वाग्मती प्रदेश देशकै पहिलो साक्षर प्रदेश घोषणा



वाग्मती । वाग्मती प्रदेशलाई देशकै पहिलो साक्षर प्रदेश घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमबीच प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै साक्षरता स्तम्भको अनावरण गरेकी हुन् ।

साक्षरता कार्यक्रमअनुसार विभिन्न मापदण्डका आधारमा साक्षरताको मूल्याङ्कन गर्दा कम्तीमा ५० प्रतिशत सक्षमता हासिल गर्नसक्ने व्यक्तिलाई साक्षरताको प्रमाण पत्र दिने व्यवस्था छ र त्यस्ता प्रमाण पत्र प्राप्त व्यक्तिहरुको सङ्ख्या ९५ प्रतिशत पुगेका वडा, स्थानीय तह, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गर्ने व्यवस्था रहेको छ । मापदण्डअनुसार वाग्मती प्रदेशमा साक्षरहरुको सङ्ख्या ९७.२२ पुगेपछि साक्षर प्रदेश घोषणा गरिएको हो ।

मापदण्डअनुसार राष्ट्रभाषा वा मातृभाषाका अक्षरको पढाइ र लेखाइ जानेको, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिलको पढाइ गर्न जानेको, आफ्ना परिवारका नाम उमेर आदिको पढाइ र लेखाइ गर्न जानेको, मोबाइल र क्याल्कुलेटरका अक्षर तथा अङ्क चिनेर प्रयोग गर्न जानेको, ० देखि ९ सम्मको अङ्क वा अक्षर लेख्न र पढ्न जानेको, १ देखि १०० सम्म गणना गर्न जानेको, लेनदेनका हरहिसाब राख्न जानेको, सरल चित्र, पोष्टर, साइनबोर्ड तथा ट्राफिक सङकेत पढ्न र बुझ्न सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउने, घडी हेरेर समय बताउन सक्ने, भित्ते पात्रो हेरेर तिथिमिति बुझ्न र बताउन सक्ने र बैंक भौचर तथा चेक भर्ने काम गर्न सक्नेलाई साक्षर मानिन्छ ।

वाग्मती प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशका १३ जिल्लामा रहेको कूल जनसङ्ख्या ५५ लाख २९ हजार ४५२ मध्ये १५ वर्षदेखि ६० वर्षसम्मका उमेर समूहका ३३ लाख ४३ हजार १४४ जना छन् । यसमध्ये ९७.२२ प्रतिशत साक्षर छन् ।

निर्देशनालयले उपलब्ध गराएको विवरणअनुसार ललितपुर शतप्रतिशत साक्षरता दरसहित पूर्ण साक्षर जिल्ला भएको छ भने दोलखाको प्रतिशत सबैभन्दा कम रहेको छ । विवरणअनुसार सिन्धुलीको साक्षरता दर ९९.१३ प्रतिशत रहेको छ ।

त्यस्तै ९८.९७ प्रतिशतसहित मकवानपुर तेस्रो स्थानमा छ । निर्देशनालयले उपलब्ध गराएको विवरणअनुसार धादिङको ९८.४० प्रतिशत, नुवाकोटको ९८.१९ प्रतिशत, सिन्धुपाल्चोकको ९७.६८ प्रतिशत, चितवनको ९७.५०, काठमाडौँको ९६.८८ प्रतिशत, भक्तपुरको ९६.७० प्रतिशत, काभ्रेको ९६.४८ प्रतिशत, रामेछापको ९६.४० प्रतिशत, रसुवाको ९६.२९ प्रतिशत र दोलखाको ९५.३७ प्रतिशत रहेको छ ।

‘साक्षर वाग्मती प्रदेश’ घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले शिक्षाका लागि विभिन्न कालखण्डमा भएका कार्यक्रमको परिणामस्वरुप प्रदेशका १५ वर्ष देखि ६० वर्ष उमेर समूहका ९७. २२ प्रतिशत नागरिक साक्षर भएको बताइन् ।

शाक्यले देशमा भएका सात प्रदेशमध्ये वाग्मती प्रदेश पहिलो साक्षर प्रदेश भएकामा खुसी व्यक्त गर्दै यस कार्यमा खट्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरिन् । उनले विभिन्न मापदण्डहरुका आधारमा साक्षर घोषणा भए पनि प्रदेशमा ४५ हजार ३४५ जना अझै निरक्षर रहेको विवरण पाएकाले त्यो सङख्यालाई न्यून बनाउँदै शून्यमा झार्नुपर्ने र त्यसका लागि सरकार तथा सरकारी संयन्त्रले भूमिका खेल्नुपर्ने बताइन् ।

कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री विजय सुबेदीले साक्षर प्रदेश घोषणापश्चात् १५ देखि ६० वर्ष उमेर समूहका निरक्षरहरुका लागि स्थानीय तहहरुसँग समन्वय गरेर पूर्णसाक्षरता अभियान सञ्चालन गर्ने बताए । घोषणा सभामा बोल्दै प्रदेशको शिक्षा विकास निर्देशक चन्द्रप्रसाद लुइँटेलले साक्षर प्रदेश घोषणपूर्व भएका तयारीका बारेमा अवगत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका

कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको आग्रह

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा

यसअघिको सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरु फेरि आन्दोलित

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट उक्त विश्वविद्यालयको तेस्रो