विश्वविद्यालयमा अध्यापन हुने सबै विषयलाई रोजगारीसँग जोडौँ : मन्त्री शर्मा



कीर्तिपुर । सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रमलाई थप प्रयोगात्मक बनाउँदै तिनलाई उद्योग वा रोजगार बजारसँग सिधै जोड्नुपर्ने बताएकी छिन् ।

सूचना प्रविधिका विद्यार्थीलाई सम्बन्धित उद्योगका लागि तयार गराउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच आज समझदारीपत्र हस्ताक्षर भएपछि मन्त्री शर्माले सूचना प्रविधिको अहिलेको युगमा आर्थिक समृद्धि हासिल गर्न ‘आइटी’ क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताइन् ।

सूचना प्रविधिमा स्नातकोत्तर तह अध्ययनरत विद्यार्थीलाई माइक्रोसफ्ट कम्पनीस्तरको तालिम दिलाउन त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान सूचना प्रविधि केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच सम्झौता भएको छ । मन्त्री शर्माको उपस्थितिमा विभागका प्रमुख सरविन सायमी र सोसाइटिका अध्यक्ष राजेन्द्र अर्यालले हस्ताक्षर गरे ।

“विश्वविद्यालयमा सैद्धान्तिक ज्ञान र त्यहाँबाट शैक्षिक उपाधि पाएका विद्यार्थी बजारमा तत्काल बिक्दैनन् भन्ने धारणालाई गलत साबित गर्न पनि शैक्षिक कार्यक्रमलाई खपतकर्ता उद्योगको आवश्यकतासँग जोड्नुपर्छ”, मन्त्री शर्माले भनिन् ।

उनले श्रम बजारमा जाने हरेकलाई सूचना प्रविधिको क्षेत्रमा आएका नयाँ प्रविधिसँग अभ्यस्त गराउन तालिम दिइनुपर्नेमा जोड दिइन् । “अहिले विद्यार्थी कम भए भनिएका शैक्षिक कार्यक्रममा पनि यही तरिकाले आकर्षक बनाउन सकिन्छ” , उनले भनिन् ।

सूचना प्रविधि अन्तरराष्ट्रिय प्रतिस्पर्धाको विषय भएको र त्यसबाट विद्यार्थीले घरमै बसेर पनि विदेशी मुद्रा आर्जन गर्न सक्ने भएकाले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय अझ क्रियाशील हुनुपर्छ भनिन् ।

आम नागरिकमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न ‘डिजिटल’ नेपाल ‘फ्रेमवर्क’कार्यान्वयको तयारीमा सरकार रहेको जानकारी दिँदै मन्त्री शर्माले सबै प्राज्ञिक विषयलाई यथासम्भव सूचना प्रविधिसँग जोड्न आग्रह गरिन् । सरकारले आगामी बजेटमा यससम्बन्धी छात्रवृत्तिको व्यवस्था गर्ने जानकारी दिँदै उनले २०८० साल भित्र सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी कानुन जारी गरिने बताइन् ।

आज भएको सम्झौताअनुसार सूचना प्रविधिमा स्नातकोत्तर तह सातौं सेमिष्टरमा अध्ययनरत विद्यार्थीमध्ये प्रतिस्पर्धाका आधारमा छानिएका ३० जनालाई माइक्रोसफ्ट कम्पनीको व्यावासायिक पाठ्यक्रम पढाइने छ । यसका लागि माइक्रोसफ्ट अमेरिकास्थित मुख्यालयमा एआई निर्देशकका रुपमा कार्यरत समिर थापाले सहजीकरण गर्नु भएको जानकारी कार्यक्रममा दिइएको थियो । विभाग प्रमुख सायमीका अनुसार तालिमपछि ती विद्यार्थीले स्वदेश तथा विदेशमा सम्बन्धित विषयमा आकर्षक तलबसहित रोजगारी पाउने छन् ।

विश्वविद्यालयका निमित्त उपकुलपति चोपलाल भुसालले विश्वविद्यालयमा दिइने सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञानको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै माइक्रोसफ्टका एआई निर्देशक थापाले विश्वविद्यालयका प्राज्ञिक कार्यक्रम र सूचना प्रविधि क्षेत्रको आवश्यकताबीच तालमेल नहुँदा स्नातक र स्नातकोत्तर उपाधि लिएर अमेरिका आएका नेपालीले निम्नस्तरको काम गर्न बाध्य भएकाले भविष्यमा अमेरिका आउन चाहनेहरूलाई लक्ष्य गरी त्रिभुवन विश्वविद्यालयसँग सहकार्यको थालनी गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महोत्तरीको बलबा नगरपालिकामा बहुउद्देश्यीय पोलिटेक्निकल इन्स्टिच्युट निर्माण हुने

काठमाडौं । महोत्तरीको बलबा नगरपालिकामा मधेस प्रदेशको प्रथम नमुना पोलिटेक्निकल स्थापना हुने भएको

विश्वविद्यालय सिनेट बैठकद्वारा मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त

जनकपुरधाम । सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार

स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन

लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको