ने कार्यक्रमसमेत जनशक्तिकै अभाव टार्न लागू गरिएको उनको भनाइ छ ।
उक्त सुविधा लिने विद्यार्थीले पढाइ सकिएपछि न्यूनतम दुई वर्ष पालिकामा सेवा गर्नुपर्ने सर्त राखिएको छ । यस्तो अनुदानले विद्यार्थीहरूलाई मासिक शुल्क भुक्तानी र स्टेसनरी खरिदलगायतमा सहजता हुने पालिकाको अपेक्षा छ ।
पछिल्ला केही वर्षयता गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धिलाई जोड दिँदै आएको छ । पालिकाका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ गर्न थालेपछि पालिकाभित्रका निजी विद्यालयहरू विस्थापित बनेका छन् । जिल्लाका सात पालिकामध्ये महाशिला मात्रै निजी विद्यालय नभएको पालिका रहेको अध्यक्ष भुसालले बताए ।