त्रिविका सह-परीक्षा नियन्त्रक प्रसाईंलाई ६ महिना कैद सजाय


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंलाई ६ महिना कैद सजायको फैसला भएको छ ।

बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरु डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले सह–परीक्षा नियन्त्रक प्रसाईंलाई विद्यावारिधि गरेको भनेर झुठा विवरण पेश गरेको ठहर गर्दै ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।

यस मुद्दाका अन्य प्रतिवादीहरु जयलक्ष्मी प्रधान, मेघराज पोखरेल र मोतिलाल शर्मालाई भने अदालतले सफाई दिएको छ ।

त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल (विराटनगर)को सह–परीक्षा नियन्त्रक पदका लागि प्रसाईंले आवेदन दिएकामा उनी एक नम्बरमा सिफारिस भएका थिए । उनले २०८१ मंसिर १९ गतेबाट लागू हुने गरी उनले नियुक्तिसमेत लिइसकेका थिए ।

तर उनले उक्त पदका लागि आफू योग्य रहेको भनी योग्यता ढाँटेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जाँचबुझले देखाएको थियो । त्यसपछि उनीविरुद्ध मंसिरमा दर्ता भएको थियो।