बाराको कलैयास्थित सुधार केन्द्रमा कुटपिटबाठ एक युवकको मृत्यु, सातजना पक्राउ
बारा । बाराको एक सुधार केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गएराति बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नवजन्म सुधार केन्द्रमा कलैया रामपुर टोलका ३७ वर्षीय धीरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको हत्या भएको हो ।
केन्द्रमा विवाद हुँदा मण्डलमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले जानकारी दिए ।
प्रहरीकाअनुसार मण्डल दुई सातादेखि सुधार केन्द्रमा बस्दै आएका थिए । राति कुटपिटबाट घाइते भएका उनलाई प्रादेशिक अस्पताल कलैयामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको एसपी तामाङले बताए । प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्फराज मन्सुरी, निरज सराफ, मो आँसु मिया शेख, अरुण सरार्फ, पर्मेश्वर साह, तमन्ना अलि र सागर गुप्ता रहेका छन्।