पढ्नलाई उमेरले छेकेनः दुई छोरी र एक छोरासँगै बाबु विद्यालय



दमौली । “पढाइजस्तो ठूलो केही रहेनछ, जीवनलाई पढाइ अति आवश्यक रहेछ”, तनहुँको व्यास नगरपालिका–१४ का ४२ वर्षीय विश्वबुढा परियारले भने, “जब मान्छे शिक्षित हुन्छ, तब घरको व्यवहारदेखि समाज र देश विकासमा टेवा पुग्छ ।”

व्यास–२ दमौलीस्थित बाल मन्दिर माविमा कक्षा ११ मा अध्ययन गरिरहेका परियारले विद्यालय छाडेको २५ वर्षपछि पुनः अध्ययनलाई निरन्तरता दिएका छन् ।

व्यास–१४ स्थित केशवटार माविमा कक्षा १ देखि ९ सम्म अध्ययन गरी पढाइ छाडेका बुढाले गत वर्ष सोही विद्यालयबाट एसइई उत्तीर्ण गरेका थिए । एसइईमा एक दशमलव छ जिपिए ल्याएका उनले हाल बाल मन्दिर माविबाट उच्च शिक्षा सुरुवात गरेका छन् ।

अझ रोचक त के भने परियारका दुई छोरी र एक छोरा पनि यही विद्यालयमा अध्ययनरत छन् । ठूलो छोरा १३ वर्षीय शिवशङ्कर बुढा परियार कक्षा ६ मा अध्ययनरत छन् । छोरी ११ वर्षीया पूर्णिमा परियार कक्षा ४ र अर्की छोरी नौ वर्षीया लक्ष्मी परियार कक्षा एलकेजीमा अध्ययनरत छिन् ।

छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्दा खुसी लाग्ने गरेको परियार बताउँछन् । “हामी त सबै एउटै विद्यालयमा पढ्छौँ, छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्न पाउँदा खुसी लाग्छ”, परियारले भने, “सुरु–सुरुमा त केही अप्ठ्यारो महसुस हुन्थ्यो, अहिले त सबै विद्यार्थी साथी जस्तै भइसके ।”

परियारको कक्षामा ४२ विद्यार्थी छन् । सबै विद्यार्थी छोराछोरी जस्तै लाग्छन् । “उमेरका हिसाबले सबै छोराछोरी जस्तै लाग्छन्, अहिले त सबै मेरा साथी हुन्”, परियारले भने । सुरुमा विद्यालय जाँदा विद्यार्थीहरु खिस्स हाँस्ने गरेको उनले सुनाए ।

यसरी आयो पढ्ने सोच

नेपाल कराते सङ्घ गोजो एकाइका प्रमुख प्रशिक्षक परियार केही वर्ष अगाडि स्वयम्सेवक प्रशिक्षकलाई अन्तर्वार्ता दिन गएका थिए । त्यतिबेला एसएसली उत्तीर्ण नगरेको भनी उनी छनोट हुन सकेनन् । त्यही बेला उनलाई एसएलसी उत्तीर्ण नगरेकामा हीनताबोध भयो र पढ्नुपर्छ भन्ने सोच जाग्यो ।

“खेलकुदबाट स्वयम्सेवक प्रशिक्षक खटाउने भनेर अन्तर्वार्ता दिन जाँदा एसएलसी उत्तीर्ण नहुँदा फालिएँ, त्यहाँबाट पढ्न पर्ने रहेछ भन्ने लाग्यो”, परियारले विगत सम्झँदै भने, “पढाइ जस्तो ठूलो केही पनि रहेनछ भन्ने अनुभूति भयो ।”

राजनीतिमा पनि आस्था रहेको र पछि गएर पढाइले केही समस्या हुन्छ भन्ने लागेर दुई वर्षअघि केशवटार माविमा कक्षा ९ मा भर्ना भएर अध्ययनलाई निरन्तरता दिएको परियारले बताए ।

केशवटार माविका तत्कालीन प्रधानाध्यापक दुर्गाबहादुर आलेले पढ्नुपर्छ भनेर प्रोत्साहन गर्ने गरेको परियार सम्झिए ।

“उहाँले सधैँ मलाई अध्ययनका लागि प्रोत्साहित गरिरहन्थ्यो, कक्षा ९ मा पुनः भर्ना हुने बेलामा पनि उहाँले मलाई सहयोग गर्नुभयो”, परियारले भने, “पढ्नलाई उमेरले छेक्दैन, अध्ययन छाडेकाहरुलाई पनि पुनः अध्ययनलाई निरन्तरता दिनुस् भन्न चाहन्छु ।”

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँका वरिष्ठ उपाध्यक्ष, दलित सङ्घ तनहुँको सचिव, सांस्कृतिक सङ्घ तनहुँको सहकोषाध्यक्ष, संयुक्त दलित उत्थान मञ्चको वरिष्ठ उपाध्यक्ष, नेपाल कराते सङ्घ गोजो एकाइको प्रमुख प्रशिक्षक रहेका परियारले विद्यावारिधी गर्ने लक्ष्य रहेको बताए ।

“मेरो लक्ष्य विद्यावारिधी गर्ने लक्ष्य छ, बाँचुन्जेल पढेँ भने विद्यावारिधी गर्छु भन्ने आशा छ”, परियारले भने, “पढाइ भनेको जीवनलाई अति आवश्यक छ, इच्छा लाग्यो भने पढाइलाई उमेरले छेक्दैन, यत्तिको उमेरको मान्छे त आएर पढेको छ भनेर विद्यालयका बालबालिकामा पनि पढ्ने प्रोत्साहन जागेको छ ।”

परियारको पढ्ने इच्छाले पढाइलाई उमेरले छेक्दैन भन्ने प्रमाणित भएको बालमन्दिर माविका प्रधानाध्यापक राजेन्द्र खनालले बताए ।

“उहाँको पढ्ने आँट र साहस देखेर विद्यालयमा विद्यार्थीलाई प्रेरणा मिल्नाका साथै हौसला प्राप्त भएको छ”, खनालले भने, “हामीहरुले पनि उहाँलाई हौसला दिइरहेकाछाँै ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल इन्जिनियरिङ कलेजको सहायक प्राचार्यमा केसी नियुक्त

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को सहायक प्राचार्यमा सह–प्राध्यापक मोहनध्वज केसी नियुक्त भएका

एकैदिन ८३ जना शिक्षक शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान

भक्तपुर ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले शुक्रबार

पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना

पाल्पा । पाल्पाको रामपुर नगरपालिका-४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार शैक्षिक संस्थामा

पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको