जेनजी आन्दोलनको वर्गीय विश्लेषण हुनुपर्छ


-डा. युवराज संग्रौला ।

दलका नेताको कुसाशन र भ्रष्टाचारले निर्माण गरेको निरासा र आक्रोशले जन्माएको विद्रोह र वलिदानमा , जेन्जिका काँधमा चढेर कुलीन र विदेशीले देश जलाए । देश विदेशमा बस्ने सबै नेपाली दिदी बहिनी तथा दाजुभाइ र नाता संगतीलाई दसैंको हार्दिक शुभकामना। यहाँहरुको स्वास्थ र समृद्धिको कामना गर्दछु ।देश आज बिमारी छ। समाजको स्वास्थ पनि पिरोलो लाग्दो छ। एकजना महान व्यक्तिले भनेका छन् ‘अस्वस्थ समाजमा नागरिक पनि अस्वस्थ हुन्छ। र, अस्वस्थ नागरिकको समाज पनि अस्वस्थ हुन्छ।’

१. यो बिरामी समाजको निर्माण कसले गर्यो ? यो प्रश्नमाथि गम्भीर छलफल नभई देशमा राजनीतिक उथलपुथल हुँदा राष्ट्र समेत भष्म भयो, निर्दोष युवा हताहत भए । ‘राष्ट्रको अस्तित्व त मात्रै असल र सफल राज्यव्यवस्थामा निहित रहन्छ भने राज्यव्यवस्थाको सफलता असल राजनीति नेतृत्वमा निहित रहन्छ, र असल राजनीतिक नेतृत्वले सिद्धान्त, नैतिकता, र जनउत्तरदायीत्वलाई अपरिहार्य गुण मान्दछ।’ नेपालमा पछिल्लो ३० वर्षमा यसकै अभावले नेपाली समाज अस्वस्थ भयो। सिंहदरवारको ताकत र “जनताका नाममा उनीहरुले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति, माफियाले दिएको कमिसन, र राज्यको कोषबाट चोरेको घनबाट प्राप्त अलिसान जीवनपद्धतिले नेतृत्वलाई अस्वस्थ बनायो।“ अस्वस्थ नेतृत्वले समाजलाई नै अस्वस्थ बनायो। फोहरी प्रदुषित भएपछि त माछा अस्वस्थ त हुने नै भए ।

२. किन भयो राजनीतिक नेतृत्व यस्तो प्रदुषित ? उत्तर सिधा छ । नेतृत्व सिद्धान्त र अनैतिक भयो । हरेक राजनीति दलले बोकेको सिद्धान्तले उसको ‘वर्गआधार’ निर्धारण गर्दछ । समाजवादले श्रमिक र गरीब तप्काका नागरिकलाई आफ्नो वर्गआधार मान्छ। पुँजीवादले पुँजीपतिलाई आफ्नो वर्गआधार मान्दछ । परम्परावादीले कुलीन र राष्ट्रवादीले रास्ट्रको इतिहास र गौरव संङ्ग जोडिएका मान्छेलाई आफ्नो वर्गआधार मान्दछन् । उनीहरु सबैले राष्ट्रको सार्भभौमसत्ताको पक्षधरताको वरिपरि, राष्ट्रिय सुरक्षा र स्वतन्त्रताको जिम्मेवारी लिंदै आफनो वर्गको उद्धार र समृद्धिलाई विशेष जोड दिन्छन् । अतः जब सिद्धान्त पतन हुन्छ उनीहरुको वर्गआधार भत्किन्छ र नेतृत्व कुलिनवर्गमा स्थानान्तरण भै सत्ताको भोको, दुराचारी र भ्रष्टाचारी बन्दछ। नेपाली समाज रोगी हुनुको जरो कारण यहि हो।

३. २०५२ सालपछि नेपालमा सिद्धान्तहिनताको भाइरस नेपालको राजनीतिमा पस्यो । त्यसैले अनेकौं सिद्धान्तहिन र अपबित्र गठबन्धन बने। सांसहरुको किनवेच भयो। कांग्रेसको प्रजातान्त्रिक समाजवादलाई नवउदारवादको विषखुवाएर हत्या गरियो । वामपन्थीहरु महाकाली सन्धीगर्दै, क्रमशः समाजवादको बाटोबाट अलगिंदै, पश्चिमी पैसाले चलेका एनजिओका दास हुँदै भेडाको छालामा सज्जिएका स्याल र फ्याउरा बन्न पुगे । उनीहरुले श्रमजीवीलाई छोडीदिए। थोरै केही बामपन्थी यान्त्रिक बने र नागरिक र देशको सेवाबाट बिमुख भए।

४. यसले नेपालमा ‘राजनीतिक कुसंस्कार र न्युनतम लोकतान्त्रिक मान्यता तोड्दै “कालू कालू मिलेर खाउँ आलु’ को सिद्धान्त लागू गर्दै, अपवित्र गठबन्धन, बनाउँदै सत्ताको दुरुपयोग गरे । दुषित तरीकाले धन कमाउन थाले। कमिसन खानु उनीहरुको व्यवसाय बन्यो। जनतामाथि प्रत्येक कदममा कर थोपरे शोषण गर्न थाले। वस्तुको मूल्यमा कर थपेर भाउ तोक्ने र करमाथि भ्याट लगाउन थाले। आज हरेक खातापिता नेपाली पनि गरीब बन्दैछ।

५. उनीहरुले थोरै नेता, राजनीतिक व्यापारी, माफिया, र व्यापारीका नामका लुटेराको संभ्रान्त वर्ग सिर्जना गर्दै (क) किसान र श्रमिकले बस्न नसक्ने देश बनाए, र (क) शिक्षालाई नै वर्ग निर्माण गर्ने थलो बनाए। कसरी ?

६. तल्लो आर्थिक तहका ४०% गरीबका छोराछोरीले पढ्ने स्कुलहरु राजनीति दलका कार्यालय जस्तै छन् । अतः गाउँका गरीबलाई उन्नत शिक्षामा पहुँच छैन । सहरमा बोर्डिङ्ग छन्, सरकारले कुनै सहुलियत त दिंदैन, बरु कर लिन्छ । विद्यार्थीका शुल्कले चल्ने यी स्कुलमा मध्यम ४०% जनसंख्याका बाबुआमाले ‘सबै कमाइ हालेर एवंम ऋृण लिएर’ छोराछोरी पढाउँछन् र छोराछोरी पढाउँदा गरीब बन्छन् । विदेशमा गएर काम गर्दा कमाएको छोराछोरी पढाउनमै सक्छन् । यी स्कुलमा आडम्वर छ। संस्कृति र मातृभाषा समाप्त हुन्छ। माथिल्लो २०% ले ६०/७० हजार तिरेर विदेशी पाठ्यक्रम पढाउँछन् र कुलीन समाजको निर्माण गर्छन् ।

७. अहिले नेपालको उच्च शिक्षामा पुगेका पाँच लाख पचास हजार विद्यार्थी माथिल्लो २०% धनी वा उच्च मध्यम परीवारको अधिनमा छ। यहाँ अध्यन गर्ने ८०% बिद्यार्थी यस २०% बाट आंउछ्न। तलको ४०% जनताका छोराछोरी, स्कुल तह नसकी बाहिरिन्छन् । उनीहरु अरब र मलेसिया पुग्छन् किनभने खेती गर्दा टाट पल्टिन्छ । मध्यम ४०% जताततै छरिन्छ, यात विदेश गएर उतै बस्छ वा सहरीया सानोतिनो बिजनेस र जागिरमा लाग्छ। सबै डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट, वकिल, आदि हुने त त्यही माथिल्लो २०% बाट हो । उसैले सरकारका पदमा अधीन जमाउँछ। त्यस भित्रको ५% का अधीनमा देशको अर्थतन्त्र छ । जेनजी आन्दोलनमा पनि यही २०% को बाहुल्यता थियो। आइफोन र प्याड बोक्ने त यही तह हो र विदेशी एनजिओमा पहुँच भएको पनि यही वर्ग हो।

८. यो विषम वर्ग कसले जन्मायो ? कांग्रेस र सत्ताधारी कम्युनिष्टका सिद्धान्तहीन शासनले होइन र ? आज माथिल्लो ५% भित्र को छ ? यिनै पार्टीका राजनीतिमा अधीन जमाएर बसेका नेता, उनलाई पाल्ने माफिया, र भ्रष्ट कर्मचारी । तर अहिले घर नजलाइएका वैकल्पिक भनिने रास्वपा र राप्रपाका नेतापनि यही वर्गमा पर्छन् । उनीहरुका घर चैं किन जलेनन् ? घुसपैठ गरेर जेनजी पुस्ताको आन्दोलन भाँड्नमा यिनको हात त छैन ?यो प्रश्नको उत्तर भविययमा आउनेनै छ।

९. तसर्थ, जेनजी आन्दोलनको वर्गीय विश्लेषण हुनु आवश्यक छ। यो आन्दोलनको उद्देश्य विदेशीले ध्वस्त पारेको शिक्षाको उद्धार गरेर स्वरोजगार निर्माण गर्नु पनि हुनुपथ्र्यो ? तर यो माग त थिएन। देशको कृषिको वैज्ञानिकिकरणका लागि यो आन्दोलन हो ? होइन । यो माग पनि थिएन। देशका युवालाई डिजिटल क्रान्तिमा लगाउन हो ? होइन। यो माग पनि थिएन। पलाएन रोकेर देशमा रोजगारी निर्माण गर्नु हो ? होइन। यो माग पनि थिएन। नेपालको इतिहास र संस्कृतिको संरक्षणका लागि हो ? होइन। यो माग पनि थिएन। चर्किंदो भुराजनीतिलाई व्यवस्थापन गर्दै, राष्ट्रको स्वतन्त्रता र विदेशी बढ्दो हस्तक्षेप रोक्नु हो ? होइन। यो माग पनि थिएन। यो आन्दोलन अधुरो थियो। यी मागहरू सहित बौद्धिकहरुको आन्दोलन आज देशले मागीरहेको छ।

१०. भ्रष्टाचारको विरोध आवश्यक थियो । तर अफसोस जेनजी आन्दोलन उनीहरुको नेतृत्वमा थिएन। कोही अरु अँध्यारो कोठामा बसेर ‘जेनजी’ को काँधमा चढेर (क) भूराजनीतिको खेल खेल्दै थियो । (ख) कोही उनीहरुलाई अगाडी सारेर बाटोमा जनता निकाल्ने र बिध्वंस गरि पुराना कुलिनहरु लेखेटेर आफ्नो कुलिनता जमाउन र निरंकुशता लाद्न चाहन्थ्यो। सडकमा गोली खाने (क) तल्लो ४०% गरीब र (ख) दोश्रो ४०% न्यून मध्यम परिवारका जीवन सपार्न सडकमा आएका विद्यार्थी थिए । अरु त फेसबुक र इन्स्टाग्राममा आन्दोलन गर्ने जेनजी थिए। यो आन्दोलनको समर्थन र प्रतिनिधित्व गर्ने भनिएका थुप्रैका बाबू हजुरबाबु त जीवनभर राज्यकै सत्तामा बस्ने थिएनन र ? एकथरी नेपोबेबिज अर्काथरी नेपालोबेबिजको विरोध गर्ने विदेशी संस्थाका सदस्य थिए । बस, आम जनतहका जेनजीका काँधमा चढेर, संभ्रान्त जेनजी सत्ताको परिवर्तन गर्न उनका बाबुआमाको स्वार्थपूर्ति गरिरहेका थिए, अनि विदेशीका लागि मेरो देश जलिरहेको थियो। लोकतन्त्र र देशको समृद्धिका लागि लडेका राजनीति दलका नेताले सिद्धान्त र वर्गआधार छोडेर भ्रष्टाचारबाट सम्पत्ति सोहोर्दा जन्मिएको निराशा र आक्रोशले जन्मेको विद्रोहलाई संभ्रान्त र विदेशीले प्रयोग गरे । मेरो देश जल्यो, जेनजीको बलिदानले केही पाएन । अब त चेतना भएका बौद्धिक र इमान्दार राजनीतिककर्मीका आँखा खुल्नुपर्छ।