-नारायण गाउँले
एउटा यस्तो नेता, जसको भाषा सम्पूर्ण देशलाई, हरेक पुस्ता र वर्गलाई जोड्ने खालको होस् । घाउमा मल्हम लगाउने र उज्यालो भविष्यको आशा देखाउने खालको होस् । युवा होस्, टीमवर्कमा विश्वास गर्ने होस्, पढेको होस्, सुशील होस्, चरित्रवान् होस् र आत्मविश्वासी पनि होस् । सकेसम्म आफै सिँढ़ी चढ्न सक्ने, आफ्नो छाता र फाइल आफै बोक्न सक्ने, जगको पानी खन्याएर पिउन सक्ने पनि होस् । जसलाई रोलमोडल मानेर हामीलाई हाम्रो सन्तान त्यस्तै बनाउन पाए भन्ने लागोस् ।
अर्थतन्त्र र समाजका सूक्ष्म अवयव बुझेको होस्, समृद्धिमा उद्योगधन्दा र व्यवसायको महत्त्व र योगदान बुझेको होस् । देशको वास्तविकता, सीमा र सम्भावना बुझेको र बुझाउन सक्ने होस् । बेलुन जस्ता सपना बाँडेर होइन, हाम्रो धरातल र क्षमता हेरेर योजना र रणनीति तय गर्न प्रेरित गर्ने होस् । बोलीमा तथ्य होस्, दिशा होस् र एकरूपता होस् ! अन्तर्राष्ट्रिय मञ्चमा, संवाद र वार्ताहरूमा तार्किक र प्रामाणिक रूपले देशको पक्ष राख्न सक्ने क्षमता भएको होस् ।
उत्तेजना, घृणा, गाली र निषेधले समाज या देश बन्दैन भन्ने बुझेको र बुझाउन सक्ने होस् ! सबैभन्दा ठूलो कुरा जिम्मेवारी र जवाफदेहिता अरूतिर नपन्छाई आफ्नो काँधमा लिने होस् । गल्ती गर्दा विनम्रतापूर्वक झुकेर माफी माग्ने होस् तर सत्य र इमानका लागि छाती चौड़ा गरेर उभिने पनि होस् । अलिकति साहित्य, अलिकति हास्य, अलिकति दर्शन, अलिकति विज्ञान–प्रविधि र अलिकति कानुन पढेको होस् । उसले अलिकति भूराजनीति पनि बुझेको होस् । विश्वशक्ति बन्दै गरेका दुई विशाल छिमेकीसँगै उन्नतिको बाटोमा देशलाई डोर्याउन सक्ने होस् । राजनीतिमा पक्षविपक्ष त हुन्छ नै तर यसको हातमा देशको स्टेयरिङ्ग पुग्यो भने देश बिग्रन्न भन्ने विपक्षीलाई पनि लागोस् ।
जेनजीको भावना र भविष्यको प्रतिनिनिधित्व गर्दै देशलाई एक्काइसौँ शताब्दीको यो तीव्र प्रतिष्पर्धी युगमा नेतृत्व गर्नसक्ने त्यस्तो एक नेता तपाईंको नजरमा को होला ? सप्पै नमिले पनि धेरै मिल्ने एउटा नाम लिनुपर्यो भने त्यो कुन होला ? यति कुरा सुधार गर्ने हो भने यो नेता ठीक छ भन्ने पनि छ कि ?

प्रतिक्रिया