यस्तो छ थाईल्यान्डको राजपरिवारमा देखिएको उथलपुथलको वृत्तान्त



थाईल्यान्डका राजाले सोमवार आफ्नी एक उपपत्नीको राजकीय उपाधि तथा अन्य सबै पद खोसिदिएर धेरैलाई आश्चर्यचकित पारिदिए।

वाचिरालङ्कन राजा बन्नुअघि सिनीनात वङ्वाचिराफाक नाम गरेकी ती महिला उनकी भित्रनी थिइन्। राज्याभिषेक भएको दुई महिनापछि गत जुलाई महिनामा राजाले उनलाई औपचारिक रूपमै उक्त उच्च सम्मान प्रदान गरेका थिए।

राजाले सुथिदासँग विवाह गरेको घोषणा गरेर उनलाई महारानीको उपाधि दिएको केही समयपछि सिनीनातलाई आफ्नी उपपत्नीमा बढुवा गरेका थिए।

महारानी सुथिदा उनकी चौथी पत्नी हुन्। यसअघि उनले आफ्ना तीन विवाहिता पत्नीलाई छोडिसकेका थिए। तर सिनीनातले महारानीसरहको स्थान खोजेको र उनको व्यवहार अपमानजनक भएको आरोपमा उनका सबै राजकीय उपाधि खोसिएको छ।

सन् २०१६ मा आफ्ना पिताको देहान्त भएपछि वाचिरालङ्कनले थाईल्यान्डको राजगद्दी आरोहण गरेका थिए। थाई शाही कानुनले राजतन्त्रको आलोचना गर्न प्रतिबन्ध लगाएको छ। कसैले त्यसो गरेमा धेरै वर्ष जेल सजाय हुन सक्छ।

उपपत्नी भनेको के हो ?

थाईल्यान्डमा राजगद्दीमा आसीन राजपुरुषले विधिवत् विवाह गरेकी पत्नीबाहेक अरू महिलालाई पनि विवाह गर्ने प्रचलन छ।

राजाले ती महिलालाई औपचारिक रूपमा उपपत्नीको उपाधि दिन सक्छन्। चौतीस वर्षीया सिनीनात झन्डै एक शताब्दीमा थाईल्यान्डमा राजकीय उपपत्नीको उपाधि पाउने प्रथम महिला हुन्। जुलाईमा उनलाई त्यो उपाधि दिइएपछि उनी ‍औपचारिक रूपमै राजाकी स्त्री बन्न पुगिन्, तर रानी चाहिँ बनिनन्।

ऐतिहासिक रूपमा देशका विभिन्न प्रान्तका शक्तिशाली परिवारको आफूप्रति बफादारी कायम राख्न थाई राजाहरूले उपपत्नीहरू राख्ने गरेका थिए।

शताब्दियौँदेखि थाई राजाहरूले बहुविवाह गर्ने र उपपत्नीहरू राख्ने गरेका थिए। यसअघि सन् १९२० को दशकमा थाई राजाले औपचारिक रूपमा उपपत्नीको चयन गरेका थिए। तर सन् १९३२ मा थाईल्यान्डमा राजतन्त्र संवैधानिक भएपछि शाही उपपत्नीको उपाधि दिइएको थिएन।

सिनीनातलाई शाही उपपत्नीको उपाधि दिइएको बेला राजदरबारले उपलब्ध गराएको जानकारीबाहेक उनीबारे धेरै जानकारी उपलब्ध छैन।

“दरबारले हामीलाई उपलब्ध गराएकोबाहेक हामीलाई उनको विगतबारे धेरै थाहा छैन,” क्योटो विश्वविद्यालयका दक्षिणपूर्वी एशियाली अध्ययन केन्द्रका सहायक प्राध्यापक पाविन चाचाभाल्पोङ्पोन भन्छन्। उनको जन्म सन् १९८५ मा उत्तरी थाईल्यान्डमा भएको बताइन्छ।

उनी पहिला नर्सको काम गर्थिन्। तर तत्कालीन युवराज वाचिरालङ्कनसँग सम्बन्ध गाँसिएपछि उनको सम्बन्ध सैनिक जीवन र सुरक्षा संयन्त्रसँग जोडिन पुग्यो।

उनी अङ्गरक्षक, विमानचालक र प्यारश्यूटिस्ट हुँदै शाही रक्षक बनिन्। यसै वर्षको सुरुमा उनी मेजर जेनरल बनिन्। उनका लागि “चाओ खुन फ्रा” अर्थात् ‘शाही उपपत्नी’को उपाधि सर्वोच्च सम्मान थियो।

लगत्तै दरबारले उनको औपचारिक व्यक्तिगत विवरणसँगै विभिन्न तस्बिरहरू सार्वजनिक गरिदियो। त्यस क्रममा उनले लडाकु विमानमा बसेर खिचाएको तस्बिर पनि सार्वजनिक गरियो। तर अहिले ती तस्बिरहरू दरबारको वेबसाइटबाट हटाइएको छ।

अहिले उनको स्थिति के छ ?

राजपत्रमा जनाइएअनुसार राजाप्रति “दुर्व्यवहार र विश्वासघात” गरेको हुनाले सिनीनातका सबै शाही र सैन्य उपाधि खोसिएको छ। उनी “महत्वाकाङ्क्षी” बनेको र उनले “महारानीसरहको हैसियत लिने प्रयास” गरेको उल्लेख गरिएको छ।

“शाही उपपत्नीको व्यवहार सम्मानजनक नभएको” र उनी “राजा र रानीप्रति बफादार नभएको” पाइयो। उनले राजाको नाम लिँदै आफूले आदेश दिने गरेको बताइएको छ।

अमेरिकाको कोर्नेल विश्वविद्यालयमा इतिहासकी प्राध्यापक तामारा लुसका अनुसार दरबारमा साँच्चै के भएको थियो भन्ने कुरा पारदर्शी छैन।

“यस्ता परिस्थितिहरूमा प्राय: पर्दापछाडिबाट कसैले औधी धेरै हैकम चलाउने प्रयास गरिरहेको हुन्छ। सिनीनात त्यस्तै अवस्थामा परेकी हुन सक्छिन् र उनले त्यसलाई आफूप्रतिकूल हुनेगरी चलाएको हुन सक्छ,” उनले भनिन्।

अब के हुन सक्छ ?

सिनीनातलाई सबै पद र उपाधिबाट च्युत गरिएको छ। तर अब उनलाई के होला भन्ने कुरा स्पष्ट छैन। “अब उनलाई के होला हामी यसै भन्न सक्दैनौँ,” पाविन भन्छन्। उनका विचारमा अब लिइने निर्णय अपारदर्शी नै हुन सक्छ।

जसरी उनको विगतबारेको सूचना दरबारको नियन्त्रणमा थियो, उनको भविष्यबारे पनि त्यसै हुन सक्ने अनुमान गरिएको छ। वर्तमान थाई राजाले चार पटक विवाह गरे। राजकुमारी सोमसवालीसँग उनको वैवाहिक सम्बन्ध १९७७ देखि १९९३ सम्म रह्यो।

सिनीनातको घटुवा प्रकरण राजा वाचिरालङ्कनका दुई पूर्वपत्नीसँग सम्बन्धित घटनासँग मिल्दोजुल्दो छ। सन् १९९६ मा उनले आफ्नी दोस्रो पत्नी सुचारिनी विवाचारावोङलाई परित्याग गरेका थिए। उनको अर्को नाम युवाथिदा फोल्प्रसिथ हो। पतिले छोडेपछि उनी भागेर अमेरिका पुगिन्।

वाचिरालङ्कनले उनीबाट जन्मिएका चार छोरालाई पनि अस्वीकार गरिदिए। सन् २०१४ मा उनले आफ्नी तेस्री पत्नी श्रीरात सुवादीको उपाधि पनि खोसिदिएका थिए। त्यसपछि उनी कहाँ छिन् कसैलाई थाहा छैन।

उनका मातापितालाई राजद्रोहको कसुरमा करागार हालियो। तर उनीबाट जन्मिएका १४ वर्षीय छोरालाई राजाले हुर्काइरहेका छन्। उनका पूर्वपत्नीहरूले आफूले भोगेको परिस्थितिबारे केही कुरा पनि सार्वजनिक गरेका छैनन्।

बीबीसीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही