निरंकुशताको पतन र राष्ट्रको पुनर्जन्म


-डा. रामकृष्ण तिमल्सेना ।

शक्ति कहिल्यै स्थायी हुँदैन, तर शासनका मूल्यहरू स्थायी रहन्छन्। मानव सभ्यताका अध्यायहरूमा अधिनायकवाद बारम्बार देखा पर्छ, तर हरेक अधिनायक शासन अन्ततः आफ्नो नैतिक र संस्थागत क्षयले ढल्छ। यो चक्र केवल राजनीतिक होइन, मनोवैज्ञानिक र नैतिक पुनर्जागरणको प्रक्रिया हो। Marcel Dirsus ले आफ्नो पुस्तक How Tyrants Fall: And How Nations Survive(२०२४) मा यसै प्रक्रियालाई गहिराइका साथ विश्लेषण गरेका छन्। उनको दृष्टिमा निरंकुशताको पतन केवल सत्ताको अन्त्य होइन, समाजको आत्मचेतनाको पुनर्जन्म हो।

अधिनायकबादी शासन तीन आधारमा टिक्ने बताइन्छ- भय, प्रचार, र भ्रष्ट संरचना। भयले नागरिकको चेतनालाई नियन्त्रण गर्छ; प्रचारले सत्यलाई विकृत पार्छ; र भ्रष्ट संरचनाले शासनलाई वैधानिक देखाए पनि उसको नैतिक आत्मा मर्दै जान्छ। शासन जब विश्वासको सट्टा डरमा टेकेर उभिन्छ, तब पतनको बीउ त्यहीँ उम्रन्छ। शक्तिशाली सत्ताहरू बाहिरबाट होइन, भित्रैबाट ढल्छन्। Dirsus को भनाइमा, निरंकुश शासनको पतन एकै पटक होइन, हजारौं नागरिक चेतनाको ससाना जागरणहरूद्वारा सम्भव हुन्छ।

शासक आफ्नो सञ्जालप्रति सशंकित हुन्छ, निर्णय प्रणाली ठप्प हुन्छ, र संस्थाहरू भ्रष्टाचारमा लिप्त भएर निस्तेज बन्छन्। बुद्धिजीवी, लेखक, कलाकार र युवा पुस्ताले ससाना प्रतिवादका स्वरहरू मार्फत सत्ताको झुटलाई चुनौती दिन थाल्छन्। यही क्षणमा अधिनायकवादको क्षय सुरु हुन्छ। एकपछि अर्को चेतना मिलेर आन्दोलन बन्दछ र त्यो नै शासन परिवर्तनको आधार बन्छ।

अधिनायकबादको पतनपछि राष्ट्रको पुनर्जन्म तीन मूल्यमा टेकेको हुन्छ – सत्य, शक्ति सन्तुलन र नागरिक सहभागिता। सत्यको पुनर्स्थापनाबिना राष्ट्र बाँच्दैन, किनभने असत्य नै पतनको पहिलो कारण हो। सत्य र पारदर्शिता पुनःस्थापना गर्न न्यायिक आयोग, स्वतन्त्र सञ्चारमाध्यम र इतिहासको पुनर्लेखन आवश्यक हुन्छ। शक्ति सन्तुलन पुनर्जीवित गर्न विधायिका, कार्यपालिका र न्यायपालिकाको स्वतन्त्रता सुनिश्चित हुनुपर्छ। नागरिक सहभागिता भने लोकतन्त्रको प्राण हो – नागरिक केवल दर्शक होइन, शासन निर्माणमा सक्रिय सहनिर्माता हुनुपर्छ।

पूर्वीय दर्शनले पनि शासनलाई नैतिकता र संयमसँग जोड्दछ। मनुस्मृतिले राजालाई “प्रजासुखका लागि समर्पित व्यक्ति” को रूपमा देखाउँछ। Dirsus को विचार यस सिद्धान्तसँग मेल खान्छ । उनले नेतृत्वलाई शक्ति होइन, उत्तरदायित्वको रूपमा व्याख्या गर्छन्। शासन टिकाउ तब हुन्छ जब शासक आत्मविजयी हुन्छ, बाह्य विजयले होइन। सत्य, संयम र नैतिक आत्मचेतना नै राज्य स्थायित्वको मूल सूत्र हो।

नेपालका सन्दर्भमा हेर्दा यो विचार अत्यन्त सान्दर्भिक देखिन्छ। नेपालको लोकतन्त्र अझै संक्रमणकालमा छ, जहाँ राजनीतिक अस्थिरता, सत्ता संघर्ष र असत्यको प्रचारले जनविश्वास कमजोर बनाइरहेको छ। लोकतन्त्र केवल चुनाव वा संविधान होइन, आचरण र चरित्रमा पनि निहित हुन्छ। Dirsus ले जस्तै, नेपालमा पनि नेतृत्वले आत्मसंयम र पारदर्शिता अभ्यास नगरी संस्थागत बल सिर्जना गर्न सक्दैन। नागरिक सहभागिता केवल मतदानमा सीमित रहयो भने लोकतन्त्र निष्प्राण हुन्छ। नागरिकले प्रश्न गर्ने, समीक्षा गर्ने र नीति निर्माणमा साक्षर र सक्रिय सहभागिता जनाउने संस्कार विकास गर्न जरुरी छ।

राष्ट्रको पुनर्जन्म सत्य र जिम्मेवारीको साझा दर्शनमा निहित हुन्छ। जब समाज र नेतृत्व दुबै असत्यको सट्टा पारदर्शिता, भयको सट्टा विवेक, र प्रचारको सट्टा तथ्यमा विश्वास गर्न थाल्छन्, तब मात्र लोकतन्त्रको आत्मा पुनर्जीवित हुन्छ। Dirsus को सन्देश यही हो । अधिनायकवाद ढल्न सक्छ, तर त्यो केवल शक्तिसंघर्षको परिणाम होइन; त्यो समाजको नैतिक पुनरुत्थानको परिणाम हो। लोकतन्त्र केवल शासन प्रणाली होइन, यो बाँच्ने संस्कार हो। नेपालले यदि सत्य, विवेक र जिम्मेवारीलाई संस्थागत मूल्यका रूपमा अपनायो भने, लोकतन्त्रले पुनः आफ्नो आत्मा फिर्ता लयाउनेछ। निरंकुशता शक्ति र असत्यको धर्मशास्त्र हो भने, लोकतन्त्र सत्य र सेवा आधारित धर्म हो। जब राष्ट्रले यो भिन्नता बुझ्छ, तब मात्रै उसको आत्मा स्वतन्त्र हुन्छ।