‘टीभी हेरेर मलाई कोरोनाभाइरसको सङ्क्रमण भएको थाहा पाएँ’
“मलाई थाहा थिएन के भइरहेको छ। मैले चिकित्सकलाई सोध्दा उनीहरूले सबै ठीक छ भने,” उनले भनिन्। उनी दक्षिण भारतीय राज्य केरलाकी चिकित्साशास्त्र अध्ययनरत २० वर्षीया युवती हुन् जो भारतको पहिलो कोरोनाभाइरस सङ्क्रमित व्यक्ति हुन्।
रफियाले (परिवर्तित नाम) कोरोनाभाइरसबाट बचेको कथा सुनाएकी छन्। उनी एउटा अस्पतालमा अन्य चार जनासँगै साथ भर्ना भएकी थिइन् तर उनीहरू सबै निको भएर घर फर्किए।
उनी भन्छिन्, “तर मेरो परीक्षणको नतिजा आउन ढिलो भएको थियो र कसैले मलाई केही बताइरहेका थिएनन्।” उनलाई एक्लै राखिएको थियो। त्यहाँ उनी धैर्यका साथ पर्खिरहेकी थिइन्। त्यसैबेला उनको फोनमा एउटा सन्देश आयो।
“एकजना साथीले टीभी समाचारको एउटा भिडिओ रेकर्ड गरेर मलाई ह्वाट्सएपमा पठाइन्,” उनी भन्छिन्। त्यो समाचार चीनको वुहानबाट आएकी एकजना चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण पाइएको बारेमा थियो।
राफिया भन्छिन्, “मलाई टीभीको समाचारबाट थाहा भयो कि मलाई कोरोनाभाइरस सङ्क्रमण रहेछ।”
ज्यानुअरी ३० मा उनलाई भारतको पहिलो कोरोनाभाइरस सङ्क्रमित घोषणा गरिएको थियो।
सकारात्मक बसाइँ
एक घण्टाभित्रै चिकित्सक आए र उनको कोरोनाभाइरस परीक्षण सकारात्मक देखिएको बताए। त्यसैले उनले उपचारका लागि अस्पतालमा थप समय बस्नुपर्ने भयो।
उनी भन्छिन्, “म ठीक थिएँ। त्यसबेलासम्म धेरै मानिसहरूको सफल उपचार भइसकेको थियो।” “मलाई यो भाइरस वृद्धवृद्धा र श्वासप्रश्वासका रोगीका लागि बढी खतरनाक छ भन्ने थाहा थियो। म शान्त थिएँ र सकारात्मक सोच्थेँ।”
उनीलाई ज्यानुअरी २५ मा भारत आएपछि भेटेका मानिसहरूका बारेमा सोधियो।
एकान्तबास
उनको परिवारले विभिन्न प्रकारका परिस्थितिको सामना गर्नुपर्यो। उनकी आमालाई एउटा अस्पतालको अलग्गै वार्डमा एकान्तमा राखियो। सोही अस्पतालमा राफियाको पनि उपचार हुँदै थियो।
तर आमाछोरी एकअर्कासँग भेटघाट गर्न पाएनन्। उनका पिता र भाइलाई घरमै एकान्तमा राखियो। राफिया भन्छिन्, “भाइरस लिएर घुम्नुको साटो तपाईं एकान्तमा बस्नु राम्रो।”
उनी आफ्नो कारणले कसैलाई पनि त्यो भाइरस नसरोस् भन्ने चाहन्थिन्। उनलाई सामान्य खाना दिइन्थ्यो र अस्पतालको कोठामा दिनको दुईपटक सफाइ गरिन्थ्यो। उनका अनुसार चिकित्सक र नर्सहरू उनीसँग कुराकानी गर्थे।
“उनीहरू परीक्षणका लागि आउँदा सुरक्षा पोसाक लगाएर आउँथे र उनीहरू एकदमै असल थिए।” उनी चीनमा कोरोनाभाइरसको प्रकोप देखेकाले त्यसको चिकित्सकीय प्रक्रियाबारे जानकार थिइन्।
वुहान यात्रा
राफिया विगत तीन वर्षदेखि वुहानमा चिकित्साशास्त्र अध्ययन गरिरहेकी थिइन्। उनले भनिन्, “ज्यानुअरी ९ सम्म हाम्रो कक्षा चलिहरको थियो र परीक्षा पनि भइरहेको थियो। त्यसपछि हामी चार साताको बिदा पाउँदै थियौँ।”
“ज्यानुअरी २० मा हामीलाई यो रोग तीव्ररूपमा फैलिरहेको जानकारी भयो र हामीले त्यहाँबाट बाहिर निस्कने फैसला गर्यौँ।” “मैले जहाजको टिकट बुक गराएँ।
यो भारत सरकारले त्यहाँबाट आफ्ना नागरिकलाई उद्धार गर्न एउटा विमान पठाउनु अगाडिको कुरा हो। सहर पूर्णरूपमा बन्द हुनुपूर्व राफिया त्यहाँबाट बाहिर निस्किन सफल भइन्। वुहानबाट उनी कोलकाता आइन् र त्यहाँबाट कोच्चीका लागि अर्को उडान लिइन्।
स्क्रिनिङमा भाइरसको लक्षण देखिएन
उनी भन्छिन्, “कोलकाता र कोच्ची विमानस्थलमा थर्मल स्क्रिनिङ भएको थियो। भाइरसका लक्षणहरू थिएनन्।”
भोलिपल्ट उनलाई बेइजिङस्थित भारतीय दूतावासबाट एउटा सन्देश प्राप्त भयो। त्यसमा चीनबाट बाहिर गएका सबैलाई चिकित्सकीय परीक्षण गराउन आग्रह गरिएको थियो।
उनले जिल्लाका स्वास्थ्य अधिकारीहरूलाई जानकारी गराइन्। चेकजाँचमा खासै केही पनि देखिएन। तर त्यसको दुई दिनपश्चात् ज्यानुअरी २७ मा बिहान उठ्दा उनको घाँटीमा समस्या देखियो।
त्यसपछि उनलाई अस्पतालमा भर्ना गरियो। परीक्षणबाट सङ्क्रमण पुष्टि भयो।
प्रतिरक्षा शक्तिप्रति विश्वास
करिब २० दिनसम्म राफिया एउटा सानो कोठामा नै सीमित रहिन् र एउटा झ्यालबाट बाहिरको अवस्था हेर्दै बसिन्। “मलाई के विश्वास थियो भने मेरो प्रतिरक्षा प्रणाली कोरोनाभाइरससँग लड्नेछ।”
राफिया र उनका परिवारका सदस्यहरू अहिले पनि घरमै मात्र बसिरहेका छन्। उनीहरू केही दिनसम्म यसैगरी घरमै बस्नेछन्।
उनी भन्छिन्, “मेरो जीवनमा यो नयाँ अनुभव थियो। मलाई आफ्नो चिन्ता थिएन। परिवार र साथीहरूको चिन्ता थियो।”
हालसम्म विश्वका ७९ देशमा कोरोनाभाइरस फैलिसकेको छ। विश्वभरमा तीन हजारभन्दा मानिसको मृत्यु भइसकेको छ। त्यसमध्ये अधिकांश मृत्यु चीनमा भएको छ।