‘व्यक्ति केन्द्रित बहस छाडेर नीतिगत सुधारका संवाद र गुटरहित छलफल अघि बढाउनुहोस्’


कास्की कांग्रेसका सभापति,
आदरणीय किशोरदत्त बराल दाइ जय नेपाल ।
म हजुरको आलोचक कम समर्थक ज्यादा हुँ ।

तर जेनजी आन्दोलनपछिका विकसित घटनाक्रम यता हजुरका लेखहरू सैद्धान्तिक कम व्यक्ति केन्द्रित धेरै हुन थालेकाले समर्थक कम आलोचक ज्यादा बन्ने कित्तामा पुगेको छु । हुन त मजस्तो भुइँमान्छेले तपाईंको आलोचना गर्दा के फरक पर्ला र ?

हुन त सुरुबाट नै हजुर आत्मकेन्द्रित व्यक्ति हो । हामी झुक्कियौं । बीचमा केही सुधार आउला भन्ने झिनो आशा थियो । तर ठीक विपरीत झनझन् चरम व्यक्तिवादी बन्दै जानुभयो । हजुर जत्तिको मान्छेले लोकतन्त्रमा सिद्धान्त, विचार, विधि र पद्धति प्रधान हुन्छ, व्यक्ति गौण हो भन्ने कुरा बोल्ने आँट गरेको भए नयाँ पुस्ता जो अहिले जेनजी भनेर चिनिएका छन् तिनीहरुको प्रस्फुटन हुँदै गरेको राजनीतिक चेतनामा केही थप बल र परिपक्वताका किरण थपिन्थे ।

शेरबहादुर दाइलाई तत्काल सभापति पद छाडेर पूर्णबहादुर खड्कालाई कार्यवाहक र आगामी प्रधानमन्त्रीमा गगन थापालाई घोषणा गर्न बिलम्ब गरे आकाश नै झर्छ भन्ने भावको तपाईंको लेख नितान्त व्यक्तिवादी चरित्रको नभएर के हो ?

९ सेप्टेम्बरका दिन शेरबहादुर दाइ पो घरमा भेटिनुभयो त । बाँकी नेताहरु कहाँ थिए ? घरमै थिए ?घरमै भएको भए आन्दोलनकारीले अरु नेतालाई पुजा गर्थे कि के गर्थे होलान् ? संविधानले नै नचिन्ने ओली सरकार सञ्चालनको उच्चस्तरीय राजनीतिक संयन्त्रमा को को थिए ? अब फर्किउँ १४ औं अधिवेशनका विषयमा–तपाई शेरबहादुर दाइ, प्रकाशशरण दाइहरूसँग कम्तीमा ५ वर्ष सँगै रहने र विचार समूहमा ईमान्दार रहने संवादका साथ पोखरा फर्कनुभयो । मनोज गुरुङले सहजै विश्वास गरे । तर सभापतिमा निर्वाचित भएलगत्तै काठमाडौं पुगेर विचार समूह परित्याग गरेको सर्वविदितै छ । जसको प्रत्यक्ष शिकारमा प्रकाशशरण परे । फेरि स्थानीय निर्वाचनमा के के भयो, भयो । त्यसको फेहरिस्त हजुर नै जान्नुस् ।

एकातिर युवा पुस्ताको भावनालाई समेट्नुपर्छ पनि भन्ने अनि अर्कोतिर विशेष महाधिवेशन भनेर डंका पिट्ने ? विशेष महाधिवेशनले त नयाँ पुस्तालाई क्रियाशील लिन र महाधिवेशनमा सहभागी हुन रोक लगाउँछ । अनि कसरी विशेष महाधिवेशन अग्रगामी भयो ? मेरो तपाईँलाई पुनः आग्रह छ, व्यक्ति केन्द्रित बहस छाडेर नीतिगत सुधारका संवाद र गुटरहित छलफल अघि बढाउनुहोस् । अहिलेको समयको अपरिहार्य माग यही हो । यसले मेरो सभापतिको, कास्की काँग्रेसको सभापतिको साख र कद दुवै बढाउँछ, गरिमामय बन्छ । यसको थालनी गर्ने आँट गर्नुहोस् । विवादका सिमानाहरु गल्र्यामगुर्लुम ढल्नेछन् भन्ने विश्वासका साथ जय नेपाल ।

-पशुपति भट्टराई, केन्द्रीय सदस्य, नेपाल तरुण दल