काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ । जलविद्युत् कम्पनीहरूको आईपीओ प्रक्रिया अघि बढाउन बोर्ड प्रमुखले कमिसन मागेको आरोप लागेपछि अख्तियारले बोर्डमा छापा मारेको हो ।
बुधबार दिउँसो अख्तियारको टोलीले छापा मारेको हो । अख्तियारको टोलीले आईपीओ निष्कासन प्रक्रियामा रहेका केही कम्पनीका फाइल लगेको छ ।
धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रियामा रहेका कम्पनीहरूसँग कमिसन मागेको आरोप स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले लगाएको थियो भने बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दल नेकपा माओवादी केन्द्र र राप्रपाले बोर्डका प्रमुखले कमिसन मागेको भन्दै कारबाही गर्न माग गरेका थिए ।
धितोपत्र बोर्डले जलविद्युत आयोजनाहरुसँग कमिसनको बार्गेनिङ गरेको विषय छानबिन होस्ः सांसद सापकोटा
काठमाडौं । नेकपा माओवादी केन्द्रले जलविद्युत आयोजनाहरुसँग धितोपत्र बोर्डले कमिसन मागिरहेको विषय छानबिन गर्न माग गरेको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलविद्युत आयोजनाहरुसँग धितोपत्र बोर्डले कमिसन मागिरहेकोबारेमा सरकारको ध्यानाकर्षण गराउँदै छानबिन गर्न माग गरेका हुन् ।
उनले बोर्डले आयोजनासँग पाँचदेखि सात प्रतिशत कामिसन मागेको इप्पानका पदाधिकारीले बताइरहेको उल्लेख गरे ।
उनले भने, ‘२२ महिनायता करिब ८९ कम्पनीको ५६ अर्ब ७ करोड रुपैयाँको आईपीओ अनुमति रोकेको छ । आजका केही मिडियामा त इप्पानका अध्यक्ष र इप्पानका सदस्यले नै खुलाखुला यसकाबारेमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको छ कि धितोपत्र बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूलो आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गर्यो। यो निकै गम्भीर र दुःखदायी अवस्था हो।’
सापकोटाले घटनाकाबारेमा छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘यो घटनालाई एउटा भरपर्दो संयन्त्रका साथ छानबिन गर्नुपर्यो ।म सभामुखमार्फत नेपाल सरकारलाई रुलिङका लागि माग गर्न चाहान्छु।’
आइपीओ निष्कासन गर्न धितोपत्र बोर्ड प्रमुखले कमिसन मागेको विषय छानबिन गर्न राप्रपाको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि कारबाही गर्न माग गरेकी छन् ।
बुधबारको प्रतिनिधिसभा बैटठकमा सांसद कार्कीले आइपीओ निष्कासन गर्नको लागि उनले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको कुरा बाहिर आएको भन्दै कारबाहीको माग गरेकी हुन् ।
उनले भनिन्, ‘भनिन्छ पुँजीबजार देशको अर्थतन्त्रको ऐना हो । तर यो ऐनामा एउटा कुरुप कमिसनखोरको अनुहार देखिएको छ । आइपीओ निष्कासन गर्नको लागि धितोपत्र बोर्डको प्रमुखले ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेको कुरा बजारमा आइरहेको छ । बोर्डले आफूले राम्रोसँगकाम गरेको छैन । पुँजी बजारमा हजारौैं नागरिकको पैसा फसेको छ । तत्कालै सुशासन समितिले कारबाही अगाडि बढाओस् र कमिसनखोर बोर्डको अध्यक्षमाथि कारबाहीहोस् ।’

प्रतिक्रिया