न्यायाधीश नियुक्तिका लागि सहमति माग्नु र सहमति नदिनु दुबै गलत


-ईश्वर खतिवडा ।

यो कसैलाई दिएको सल्लाह होइन । मेरो आफ्नै नयाँ धारणा पनि होइन । पहिले व्यक्त गरेको धारणालाई प्रष्ट पारेको मात्रै हो । आगे, सरोकारवालाहरु र अख्तियारवालाहरुको जो मर्जी !

१. न्यायाधीश नियुक्तिका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको कारण न्याय परिषद्लाई सहमति दिएन’ भन्ने समाचार सुन्दा ‘कही नभएको जात्रा हाडीगाउँमा’ भने जस्तो मलाई लागेकै हो । न्यायाधीश नियुक्तिका लागि सहमति माग्नु र सहमति नदिनु दुबै गलत कुरा हुन् भन्ने धारणा पनि मैले अगाडि सारेकै हो । यस कुरामा म अहिले पनि प्रष्ट छु ।

२. मैले सार्वजनिक गरेको धारणामा अहिले “बितेको विग्रिएको खास केही छैन भने पछि नै नियुक्ति गर्दा पनि भैहाल्छ, तर यो विषयको सन्दर्भमा अस्वभाविकताकै आभाष भएको छ, कस–कसलाई र किन ‘तातै खाउँ जलि मरुँ’ जस्तो भएको हो ? बुझ्न कठिन भयो’ भन्ने कुरा पनि उल्लेख गरेको थिएँ ।

३. मेरो भनाईको तात्पर्य प्रष्ट नै थियो । तर यसलाई कसै–कसैले गलत अर्थमा लिएको भन्ने महशुस भएको छ । त्यसैले आफ्नो भनाईको तात्पर्य तल उल्लेख गरेको छु ।

४. अहिले सर्वोच्च तथा उच्च अदालतहरुमा न्यायाधीश नपुग भएको कारणबाट काम रोकिएको होला भन्ने मलाई लाग्दैन । धेरै कार्यबोझ भएका अदालतहरु प्रायः जलेका छन् । भएका न्यायाधीशहरुबाट काम धानिएकै छ । निर्वाचन हुन एक महिना पनि समय बाँकी छैन । हालका प्रधानन्यायाधीश र कानून मन्त्रीको कार्यकाल पनि अब लगभग डेढ महिना जति होला । निकट भविष्यमा न्याय परिषदका बहुसंख्याका पदाधिकारी नयाँ बन्ने अवस्था छ । संसदीय सुनुवाईका लागि निर्वाचनको परिणाम कुर्नु पर्ने अवस्था पनि छँदैछ । भोलिका दिनमा जवाफदेहिता लगायतका विषय र प्रश्नहरु पनि उठ्लान वा उठाईएलान् । यस अवस्थामा नियुक्तिका लागि सिफारिस गर्ने कुरा कति उचित कति अनुचित ?, कति स्वीकार्य वा कति अस्वीकार्य होला ? संसदीय सुनुवाई समिति कहिले गठन होला ? पछि संसदीय सुनुवाईका समयका कानूनमन्त्री नै अहिले गरिएको सिफारिसको विपक्षमा उभिए भने के होला ? यस्ता अरु पनि प्रश्न र समस्याहरु धेरै कोणबाट देखा पर्न सक्तछन् भन्ने मलाई लाग्दछ ।

५. त्यसैले अब निर्वाचनको काम सम्पन्न नभएसम्म न्यायाधीश नियुक्तिको काम गर्नु राम्रो हुँदैन । निर्वाचन आचारसंहिताको कारणले नियुक्ति कार्य अवश्य नै रोकिनु पर्दैन । तर अहिले समय परिस्थिति भने नियुक्तिको लागि अनुकूल छैन । मैले पहिले सम्प्रेषण गरेको धारणाको अर्थ यही नै हो । कृपया यस प्रकारको स्पष्ट र सरल कुरालाई अज्माईस गरेर अनि मेरो नाम जोडेर गलत र भ्रामक अर्थ नलगाई दिनु हुन सम्वन्धित सवैमा अनुरोध छ !!