‘आफूपछि कार्यवाहक सभापति को ?’ देउवाले यो सवालको जवाफ केन्द्रीय समितिको बैठकलाई नै छोड्दा उत्तम हुन्छ


-विजयकुमार पाण्डे ।

नेपाली समाज र राजनीतिमा दूरगामी महत्वको फैसला गर्न कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । कांग्रेसका अगाडि—संगठनात्मक र भावनात्मक रूपमा एउटै पार्टीका रूपमा रहन चुनौती छ । एउटा मध्यममार्गी र मोडरेट संस्कारयुक्त पार्टीको भूमिका निभाउन नसक्ने हो भने, नेपाली कांग्रेसको हालत धेरै छिट्टै त्यही हुनेछ—जुन इतिहासमा धेरै पार्टीहरूको भयो।
आज हुने केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले बोलेपछि उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा तथा उनका सहयात्री महामन्त्री र उपस्थित सबै सदस्यहरूले वातावरणलाई कसरी अगाडि लैजानेछन् ? त्यसैबाट यो पार्टीको संस्कार, सिद्धान्त र भविष्यको अन्दाज गर्न सकिनेछ।

‘आफूपछि कार्यवाहक सभापति को ?’ — मेरो विचारमा सभापति शेरबहादुर देउवाले यो सवालको जवाफ केन्द्रीय समितिको बैठकलाई नै छोड्दा उत्तम हुन्छ। पूर्णबहादुर खड्काजी वा शेखर कोइरालाजी दुबैसँग इतिहासको यो संवेदनशील घडीमा आफ्नै विवेक र परम्पराको पालन गर्ने अपेक्षा गरौं। साथै, महामन्त्री गगन थापाजीले र बाँकी पदाधिकारी र केन्द्रीय सदस्य समेतले पनि कांग्रेस इतिहासका परम्परा, समयको पदचाप र भविष्यका चुनौतीको केही अनुमान गर्नुभएको नै होला।
कसैलाई मन परे पनि नपरे पनि, नेपाली कांग्रेसले लिने निर्णयहरूले राणाकालदेखि आजसम्म नेपाली समाज र समग्र राजनीतिलाई थोरबहुत हदमा प्रभावित पार्दै आएको छ। कांग्रेस पार्टीसँग अब त्यो क्षमता र विश्वसनीयता कति बाँकी छ वा छैन ?
आज ‘फस्र्ट पेपर’को परीक्षा सुरु हुँदैछ। केन्द्रीय समितिका सबै परीक्षार्थीलाई गुड लक ।