काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण विकासबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने बताएका छन् ।
शुक्रबार वडा १२ ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको अवलोकन निरीक्षणका क्रममा भौतिक, प्रशासनिक अवस्था, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका विषयमा जानकारी लिँदै उनले यस्तो बताएका हुन् ।
नमूना विद्यालयहरुले आफ्ना शैक्षिक, प्रशासनिक र अतिरिक्त क्रियाकलाप तथा बाल विकासका लागि सञ्चालन गरेका कार्यक्रमको नतिजाबारे जानकारी लिन विद्यालयको अवलोकन गरेका हुन् ।
‘पाठ््यक्रमसँगै अतिरिक्त क्रियाकलापहरुमा खेलकुद, गायन, संगीत, चित्रकला, प्राविधिक क्षेत्रका इञ्जिनियरिङ्, कम्प्युटरलगायत विषयमा ज्ञान र सीप हासिल गर्नुपर्छ । यसमा विद्यालयको अवस्था र अभ्यास हेरेर आवश्यकताका आधारमा महानगरले सहयोग उपलब्ध गराउनेछ ।’ प्रमुख साहले भने, ‘अहिले हामी खेलकुदका लागि स्थान नभएका विद्यालय नजिक रहेका सार्वजनिक स्थलहरुलाई उपयोग गर्ने वा नजिकका विद्यालयलाई संयुक्त बनाउने विषयमा नक्साङ्कन गरिरहेका छौँ । यसबाट नीति र स्रोत परिचालन कसरी गर्ने भन्ने तथ्य पत्ता लाग्नेछ । यस्तै शैक्षिक सुधारका आगामी कार्यक्रम निर्धारण गर्न आधार तयार हुनेछ ।’
अवलोकनका क्रममा उनले, विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्धनका लागि आविष्कार क्लव (स्टीम क्लब) का विद्यार्थीहरुले तयार पारेका आविष्कार, कक्षा कोठा, पुस्तकालय तथा प्रयोगशालाको अवलोकन गरेका थिए ।
अवलोकनका विद्यालयको समग्र स्थितिका विषयमा प्रधानाध्यापक रविना महर्जनले जानकारी गराएकी थिइन् । त्यस्तै विद्यार्थीहरुले आविष्कारका विषयमा जानकारी गराएका थिए ।
भूकम्प अलर्म, पानी संरक्षण, घरायसी सुरक्षा प्रणाली, उर्जाको उत्पादन प्रयोग र प्रविधि प्रयोगमा रुपान्तरण, केवल कारलगायत प्रविधि, पीन बललगायतका खेल प्रविधि प्रदर्शन गरेका थिए । प्रमुख साह आएर हामीलाई हौसला मिलेको विद्यार्थीहरुले अवलोकनपछि प्रतिक्रिया दिए ।
‘नमूना विद्यालयमा नमूना कार्यक्रम सञ्चालन गर्न विद्यालय नेतृत्वको ठूलो भूमिका रहन्छ । उपलब्ध थोरै भौतिक संरचनामा धेरै कार्यक्रम सञ्चालन गर्न सकिन्छ । सामुदायिक विद्यालयमा यो सम्भव छ । संघ, प्रदेश र स्थानीय सरकारबाट प्राप्त स्रोतको उच्चतम उपयोग गर्न सकिन्छ । सरस्वती विद्यालय यसको उदाहरण बनेको हो ।’ अवलोकनका क्रममा महानगरका शिक्षा सल्लाहकार रेशु अर्यालले प्रतिक्रिया दिइन् ।
‘शिक्षकहरुको क्षमता विकासका लागि तालिमकर्ताहरुलाई सामुदायिक विद्यालयमा ल्याउने र विद्यालयको अवस्थिति र आवश्यकताका आधारमा तालिम उपलब्ध गराउने क्रियाकलाप सञ्चालन गर्ने तयारीमा छौँ ।’ अर्यालले भनिन्, ‘महानगरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अब संस्थागतसँग प्रतिस्पर्धी बनाउँछौँ ।’
यो विद्यालय ३ आना ३ पैसा जमिनमा रहेको ५ तले भवनमा छ । भवनका १८ वटा कोठामा कक्षा सञ्चालन छ । विद्यालयमा स्टीम क्लव, किशोरी क्लव, साहित्यिक क्लव, (डिजास्टर रिक्स रिडक्सन) डीआरआर क्लव, इको क्लव, बाल क्लव छन् ।
यसैगरी आईसीटी ल्याब, इलेक्ट्रोनिक ल्याब, केमेष्ट्री र बायोलोजी ल्याब, पुस्तकालय र ईलर्निङ्गलगायत कक्ष छन् ।
विद्यालयमा खेल मैदान उपलब्ध नहुनु विद्यालयको सबैभन्दा ठूलो समस्या हो । प्रधानाध्यापक महर्जनले प्रमुख साहसँग खेल मैदान प्राप्त भए विद्यार्थीहरुको शारीरिक विकासका लागि ठूलो सहयोग हुने बताइन् ।

प्रतिक्रिया