पढ्दै कमाउँदै, फूलखेतीमा रमाउँदै विद्यार्थी



दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका हुन् ।

विद्यालयमा डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत अनुप राना मगर, सामेल पौडेल, शरण विक र सुमन मगरले विद्यालयको आठ रोपनी जग्गामा सयपत्री फूलखेती गरेका हुन् । यहाँ दुई प्रजातिका फूल रोपिएको थियो ।

कर्मा पाँच सय ५५ र टिटी प्रजातिका फूल रोपिएकोमा सबै फूल बिक्रीका लागि तयार भएको विद्यार्थी पौडेलले जानकारी दिए । पौडेलले भने, “हाम्रो प्रयोगात्मक र ‘ओजिटी’ अन्तर्गत सयपत्री फूल उत्पादन गरेका हौँ, यसका लागि गाउँपालिकाले हामीलाई प्रोत्साहन गर्यो ।”

यहाँ दश हजार फूल उत्पादन भएका छन् । विद्यार्थी विकका अनुसार तीन महिना अगाडि फूल रोपिएको थियो । त्यसक्रममा उनीहरुले छ पटक फूलको गोडमेल गरेका थिए ।

“जग्गा जोत्ने, बिरुवा जमाउने, मल हाल्ने सबै काम हामीले नै गरेका छौँ”, उनले भने । फूलखेतीका लागि आँबुखैरेनी गाउँपालिकाले तीन लाख सहयोग गरेको थियो । विद्यार्थी विकका अनुसार आफूहरुको प्रयोगात्मक शिक्षण अन्तर्गत फूलखेतीका लागि गाउँपालिकाले प्रोत्साहन गरेकामा खुसी लागेको बताए ।

उत्पादन भएका फूल बिक्री सुरु भइसकेको छ । पौडेलका अनुसार फूल खरिदका लागि फूलबारीसम्मै आउने गरेको जनाउँदै ठूलो सङ्ख्यामा बिक्रीका लागि पालिकासँग समन्वय गरिने बताए । उनका अनुसार तिहारका लागि पाँच लाखको फूल बिक्री गर्ने योजना रहेको छ ।

माला तीन सयमा र फूल प्रति किलो एक सय रुपैयाँमा बिक्री भइरहेको उनले बताए । समय र मौसमका कारण कतिपय फूल छिटो फुलिदिँदा समस्या भएको जनाउँदै उनले समयको व्यवस्थापन गरेर मात्रै फूलखेती गर्नुपर्ने पाठ सिकेको बताए । उनले भने, “फूल छिटो फुलेर समस्या हुने रहेछ, त्यसका लागि चिस्यान केन्द्रमा फूल राख्ने व्यवस्था मिलाएका छौँ ।

गाउँपालिकालाई फूलमा आत्मनिर्भर बनाउने उद्देश्यसहित यसै वर्षदेखि सयपत्रीको व्यावसायिक उत्पादनमा सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनका अनुसार मित्रता माध्यमिक विद्यालय, सोही वडाको यान्चोक आमा समूह र आँधीमूल आमा समूहमार्फत् सयपत्री फूलखेती सुरु गरिएको थियो ।

अहिले ३० हजार सयपत्री फूल फुलेको जनाउँदै यसको बजार व्यवस्थापनका लागि पालिकाले समन्वय गरेको चुमानले बताए । “तिहारमा विदेशी प्लास्टिकका फूल तथा झिलिमिलीको सट्टा स्थानीयस्तरमा उत्पादित फूल प्रयोगमा जोड दिएका छौँ”, उनले भने, “यसका अतिरिक्त छिमेकी पालिकासँग पनि समन्वय गरी बिक्रीको व्यवस्था मिलाउँछौँ ।”

गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको चुमानको भनाइ छ । उनले भने, “पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गर्छौँ, यहीँ उत्पादित फूललाई प्रयोगमा ल्याउँछौँ ।” चुमानका अनुसार सयपत्री फूल प्रत्येक वर्ष विदेशबाट आयात हुँदै आएको छ । यसको आयत प्रतिस्थापन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ ।

गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै र आमा समूहमा अध्यक्षसँग कृषि कार्यक्रममार्फत् फूलखेतीमा सहयोग गरेको थियो । आमा समूहमार्फत् गरिएको फूल पनि उत्पादन भई बिक्री सुरु भइसकेको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार तिहारमा सयपत्री फूल प्रतिकिलो पाँच सय रुपैयाँसम्म बिक्री हुन्छ । अहिलेलाई भने स्थानीयस्तरमा किलोको दुई सय रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

त्यस्तै एउटा माला ८० रुपैयाँसम्म बिक्री हुन्छ । दुई समूहबाट गरी यस वर्ष दश लाख बराबरको फूल बिक्री हुने अनुमान गरिएको छ । गाउँपालिकाले सयपत्री फूलखेतीलाई प्राथमिकतामा राखेर गाउँपालिका अन्तर्गतका सबै कार्यक्रममा सयपत्रीको मालालाई प्राथमिकता दिने निर्णय गरिसकेको छ । उनले भने, “फूलफुल्न थालेपछि पालिकाका हरेक कार्यक्रममा सयपत्रीको माला प्रयोग हुन्छ, आँधीमूलमा लाग्ने मेलामा पनि सयपत्री फूलले सहयोग पुर्याउँछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महोत्तरीको बलबा नगरपालिकामा बहुउद्देश्यीय पोलिटेक्निकल इन्स्टिच्युट निर्माण हुने

काठमाडौं । महोत्तरीको बलबा नगरपालिकामा मधेस प्रदेशको प्रथम नमुना पोलिटेक्निकल स्थापना हुने भएको

विश्वविद्यालय सिनेट बैठकद्वारा मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त

जनकपुरधाम । सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार

स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन

लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको