गुरुकुल विद्यालयले कहिलेसम्म हात थाप्ने ?



जगतदल जनाला बिक
सुर्खेत । चौकुने गाउँपालिका वडा नं १०, घाटगाउँका नरेन्द्र खनाल र नरेश खनाल जुम्याहा दाजुभाइ हुन् । उनीहरु ११ बर्षका भए । सुबिधा सम्पन्न राम्रो विद्यालयमा पढेर शिक्षक र डाक्टर बन्ने उनीहरुको लक्ष्य थियो । तर, सानैमा सर्पले डसेर बुवाको मृत्यु भएपछि उनीहरुको सपनामाथि बज्रपात भयो । त्यसमाथि आमाले छोडेर अन्तै गएपछि उनीहरु बेसहारा भए ।
तर, उनीहरुको जीवनमा गाउँकै शिवधाम गुरुकुल विद्यालय सपनाको साधन बनेर आयो । गाउँलेले बाली उठाएर सञ्चालन गरेको गुरुकुमा अहिे नरेन्द्र र नरेश पढिरहेका छन् । ‘गुरुकुल नभइदिएको भए हाम्रो पढ्ने धोको पूरा हुने थिएन,’ नरेशले भने, ‘अब हामी यहीँ पढेर आचार्य बन्ने हो ।’
गुरुकुलको कथा भने यी दुई जुम्ल्याहा दाजुभाइको जस्तै संकटपूर्ण छ । गाउँलेले मानो उठाएर विद्यालय चलाइरहेका छन् । आधुनिक शिक्षा पद्धतिको विकाससँगै गुरुकुल शिक्षा लोप हुँदै गइरहेको बेला चार वर्षदेखि गाउँमा बाली उठाएर विद्यालय सञ्चालन भइरहेको छ ।
संस्थाले विद्यालय सञ्चालनका लागि प्रतिबाली एक–एक पाथी खाद्यन्न संकलन गर्ने गरेको छ । नगरपालिकाका ५ वटा वडामा रहेका प्रत्येक घरबाट अन्नबाली संकलन गरेर गुरुकुल विद्यालय सञ्चालन गरिएको गुरुकुल सञ्चालक शिवधाम धार्मिक संस्थाका अध्यक्ष नवलसिंह देउवाले बताए । सरकारले दिने थोरै अनुदान रकमबाट मात्रै विद्यालय सञ्चालन गर्न कठिनाइ भएपछि बालीघरे प्रथालाई अवलम्बन गरिएको उनको भनाइ छ ।
शिवधाम धार्मिक संस्थाले २०६३ सालमा गठन गरेको गुरुकुल विद्यालय तदर्थ समितिले २०७२ साल वैशाख ८ गतेदेखि अध्ययन अध्यापन थालेको हो । गुरुकुल विद्यालय सञ्चालनका लागि साविकको जिल्ला शिक्षा कार्यालय सुर्खेतले २०७३ सालमा अनुमति दिएको थियो । दुई कक्षासम्म सञ्चालन गर्ने अनुमति पाएको विद्यालयमा हाल कक्षा चारसम्म अध्ययन हुँदै आएको छ । ‘प्रत्येक वैशाखमा भर्ना लिइन्छ, विद्यार्थीलाई धर्मकर्म गर्दा आवश्यक पर्ने गम्छा, धोतीदेखि गास, बाससहितको सबै सुविधा दान दक्षिणा र माना पाथी बाट व्यवस्था गरिएको छ,’ प्रधानाध्यापक वासुदेव शर्माले भने, ‘अध्ययनरत छात्रहरूका लागि हामीले ६ महिनामा प्रतिपरिवार एक÷एक मानापाथी बाली उठाउने गरेका छौं ।’ मन्दिरमा आउने भक्तालुबाट उठ्ने भेटी, मन्दिरमा चढाइने चामल, पिठोसमेत विद्यालयले लिने गरेको छ ।
पञ्चपुरी नगरपालिका वडा नम्बर ३, ५, ६, ८ र ९ वडाबाट बाली संकलन गरिन्छ । यसरी संकलन गरिएको अन्नबालीबाट विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खानाको व्यवस्था मिलाइएको छ । विद्यालयमा संस्कृत (शास्त्री) धार्मिक ग्रन्थका साथसाथै सरकारी विद्यालयमा पढाइ हुने पाठ्यक्रम पनि पढाउने गरिएको छ । ‘बिहान एक घण्टा धार्मिक ग्रन्थ पढाइ हुन्छ,’ प्रधानाध्यापक शर्माले भने, ‘दिउँसो सरकारी विद्यालयमा पढाइ हुने अंग्रेजी, गणित, विज्ञान विषय पढाउँछौं ।’
विद्यालयमा गुरुकुल नेपाली र गुरुकुल सामाजिकसहित ६ विषय अध्यापन गराउने गरिएको छ । बिहान आठ बजेदेखि नौ बजेसम्म वेद, पुराण, गीता लगायतका धर्म ग्रन्थहरू पढाइ हुन्छ । विद्यालयमा हाल २२ जना छात्र अध्ययनरत छन् ।


गुरुकुलमा अध्ययनका लागि कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट र सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली र डोटीबाट विद्यार्थीहरू आउने गरेका छन् । कर्णाली प्रदेशका १० जिल्लामध्ये गुरुकुल शिक्षा दैलेख, सुर्खेत र जाजरकोटका केही धार्मिक गुठीहरूमा पढाइ हुन्छ । प्रधानाध्यापक शर्माका अनुसार विद्यालयमा अध्ययनरत छात्रमध्ये सुर्खेतबाहेक दैलेखबाट तीनजना, कैलालीबाट एकजना ,कालिकोटबाट एकजना, डोटीबाट एकजना विद्यार्थीले पढिरहेका छन् ।
गुरुकुल विद्यालयमार्फत् शास्त्री, आचार्य लगायतका उपाधि प्राप्त गरेपछि ज्योतिषी, वैद्य, कविराजलगायत लोकसेवामा समेत अवसर मिल्ने प्रधानाध्यापक शर्माको भनाइ छ । तर पछिल्लो समय लोप हुन थालेको गुरुकुलमा विद्यार्थी संख्या भने न्यून रहेको उनले बताए । विद्यालयमा दलित, जनजाति, पिछडा वर्ग लगायतलाई समेत पढ्न पाउने व्यवस्था छ । तर, हालसम्म ब्राहमण समुदायका छात्रहरू मात्रै पढ्न आउने गरेका छन् । ‘विद्यालयमा कुनै विभेद छैन, तर अन्य समुदायका बालबालिका शास्त्रीय शिक्षा लिन आएका छैनन्’ उनले भने, ‘प्रचार अभावका कारण पनि विद्यालय ओझेलमा परेको छ ।’

पूर्वाधार अभाव, अनुदान अपुग ?

विद्यालय सञ्चालनका लागि चालु आर्थिक वर्षमा पञ्चपुरी नगरपालिका मार्फत दुई लाख ४५ हजार रूपैयाँ अनुदान दिएको छ । विद्यालयमा तीनजना शिक्षक, एकजना कार्यालय सहयोगी र एक भान्सेसहित पाँचजना कर्मचारी कार्यरत छन् । ‘पर्याप्त दरबन्दी नहुँदा थोरै तलबमा काम गरेका छौं,’ शिक्षक ताराप्रसाद उपाध्यायले भने, ‘विद्यालय सञ्चालनमा त धेरै चुनौती रहेका छन् ।’
विद्यालयका लागि भौतिक पूर्वाधारको अभाव छ । मन्दिर व्यवस्थापन समितिले वृद्धाश्रमका लागि बनाइएको भवनमा कक्षा सञ्चालन भइरहेको छ । आश्रमका लागि मन्दिर परिसरमा टिन लगाइएको चार कोठे भवन बनाइएको छ । भौतिक पूर्वाधार, शैक्षिक सामग्री र प्रविधिको अभाव विद्यालयका समस्या हुन् । ‘विद्यालयका लागि आवश्यकता अनुसार भवन र शैक्षिक सामग्रीको अभाव छ,’ प्रधानाध्यापक शर्माले भने, ‘अब हामीले गुरुकुल चलाउनका लागि कहिले सम्म हात थाप्ने ? ।’ विभिन्न अभाव र कठिनाइबीच लोप हुने अवस्थामा पुगेको गुरुकुल शिक्षालाई निरन्तरता दिइएको उनको भनाई छ ।
गुरुकुल शिक्षालाई सरकारले पनि प्राथमिकता दिएको पाइँदैन । नगरपालिका प्रमुख उपेन्द्र थापाले गुरुकुल विद्यालयका पाँच कोठे भवन निर्माणका लागि १६ लाख रुपैयाँ नगरपालिकाले सहयोग गरेको बताए । उनले कर्णाली टाइम्ससँग भने, ‘ओझेलमा परेको गुरुकुल विद्यालयलाई नगरपालिकाले संरक्षण गर्छ ।’ अन्य विद्यालय सरह बजेट बिनियोजन गरि थप पूर्वाधार विकास गरी जिल्ला स्तरकै एक मात्र पुरानो गुरुकुलका रुपमा विकास गरिने प्रतिवद्धता व्यक्त गरे ।

सुर्खेतको पश्चिम पञ्चपुरी ५ बाबियाचौर स्थित शिवधाम धार्मिक तथा गुरुकुल विद्यालयमा अध्यनरत विद्यार्थीहरु

अन्य जिल्लाका गुरुकुल पनि संकटमा
दैलेखको दुल्लु नगरपालिका १० नाभिस्थानमा पनि गुरुकुल विद्यालय छ, जहाँ १ कक्षादेखि ३ कक्षासम्म पढाइ हुन्छ । भवनको अभाव र अन्य अनुदानका कारण विद्यार्थीको संङ्ख्या ११ मात्र भएको शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका प्रमुख तेज बहादुर थापाले जानकारी दिए । ‘गाउँ गाउँमा गएर भिख मागे जस्तो गरी अन्न, दान, चन्दा माग्नुपर्छ,’ उनले भने, ‘सरकारले दिएको अनुदानले अपुग हुन्छ, जेनतेन स्थानीयले चलाएकै छन् ।’ यस्तै जुम्लाको चन्दननाथ नगरपालिका ५ को चन्दनाथ गुरुकुल पाठशालामा ३ कक्षासम्म कर्मकाण्ड लगायत, धार्मिक विषयहरु पढाइ हुन्छ । ३६ जना विद्यार्थीहरु छन्, जसमध्ये ७ जना छात्राले कर्मकाण्ड पढिरहेको शिक्षा विकास तथा समन्वय इकाइ शाखा जुम्लाका प्रमुख मकर भण्डारीले बताए । उनका अनुसार वार्षिक रुपमा एकमुष्ट १ लाख ८८ हजार रुपैयाँ गुरुकुल विद्यालयलाई जान्छ, जुन रकम निकै न्यून हुने गर्छ । अन्य विद्यालय सरह बजेट नआउँदा गुरुकुल विद्यालय लोप हुने अवस्थामा पुगेको उनले बताए । ‘न त विद्यालयमा शिक्षक दरबन्दी छन्, न त विद्यार्थी बस्ने भवन नै छन्,’ उनले भने, ‘मन्दिरका २ वटा कोठामा ३६ जनालाइ राखेर पढाउनुपर्छ ।’ राज्यले नै विभेद गरेको उनले गुनासो गरे ।
कर्णाली प्रदेश शिक्षा निर्देशनालयका प्रमुख दीपा हमालले गुरुकुल विद्यालयहरुको रेकर्ड निर्देशनालयमा नभए पनि कर्णाली प्रदेशमा तीनवटा गुरुकुल विद्यालय भएको जानकारी दिए । अन्य सरकारी विद्यालय सरह सेवा सुविधाको व्यवस्था गरेपछि मात्र लोपोन्मूख गुरुकुल शिक्षाले पुनर्जीवन पाउने उनले बताइन् ।

कर्णाली टाइम्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हुम्लाका विद्यालय माघ १५ गतेदेखि खुल्ने

सिमकोट । हिमाली जिल्ला हुम्लाका सबै निजी तथा सामुदायिक विद्यालय यही माघ १५

काठमाडौं महानगरभित्रका सबै विद्यालय खोल्न अनुमति

काठमाडौं । दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको

त्रिविका आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिइँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नेपाल आंशिक प्राध्यापक सङ्घसँगको सहमति कार्यान्वयनका लागि शिक्षण सहायक

शुल्क बढाउने सिफारिस तत्काल खारेज गरी गत वर्षसरह कायम गर्न डा. केसीको माग

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले एमबीबीएसको शुल्क