दार्चुलाका विद्यालयमा समयमै पुगे पाठ्यपुस्तक



दार्चुला । दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुवातसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् । विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो । यस वर्ष भने उनीहरुले समयमै किताब पाउने भएका छन् ।

धेरैजसो स्थानीय तहमा पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्तले जानकारी दिए । जिल्लाका दुर्गम गाउँका विद्यालयमा पनि विद्यार्थी भर्ना भएसँगै पुस्तक वितरण गरिने उनले बताए । समयमा नै पुस्तक पुगेपछि यहाँका विद्यार्थी, शिक्षक तथा अभिभावकमा खुसी छाएको छ ।

“यस वर्ष समयमै पाठ्यपुस्तक पुग्दा खुशी छौं , यसरी नै हरेक वर्ष पाठ्यपुस्तक समयमै पुगे पठनपाठनमा सजिलो हुन्थ्यो”, अपिहिमाल गाउँपालिकास्थित खण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक खडक बोहराले भने ।

मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकामा वैशाख २ गते नै पाठ्यपुस्तक पठाइएको इकाइ प्रमुख पन्तले बताए ।

त्यस्तै दुँहु र ब्याँस गाउँपालिकाका लागि पनि पाठ्यपुस्तक जिल्ला सदरमुकाम खलङ्गास्थित न्यु चौलानी पुस्तक पसल र ज्ञानजोती पुस्तक पसलबाट ढुवानी भइसकेको न्यु चौलानी पुस्तक पसलका सञ्चालक मनोहर डाँगाले जानकारी दिए ।

शैल्यशिखर नगरपालिकामा पनि पाठ्यपुस्तक विद्यालयमा पठाउन थालिएको छ । नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा आइतबारदेखि पाठ्यपुस्तक पठाउन सुरु गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए । गत वर्ष विद्यार्थीले पुस्तकबिना परीक्षा दिएका थिए ।

यस वर्ष सरकारले भर्नासँगै विद्यालयमा पाठ्यपुस्तक पुर्याउने व्यवस्था गरेकामा खुशी लागेको शैल्यशिखर नगरपालिका–६ का अभिभावक मदन धामीले बताए ।

नौ स्थानीय तह रहेको दार्चुलामा अपि हिमाल, दुँहु र ब्यास गाउँपालिका बाहेकका स्थानीय तहमा यातायातको सहज सुविधा रहेकोले पाठ्यपुस्तक ढुवानीमा समस्या छैन ।

यातायातको समस्या रहेका तीन गाउँपालिकामा पनि पाठ्यपुस्तक पुगिसकेको इकाइ प्रमुख पन्तले बताए । विगत वर्षमा वार्षिक परीक्षा सकिदासमेत पुस्तक नपाएका जिल्लाका विद्यार्थी यस वर्ष समयमै पुस्तक पाउने भएपछि खुसी भएका छन् । यही वैशाख ३ देखि ८ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको पन्तले जानकारी दिए ।

केही दिन अघि शिक्षा विकास तथा समन्वय इकाइमा बसेको विद्यालयका प्रधानाध्यापक र स्थानीय तहका शिक्षा शाखा प्रमुखको बैठकले जिल्लामा वैशाख पहिलो हप्तासम्म पाठ्यपुस्तक उपलब्ध गराउने गरी काम गर्न निर्देशन दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शैक्षिक कन्सल्टेन्सीलाई कानुन विपरीतको कार्य नगर्न मन्त्रालयको चेतावनी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी)

सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाइ पोसाक वितरण

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको