बजारमुखी र व्यावहारिक बन्ने गरी कृषि विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन



चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले बजारमुखी र व्यावहारिक बन्ने गरी आफ्नो पाठ्यक्रम परिमार्जन गरेको छ । २०७३ सालदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो गरी विश्वविद्यालयले नयाँ पाठ्यक्रम तयार गरेको हो ।

विश्वविद्यालयले भारत र अमेरिकाका विज्ञ प्राध्यापकहरु समेतको परामर्शमा पाठ्यक्रम तयार गरेको हो । पाठ्यक्रम निर्माणका क्रममा नेपाली विज्ञसँगै किसानसँग समेत परामर्श गरिएको थियो ।

विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा सुवीर सिंहका अनुसार कृषि स्नातक, पशु चिकित्सा तथा पशुपालन स्नातक, मत्स्य विज्ञान स्नातक र वन विज्ञान स्नातकको पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू हुने गरी परिमार्जन गरिएको हो ।

पशु चिकित्सामा पाँच वर्ष पढाइ हुन्छ भने अन्य सङ्कायमा चारवर्षे पढाइ हुँदै आएको छ । यसअघिको पाठ्यक्रममा ३० देखि ३३ प्रतिशत प्रयोगात्मक हुने गरेकामा नयाँ पाठ्यक्रममा ४० प्रतिशत प्रयोगात्मक रहेको उनले जानकारी दिए ।

विद्यार्थीहरुले प्रयोगात्मक अध्ययनका क्रममा प्रत्यक्ष किसानसँग काम गर्नुपर्ने हुन्छ । पाठ्यक्रमले अहिलेको वातावरण परिवर्तन, नयाँ नयाँ रोगको पहिचान, अनुसन्धानका विधिहरु, अध्ययनका क्रममा सूचना प्रविधिको प्रयोग जस्ता विषय समावेश गरिएका छन् । यसैगरी, विद्यार्थीको तनाव कम गर्न योगा, शारीरिक व्यायाम, शारीरिक शिक्षा, नैतिक शिक्षा पाठ्यक्रममा नै समावेश गरिएको छ ।

पाठ्यक्रम तयार गर्दै कृषिसँगै अन्य विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, रोजगारदाता, किसानलगायतसँग निरन्तर संवाद र छलफल गरेर तयार गरिएको हो । पाठ्यक्रम तयार गर्दै गर्दा पहिलो र दोस्रो वर्ष आधारभूत अध्ययनलाई जोड दिइएको छ भने बाँकी वर्षहरुमा सीप र प्रविधिसँग जोडेर काम गर्ने गरी पाठ्यक्रम तयार गरिएको छ ।

पाठ्यक्रम लागू भएसँगै यसको मूल्याङ्कनको काम थालिएको उनले जानकारी दिए । पढाउने जनशक्तिको मूल्याङ्कन गरेर केही कमीकमजोरी भएमा सुधार गर्दै जानुपर्ने उनले बताए ।

यसको मूल्याङ्कन अमेरिका स्थित टस्किजी विश्वविद्यालयका प्राध्यापकहरुले समेत गरिरहेका छन् । उनीहरुले दिने सुझावका आधारमा आवश्यकताअनुसार परिमार्जन गर्दै लगिने जनाइएको छ ।

प्राध्यापकहरुले पढाएका विषयमा स्वयं विद्यार्थीहरुलाई समेत मूल्याङ्कन गर्न लगाइएको छ । विद्यार्थीहरुले अनलाइनमार्फत सुझाव दिने व्यवस्था मिलाइएको छ । नयाँ पाठ्यक्रम एक हजार ९५ विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

विश्वविद्यालयका कृषि सङ्कायका डिन प्रा.डा. अर्जुनकुमार श्रेष्ठले नयाँ पाठ्यक्रमसँगै विद्यार्थीको आकर्षण बढ्ने बताए । विश्व बजारमा उपयोग हुने जनशक्ति उत्पादन हुने भएकाले युवा पुस्तालाई केही हदसम्म नयाँ पाठ्यक्रमले आकर्षण गर्ने उनको भनाइ छ ।

प्रयोगात्मक कक्षा बढी हुँदै गर्दा व्यावहारिक र बजारमुखी जनशक्ति उत्पादन हुने उनले बताए । विश्वविद्यालय स्थापना भएपछि तेस्रोपटक पाठ्यक्रम परिमार्जन गरिएको हो । यो पटक पाठ्यक्रम परिमार्जन गर्दै गर्दा युवा जनशक्ति पलायनको अवस्थालाई रोक्ने गरी बृहत् अध्ययन गरेर विश्वविद्यालयले पाठ्यक्रम तयार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महोत्तरीको बलबा नगरपालिकामा बहुउद्देश्यीय पोलिटेक्निकल इन्स्टिच्युट निर्माण हुने

काठमाडौं । महोत्तरीको बलबा नगरपालिकामा मधेस प्रदेशको प्रथम नमुना पोलिटेक्निकल स्थापना हुने भएको

विश्वविद्यालय सिनेट बैठकद्वारा मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त

जनकपुरधाम । सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार

स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन

लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको