कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी



दमक (झापा) । कोशी प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमबाट विद्यार्थी लाभान्वित भएका छन् ।

प्रदेशका कूल एक सय ७३ सामुदायिक विद्यालयमा प्रदेश सरकारले नर्सिङ सेवा कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमको माग गर्ने विद्यालयको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।

तत्कालीन अवस्थामा सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको यो कार्यक्रम प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना भएसँगै २०७८ सालदेखि प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत सञ्चालनमा छ ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार सुरुमा यो कार्यक्रम प्रत्येक पालिकाका एक/एक विद्यालयमा सञ्चालन गर्न ल्याइएको थियो ।

तर पछिल्लो समय एक हजारभन्दा बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयमा नर्सिङ कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था छ । यो व्यवस्थासँगै धेरै विद्यालयबाट यो कार्यक्रम माग भई आएको उनी बताउँछन् ।

चालु आर्थिक वर्षमा मात्रै प्रदेशका विभिन्न १३ विद्यालयमा यो कार्यक्रम सञ्चालनका लागि स्वीकृत भइसकेको निर्देशनालयका प्रमुख बस्नेतले जानकारी दिए । यसअघि एक सय ६० विद्यालयमा मात्रै रहेको नर्सिङ सेवा कार्यक्रम चालु आर्थिक वर्षदेखिनै एक सय ७३ विद्यालयमा लागू गरिएको उनको भनाइ छ ।

प्रमुख बस्नेतले भने, “यही आर्थिक वर्षभित्र कोशी प्रदेशका एक सय ७३ विद्यालयमा यो कार्यक्रम लागू हुँदैछ । माग आउने क्रम बढ्दै गएको छ ।”

विद्यालयमा विशेष गरी किशोरीले आफ्नो स्वास्थ्य समस्याका कारण बीचैमा पढाइ छाड्ने समस्यालाई मध्यनजर गरेर विद्यालयमा नर्सिङ सेवा कार्यक्रम सञ्चालन गरिएको र यसको सकारात्मक प्रभाव परेको प्रमुख बस्नेतको भनाइ छ ।

यससँगै अस्वस्थकर र स्वास्थ्यमा असर पुग्ने खानेकुराको लत लाग्नबाट जोगाउन र विद्यार्थीमार्फत समुदायमा जनचेतनाका कार्यक्रम चलाउन विद्यालय नर्सिङ कार्यक्रमबाट मद्दत पुगेको उनले बताए ।

स्वास्थ्य मन्त्रालय, स्थानीय तह र विद्यालयबीच त्रिपक्षीय सम्झौता गरी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने गरिएको छ । झापाको कमल गाउँपालिका–५ स्थित मङ्गलमय माविमा नर्सिङ सेवासँगै स्वास्थ्य इकाइको नेतृत्व गरिरहेकी नर्स मुना अधिकारीले नर्सिङ कार्यक्रमका अतिरिक्त स्वास्थ्य चेतनासम्बन्धिका अन्य जनचेतनामूलक कार्यक्रम पनि गर्ने गरिएको बताइन् ।

स्वास्थ्य सम्बन्धिका राष्ट्रिय दिवसका सन्दर्भमूलक कार्यक्रम, बालबालिकालाई लगाइने खोपलगायतका स्वास्थ्य कार्यक्रमलाई लक्षित गरेर विद्यालय तहमा पनि विभिन्न कार्यक्रम गर्ने गरिआएको उनले स्पष्ट पारिन् । उक्त विद्यालय सो कार्यक्रम सञ्चालन गर्ने जिल्लाकै पहिलो हो ।

विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराको लेखाजोखा, नियमित स्वास्थ जाँच, प्राथमिक उपचारको व्यवस्था, अभिभावक–बालबालिकालाई स्वास्थ्य सुरक्षाका विषयमा समेत जानकारी गराउने कार्यनियमित रुपमा हुदैआएका छन् ।

मङ्गलमय माविका निमित्त प्रधानाध्यापक डम्बरुप्रसाद पोखरेलले नर्सिङ सेवाका माध्यमबाट विशेष गरी किशोरीलाई पर्ने स्वास्थ्य समस्या समाधान गर्न सहज भएको उल्लेख गरे । यो कार्यक्रमबाट विद्यार्थीको नियमित स्वास्थ्य जाँच मात्र नभएर विषयगत पठनपाठनमा समेत फाइदा पुगेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसइईको नतिजा बिहीबार सार्वजनिक गरिने

  भक्तपुर ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को

सिटिइभिटीको सम्बन्धनमा संचालित डिप्लो तहका तीनवटा कार्यक्रमको शुल्क वृद्धिको घोषणा

काठमाडौँ ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा सञ्चालित प्राविधिक

विद्यार्थीले कक्षा दशपछि के पढ्ने ?

अमृतबाबु भट्ट । एसइई परीक्षामा २०८० सालमा सामेल विद्यार्थीहरू अहिले कक्षा ११ को

एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

  भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको