ओली सरहका वा उस्तै खाले हबिगत भएका प्रधानमन्त्री, राष्ट्रपतिहरू थुप्रै छन्


-जेपी गुप्ता ।

त्यता काठमाडौंतिर आज बत्तीसँग जोरी खोज्न कति सारो किराले आकाश ढाक्यो थाहा छैन । सफा सुग्घर शहर बजारमा आजभोलि त्यति सारो सलह सरह किरो देखिन्न । तर, घाँसपातले ढाकिएको हाम्रो गाँउ घर, कसबा बजारहरूमा भने तिहारमा बालिएका बत्तीको वरिपरि गन्हाउने ‘गन्हकी’ तथा अन्य जातका किराहरूले आकाशै ढाकिएको छ। यद्यपि, आजकल यी किराहरू मर्दैनन् । उहिले उहिले तिहारको दिपावलीमा तेलको दियो बालिने चलन रहदाँ सबै किरा–फट्यांग्रो डढेरै सखाप हुन्थ्यो।

त्यताबाट आएका हिजोका समाचारहरूमा सर्वत्र पूर्वप्रधानमन्त्री ओलीको बिलौना विलाप सुन्यौं । फेरि प्रधानमन्त्री भैआउने पनि भनेका छन् । उनी सरहका वा उस्तै खाले हबिगत भएका यताका प्रधानमन्त्रीहरू, राष्ट्रपतिहरू थुप्रै छन् । यो नेपालमा मात्र भएको, यही मात्र गद्दी छोडेर भाग्नु परेको होइन । यसर्थ, यत्रो दुःख मनाउ गर्नु जरूरी पनि छैन । बितेका ७–१० वर्षकै फेहरिस्त हेर्ने हो भने कयौंले ओलीकै बाटो लिएको भेटिन्छ ।

हेरौ त यो फेहरिस्तः
सन् १९९८ मा इण्डोनेशियाका राष्ट्रपति सुहार्तो, सन् २००० मा सर्वियाको राष्ट्रपति स्लोबोडान मिलोसेभिच, सन् ०१ मा फिलिपिन्सका राष्ट्रपति जोसेफ इस्ट्राडा, सन् ०३ मा जर्जियाका राष्ट्रपति एडुआर्ड शेवार्नाड्जे, सन् ०५ मा किर्जिस्तानका राष्ट्रपति कुर्मानबेक अकायेभ, सन् ११ मै क्रमशः ट्युनिशियाका राष्ट्रपति जिन एल अबिदिन बेन अली, इजिप्टका राष्ट्रपति होस्नी मुबारक र लिबियाका राष्ट्रप्रमुख मुआम्मर गद्दाफी, सन् ०१२ मा यमनका राष्ट्रपति अली अब्दुल्लाह सालह, सन् ०१४ मा क्रमशः युक्रेनका राष्ट्रपति भिक्टर यानुकोभि र बुर्किनाफासोका राष्ट्रपति ब्लेज कम्पाओरे, सन् ०१९ मा क्रमशः सुडानका राष्ट्रपति ओमर अल–बसिर, अल्जेरियाका राष्ट्रपति अब्देल अजिज बौतेफ्लिका, बोलिभियाका राष्ट्रपति इभो मेरालेस, इराकका प्रधानमंत्री आदिल अब्दुल–महदी, लेबनानका राष्ट्रपति साद हरीरी, सन् ०२२ मा श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे, सन् ०२४ मा बंगलादेशका प्रधानमन्त्री शेख हसिना, अनि नेपालकै राजा ज्ञानेन्द्र र अहिलेका ओली । ओली पछि पनि यो क्रम जारी नै छ, माडागस्कर आदि मुलुकहरूमा । माथिका यी सबै महोदयहरू पदत्यागी, भगुआ, बलात् विस्थापित वा मारिएकाहरू हुन्।

सत्य त के हो भने, यसरी मुलुक छोडेर, बाध्य भै सत्ता छोडेर, कोई कोई त नृशंसतापूर्वक कुटिएर, मारिएर गएपनि सबैमा एउटा समानता छ। त्यो हो, आमजनप्रतिनिधिको हैसियतबाट उक्लेर गैरउत्तरदायी शासक हुँदै तानाशाह बनेका तिनीहरू कोही पनि ‘अघिल्लोबाट पछिल्लो ओलीहरू’ कोही पनि शिक्षा लिएनन् । एउटै बाटो समाते । हेरौं, यसरी अगाडी बढेकाहरू यहाँ फेरि फर्किएर आउने हुन् कि ?!