भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ७ र दुई कम्पनीविरुद्ध मुद्दा दर्ता


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बिहीबार सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले सहसचिव भट्टराईलाई ७९ लाख ८० हजार, अध्यागमन अधिकृत यज्ञराज अर्याललाई ८ लाख, ग्रीनलाइन ट्राभल्स् एन्ट टुरका सञ्चालक बालकृष्ण खड्का र राम खड्कासँग जनही ३० लाख २० हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

त्यसैगरी सेन्ट्रल रिसर्च अफ साइन्स एन्ड टेक्नोलोजी इन्स्टिच्युटका ल्याब सहायक कविता पौडेलविरुद्ध ७९ लाख ८० हजार रूपैयाँ, फ्यामिली होलिडेज् ट्राभल्स एन्ड टुरका सञ्चालक दीपक भण्डारीविरुद्ध १० लाख ६० हजार र जग्गा व्यवसायी खेमप्रसाद सुवेदीविरुद्ध ७९ हजार ८० रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

सहसचिव भट्टराई गत जेठ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट पक्राउ परेका थिए । उनीहरुमाथि भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध रूपमा पैसा उठाएको आरोप छ ।