‘क्रिमिनल माइण्ड–सेट’का निर्माता को हुन् ?


-डा. गोविन्दशरण उपाध्याय ।

भाटभटेनी र सिजीको मीनबहादुर गुरुङ र विनोद चौधरीहरूको सम्पति मात्र नभएर नेपालको प्रगति र विकासको एउटा नमुना थियो । यस्तै अनेकौं सिंहदरवारजस्ता राजकीय सम्पत्ति र निजी सम्पत्तिहरू पुराना राजनैतिक दलहरूले आफ्नो शासनकालमा निर्माण गरेको क्रिमिनल ‘माइन्ड-सेट’ले आगो लगाएर ध्वस्त पारेको छ । वि.स. २०४७ देखि अस्तिको मितिसम्म शासन गर्नेहरूले निर्माण गरेको ‘माइन्ड-सेट’ नै यसको एकमात्र जिम्मेदार हो । यो आत्मघाती मानसिकता फरकफरक रूपमा जताततै फैलिएको छ । मैले व्यक्ति विशेषको कुरा गरेको होइन ‘क्रिमिनल माइण्डसेट’को कुरा गरेको हो ।

म विनोद चौधरी, उपेन्द्र महतो मीनबहादुरहरूलाई व्यक्तिगत रूपमा चिन्दिन । उनीहरूले चिन्ने कुरा नै आएन । जेनजीहरूले सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमा आगो लगाएर नष्ट गर्ने सोच्न पनि सक्दैनन् । उनीहरूको वितृष्णा राजनैतिक आफन्तवाद, भ्रष्ट्राचार र दम्भ विरुद्ध थियो । विनोद चौधरीहरूको भाटभटेनी जलाएर उनीहरूको कुनै पनि उद्देश्य पुरा हुने थिएनन् । रह्यो, मीन बहादुरहरूको गल्तिको कुरा, न्यायालयले निर्णय गर्ने हो । भाटभटेनीहरू र उपेन्द्र महतो तथा विनोद चौधरीहरूको बिजोक देखेपछि कुनै पनि उद्योगीले नेपालमा लगानी गर्ने बाटो रोक्ने निश्चित छ ।

नेपाली–नेपालीहरू विचमा घृणा फैलाएर, संसदमा समर्थन गर्ने तर सडकमा विरोध गरेको नाटक देखाएर, सार्वजनिक निर्माणका लागि जग्गाहरू अधिग्रहण गर्दा आफैले जनतालाई उरालेर १ को १०० गुणा मूल्य तोक्न लगाउनेजस्ता मानसिक–सेट सबैले बुझेकै कुरा हो । जेनजीले यस्तो माइन्ड-सेट फेर्नु पर्ने मांग राखे तर समाजमा व्याप्त क्रिमिनल माइण्ड–सेटले नेपालको स्वाभिमान जलाएर आफ्नो असन्तोष व्यक्त गर्यो ।

सरकारी र निजीसम्पत्तिहरूमा केवल तोडफोड भएको भने थोरैधेरै खर्च गरेर पुनर्निर्माण गर्न मिल्थ्यो तर आगो नै लगाएपछि बाँकी केही रहन्न । इतिहास र सम्पत्ति सबै सकिएको छ । क्रिमिनल माइन्ड सेट भएका व्यक्तिहरू निर्माण गर्नेहरूले क्षमा माग्नुको सट्टा विज्ञप्ति जारी गरेर पानी मुनिको ओभानो बन्न खोज्दै छन् । समाजवाद र बामवादका मानमा निर्माण भएको ‘क्रिमिनल माइन्डसेट’ देशभरी फैलिएको छ । न्यायालय, विश्वविद्यालयहरू, कर्मचारी र शिक्षकतन्त्र, व्यापारतन्त्र सबै “क्रिमिनल माइण्डसेटले सुसज्जित भएका छन् । यस्तो माइण्डसेट विरुद्ध कुरा गर्नेहरू क्रिमिनल माइण्डसेटको प्रत्यक्ष आक्रमणमा पर्छन् ।

उपरोक्त ‘क्रिमिनल माइण्डसेट’ले धर्म, संस्कृति, इतिहास, परम्परा तथा गौरवको कुनै पर्वाह गर्दैन । यो माइन्ड-सेट स्वार्थी छ । छट्टु छ, दलाल छ, काम गरेर श्रम गरेर भन्दा पनि लुटेर सित्तैमा सम्पत्ति जोड्ने कुरामा विश्वास गर्छ । सिंहदरवारहरू, भाटभटेनीहरू जल्नु यसै विश्वासको उपज हो । सित्तैवादमा पल्केको माइण्ड–सेटले सधैं अवसर खोजिरहेको हुन्छ । यदि, अव पनि यस्तै माइण्ड सेट निर्माण गर्ने व्यक्ति, समूह र झोलेहरूसंग सम्झौता गरियो भने १० वर्षपछि फेरी नेपाल जल्ने सम्भावना हुन्छ ।

म प्रजातन्त्रका पक्षमा छु । यदि प्रजातन्त्र २०४७ देखि २०८२ जस्तै हुने हो भने यसको औचित्य छैन । नेपालको राजनैतिक अवस्था अस्थिर हुनुमा बर्तमान सम्बिधाननै जिम्मेदार छ । विश्वमा नभएको समानुपातिकता, सङ्घीय संरचना, राजनैतिक भागबण्डावाद अवान्छित छन् । संविधानका यी प्राबधानहरूले नै राजनैतिक दलहरूलाई महाभ्रष्ट बन्न सहयोग गरेको हो । सबैको अधिकार समान हुनुपर्छ तर हिन्दुहरूले आफ्नो अधिकार माग्दा क्रिमिनलजस्तो व्यबहार गर्ने तर मुसाई समुहका सवालमा हायत होटलको भात खाने प्रवृत्ति पनि यसै संबिधानको देन हो । सबैसंग प्रेम गर्नुपर्छ, घृणा कसैसंग गर्नु हुँदैन तर गलत र सम्झौताको दस्तावेजले काम गर्दैन । सत्य जतिसुकै तीतो भए पनि हितकर है हुन्छ ।

जे भयो, भैसक्यो । अव क्रिमिनल माइण्ड सेट निर्माण गरेर देशको रगत बगाउनेहरू र सम्पत्ति नष्ट गर्नेहरूसंग कुनै पनि सम्झौता हुनुहुँदैन । ‘क्रिमिनल माइण्ड सेट’ निकै शक्तिशाली र व्यापक छ । सायद, यो हाम्रो आफ्नै माइन्डमा पनि लुकेको हुन सक्छ । नागरिकहरूसंग सहकार्य गरौँ तर क्रिमिनल माइन्ड–सेटसंग कुनै पनि हालतमा सम्झौता नगरौं । के गर्नु ! देशको यो हालत देखेर, सुनेर आँखाबाट आँशु थामिन्नन् । आफ्नो समयमा देशले दुर्गति भोग्नुपरेकोमा पीडाबोध हुन्छ । साच्चिकै भन्ने हो भने नेपाली भएकोमा लज्जाबोध हुन्छ !