-जीवन क्षेत्री ।
रामजी रामले मन्त्रीको शपथ लिए भने मलाई यो देशको सार्वभौम नागरिक हुनुको घमण्ड नै हुनेछ । ल आज यति चाहिँ भनियो । म जिन्दगीमा बिरलै घमण्ड गर्ने मान्छे हुँ । देश नक्सामा भूगोल थपेर ठूलो हुँदैन, युगौंदेखि सत्ता र शक्तिले ठगेकाहरूलाई, लखेटेकाहरूलाई, अन्यायमा परेकाहरूलाई न्याय दिएर ठूलो हुन्छ। त्यसमाथि रामजी राम हामी जस्ता उमेर पुगेका मानिसहरूभन्दा धेरै गुणा लायक र होनहार युवा हुन्।
षड्यन्त्रका कथावाचकहरू पक्कै पनि उनको नाम आउनासाथ उनी यसको र उसको एजेन्ट भन्ने फर्जी कथाहरु खोज्न व्यस्त होलान्। तिनलाई यो देशमा कुनै पनि राम्रो काम भएको मनै पर्दैन । तर म विश्वस्त छुः स्वास्थ्य मन्त्री बनेर आए भने रामजी रामले केही त्यस्ता कामहरू गरेर देखाउनेछन् जुन भ्रष्ट र अपराधी दलतन्त्रका कारण सजिलै हुन सक्ने हुँदा पनि भएको थिएन। स्रोत साधन छँदाछँदै पनि भएको थिएन।
नेपाल यस्तो देश हो जहाँ कुनै पनि सार्वजनिक पदमा हुने मानिसले आफूले साविक गर्नुपर्ने काम गर्यो भने ऊ नायक बन्छ किनकी त्यति पनि नगर्ने नालायकहरुले यो देश तलदेखि माथिसम्म भरिएको छ। त्यसैले मलाई रामजी राम पदमा पुगेपछि कस्तो काम गर्लान् भन्ने चिन्ता छैन । बरु अझै पनि उनी जस्तो किनाराबाट आएर, हरेक अपमानको विष पिएर अतुलनीय संघर्ष गर्नेहरुलाई मन्त्री जस्तो पदबाट टाढै राख्न षड्यन्त्रहरू हुन सक्छन्।

प्रतिक्रिया