माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंले तोडे धर्ना
काठमाडौं । शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौंको माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईंले आन्दोलन स्थगित गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सोमबार भेटेर माग पुरा गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलनकर्मी चापागाईले आफ्नो आन्दोलन स्थगित गरेका हुन् । भेटमा मन्त्री भट्टराइले शिक्षा क्षेत्र सुधारका लागि प्रक्रियामा प्रवेश गरिसकेकाले शंका नगर्न अनुरोध गरेकी थिइन् ।
आर्थिक वर्ष २०८१/८२ बजेट तर्जुमा गर्दा अहिलेको सरकार नरहेका कारण सबै विषय सम्वोधन गर्न कठिन रहेको तर अहिले विपद्बाट क्षति भएका विद्यालयहरूको पुनर्निर्माण गर्न आवश्यक रकम व्यवस्थापनका लागि अर्थ मन्त्रालय पेश भइसकेको बताइन् ।
संस्थागत विद्यालयमा सरकारले तोकेबमोजिम छात्रवृति दिनका लागि अनिवार्य गराइएको, स्थानीय तहहरूलाई शिक्षा कोष स्थापना गर्न उत्प्रेरित गराईने, शिक्षकको उपचारमा छुटको लागि स्वास्थ्य मन्त्रालयमा अनुरोध गरिसकिएको पनि मन्त्री भट्टराईले बताइन् ।
शिक्षामा अहिले देखिएका समस्याहरूको सुधार र यसबाट परिणाम आउन दिनका लागि सबैको साथ सहयोग आवश्यक रहेको कुरामा शिक्षा मन्त्रीले जोड दिएकी थिइन् ।
शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईं सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर काठमाडौं आएका थिए । काठमाडौंमा उनी उभिन थालेको सोमबार आठौं दिन हो । खुट्टा सुन्निएपछि उनी बैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए ।