काठमाडौँ । विदेशमा बसेर नेपालका उच्च अधिकारीहरुको हत्या गर्ने धम्की दिने प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन् ।
फिलिपिन्सको अध्यागमन ब्यूरोले पाठकलाई गत डिसेम्बर ३१ मा फिलिपिन्सको बुलाकानको मालोलोस सिटीस्थित बाराङ्गाय क्याट्मोन क्षेत्रबाट पक्राउ गरिएको फिलिपिन्स न्यूज एजेन्सीले जनाएको छ । हाल उनी अध्यागमन ब्यूरोको हिरासतमा छन् ।
उनलाई नेपाल डिपोर्ट गर्ने प्रक्रिया अगाडि बढाइएको ब्यूरोले जनाएको छ । पाठकलाई काठमाडौँ जिल्ला अदालतले १ डिसेम्बर २०२५ मा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस्तै इन्टरपोलले पनि डिसेम्बर १२ मा जबरजस्ती असुली र आपराधिक सञ्जालसम्बन्धी आरोपमा पाठकविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो ।
ब्यूरोको अनुसन्धानले पाठक विदेशमा गम्भीर सुरक्षा–सम्बन्धी गतिविधिहरूसँग संलग्न रहेको, फरार कैदीलाई आत्मसमर्पण नगर्न उक्साएको तथा आर्थिक र हतियार सहयोगको संकेत गरेको लगायत तथ्यहरू पनि देखाएको जनाएको छ। उनलाई एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षड्यन्त्रसँग समेत जोडिएको उल्लेख गरिएको छ ।
पाठकले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलगायतका उच्च अधिकारीको हत्या गर्ने धम्की दिएका थिए । पाठक १८ अगस्ट २०२५ मा फिलिपिन्स प्रवेश गरेका थिए र उनलाई १८ डिसेम्बरसम्म बसाइको अनुमति दिइएको थियो ।
पाठकले इमेलमार्फत अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, नागरिक बचाउ अभियानका संयोजक समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं, तत्कालीन गृहमन्त्री रमेश लेखक, अर्का पूर्व गृहमन्त्री, बालकृष्ण खाँण, अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की लगायत १० जनाको ज्यान लिने धम्की दिएका थिए ।

प्रतिक्रिया