२५० भन्दा बढीलाई ठगी गरेको आरोपमा चलचित्र तेल भिसाका निर्माता पक्राउ


काठमाडौँ । प्रहरीले चलचित्र तेल भिसाका निर्माता शिवराज कार्कीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–७ घर भएका उनलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले जानकारी दिएका छन् । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी उनले २५० भन्दा बढीलाई ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

उनलाई सोमबार स्वयम्भूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । कार्कीबिरुद्ध बिभिन्न मितिमा वैदेशिक रोजगार विभागमा मुद्धाहरु दर्ता भएकोमा ६ वटा पक्राउ पुर्जी यस कार्यालयमा प्राप्त भएको प्रहरीले जनाएका छ । उनले काठमाडौँको चावहिलमा दश वर्षदेखि कन्सल्टेन्सी चलाउँदै आएका थिए । प्रहरीले उनले ठगेका एक सय भन्दा बढी पीडितहरु कार्यालयको सम्पर्कमा आएका जानकारी दिएको छ ।

उनीविरुद्ध प्रहरी बृत्त लैनचौरबाट बैंकिङ कसूरमा समेत मुद्धा दर्ता भएको देखिएको प्रहरीले जनाएको छ । उनी विगत ३ महिनादेखि भारतको नयाँदिल्लीस्थित पहाडगंजमा अन्नपूर्ण फास्टफुड खोली बस्नुका साथै भारत सरकारद्वारा जारी भएको आधार कार्ड र प्यान कार्ड समेत लिएको पाइएको प्रहरीले जनाएको छ ।