सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

अन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आइतबार शुभकामना दिँदै उनले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका हुन्।

अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसका निम्ति अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयनसँगै साक्षरता/आजीवन सिकाइका कार्यक्रम सञ्चालनमा रहेको स्पष्ट पार्नुभयो। साक्षरता कार्यक्रम सञ्चालनमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने भन्दै उनले निरक्षरतालाई साक्षरतामा रुपान्तरण गर्न सबैको एकताबद्ध प्रयासको खाँचो रहेको बताएका छन्।

गरिबीका कारणले तराई र दुर्गमका कतिपय ठाउँमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको अवस्थालाई दृष्टिगत गरी आफ्नो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रव्यापी रूपमा विद्यार्थी भर्ना अभियान कार्यक्रमको सुरुआत गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यालय जाने उमेरका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्ने नीतिले पनि साक्षरताको अभियानलाई सहयोग पुर्याएको बताए।

प्रधानमन्त्री ओलीले बालबालिकालाई विद्यालयबाट ‘ड्रपआउट’ हुन नदिन सरकारले दिवाखाजा, छात्रवृत्तिलगायत अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको र यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना रहेको स्पष्ट पारेका छन्। उनले नेपालमा पछिल्लो समयमा पूर्ण साक्षर पालिका र साक्षर जिल्ला घोषणा हुँदै जानु महत्त्वपूर्ण उपलब्धि भएको बताए।

सबैको योगदानले साक्षर नेपालको अभियानलाई सार्थक बनाउन सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल पूर्ण साक्षर मुलुकतर्फ अग्रसर हुँदै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्यमा लम्किरहेको बताएका छन्। “गन्तव्य प्राप्तिमा शिक्षा क्षेत्रको योगदान महत्त्वपूर्ण हुने भएकाले त्यसअनुसारको भूमिका निर्वाह गर्न आह्वान गर्दछु”, उनले भनेका छन्।

प्रधानमन्त्री ओलीले ‘बहुभाषिक शिक्षाको प्रवर्द्धनः पारस्परिक समझदारी र शान्तिका लागि शिक्षा’ भन्ने वाक्यका साथ मनाउन लागिएको यस दिवसले शान्ति, सहिष्णुता, बहुभाषिक शिक्षा र आपसी समझदारीका साथ अगाडि बढ्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तत्काल उपकुलपति सिफारिस गर्न माग गर्दै केयु प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा

‘काठमाडौँ विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’

ललितपुर । काठमाडौँ विश्वविद्यालयमा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले सम्बन्धित तहमा सेमेष्टर उत्तीर्ण

विद्यार्थीको सिकाई उपलब्धि वृद्धि नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमूना विद्यालय