सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली भेटिएपछि…..


सिरहा । सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागारबाट बाहिर निकालेका थिए । गोप्य सूचनाका आधारमा आज सुरक्षा समितिले कारागारभित्र खानतलासी गर्दा हतियार फेला परेको हो ।

घटनामा संलग्न रहेको आरोपमा नाइके यादवसहित १३ जनालाई कारागारबाट झिकेर प्रहरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

उनले भने, ‘हामीले उनीहरूलाई कारागारबाट झिकेर हिरासतमा राखेका छौँ, उनीहरूलाई अन्यत्र कारागारमा पठाउने तयारी भइरहेको छ ।’

नाइके यादव पक्राउ परेपछि कारागारभित्र रहेका निजका समर्थकहरूले नाराबाजी गर्दै आगजनी र तोडफोडसमेत गरेका छन् ।

सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन थप सतर्कता अपनाइएको प्रशासनले जनाएको छ । एक सय ५० जनाको क्षमता रहेको कारागारमा हाल ४३७ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकै कारण यसअघि गत साउनमा पनि कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए ।