-सुवोधराज प्याकुरेल ।
केपीको काख र तापको भरमा पार्टीको दर्जा र दैयावाल बनेका केही अजिराहाहरु जिकीर गर्दैछन् कि नेतृत्वको बारेमा आगामी महाधिवेशनलाई निर्णय गर्न दिउँ । दशौँ महाधिवेशनमा पार्टी भर्खर माओवादीसँगको एकता टुटेर विभिन्डिएको अवस्था थियो । भर्खर संकट पार लगाएको बेलामा कार्यकर्ताले केपीलाई सर्वाधिकार समर्पण गरेर बलियो बनाए । तर केपीले नेतृत्वलाई घेराबन्दी गरेर आलोचकलाई ढोका बन्द गर्न सिपालुलाई आफ्नो सचिवालयमा झन् शक्तिशाली बनाए । र मनपरी गर्न उक्साए ।
वैचारिक राजनीतिक मामिलामा संगठनलाई सहजीकरण गर्न र सघाउन सिर्जना गरिएका इञ्चार्जहरु संगठनलाई जमिन्दारले गोठालो कज्याए जस्तो कज्याउन थाले । नवौं महाधिवेशनबाट विजयी भए पश्चातको यो ढाँचा यति कसिलो बनाइयो कि इञ्चार्जहरु महिनामा दशौँ पटक अध्यक्षसँग कुम जोडेर फोटो खिच्ने, सामाजिक सञ्जालमा पोष्ट गर्ने र श्रद्धेय अध्यक्षबाट निर्देशन लिएर आएको छु भन्दै संगठनको निर्वाचनलगायत हरेक दैनिकीमा समेत हस्तक्षेप गर्न थाले।
अहिले तिनै चाटुकार इञ्चार्जले नै आगामी महाधिवेशनको प्रतिनिधि छनौटमा हस्तक्षेप गर्नेहुन् । अनि तिनको प्रचण्ड बहुमतले केपीलाई सात–खत बाट मुक्त गरिदिने हो । हालका चाटुकारले थाहा पाइसके कि अब जनता समक्ष तिनको हैसियत इज्जतिलो छैन । तथापि दर्जामा बसिरहन पाए, कमसेकम सरकारी र सार्वजनिक कार्यक्रममा फलानो पार्टीको नेताको हैसियतले झुल्किन पाइन्थ्यो । गुमनाम हुनुपर्ने थिएन । त्यसैले उनीहरु सुन्दा एकदमै राम्रो प्रकृयाको कुरा गर्दैछन् । तर अन्तर्य भनेको केपीको ओत लागेर आफ्नो हैसियत जोगाउनु मात्र हो ।
न केपीको अहंकार न चाटुकारको लम्पसार, यी दुबै तत्वको समूल अन्त्य नगर्ने हो भने एमालेलाई औपचारिक विघटन गर्नै पर्दैन । यो सत्तामा भाग खोज्न जिब्रो लपलपाइरहने भुरे–टाकुरे च्याँखे पार्टीमा खुम्चिने छ ।

प्रतिक्रिया