यस्ता छन् काठमाडौं महानगरमा १८ हजारलाई छात्रवृत्ति दिने विद्यालय


काठमाडौं । काठमाडौँ महानगरपालिकाका क्षेत्रमा सञ्चालित निजी विद्यालयमा अध्ययनरत १९ हजार भन्दाबढी विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।

मेयर बालेन साहले एउटा कानुन कार्यान्वयनको कारण यसवर्ष महानगर क्षेत्रमा १९ हजार भन्दाबढी विद्यार्थीले छात्रवृत्ति पाएका जानकारी दिएका छन् । उनले यति ठूलो संख्यामा विद्यार्थीले छात्रवृत्ति पाएका महानगरको इतिहासमै पहिलो पटक भएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘एउटा कानुन कार्यान्वयनको कारण यो वर्ष महानगर क्षेत्रमा १९ हजार भन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएका छन् । गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३ हजार भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए।’

उनले चालु शैक्षिक सत्र २०८१ मा (हिजो सम्म) विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको पनि जानकारी दिएका छन्।

उनले भनेका छन्, ‘यस वर्ष एक लाख ४९ हजार ९५६ विद्यार्थीमध्ये १८ हजार ४२२ जनाले छात्रवृति पाएका छन् । हामीले विद्यमान कानुनको कार्यान्वयन गर्दा मात्रै लक्षित वर्गका विद्यार्थीलाई करिब २ अर्ब बराबरको छात्रवृति उपलब्ध गराउन सफल भयौँ। प्राप्त भएको विवरणको हाही अनुगमन गर्नेछौ। फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ।’