-टंक कार्की ।
नेतृत्वको अतृप्ति र अकर्मण्यताले जनतामा रोष र वितिष्णा आएकै हो । जनता सुधार चाहन्थे तर नेतृत्व आफ्नो स्वार्थमा घण्टाकर्ण भएकै हो । त्यसले न जनताको पुकार बेलैमा सुन्न सक्यो न षड्यन्त्रकै मेलोमेसो बुझ्न सक्यो । ऊ बाँसुरी फुक्नमै मस्त रह्यो । तर रंगमञ्चमा उनीहरु मात्रै थिएनन् । यो पनि हामीले भोग्यौं, स्वार्थ लम्पट र राष्ट्रका वैरीहरुले जनताको असन्तुष्टि र रोषमा घुसेर यत्रो नरसंहार र अग्निकाण्ड मचाई छोडे–यति भने अब सबैलाई छर्लङ्ग भएको हुनुपर्छ । थिलथिलो त बनाए तर खप्पर फोर्दा पनि, धन्न, आफ्नो ‘मकसद’– ‘रिजिम चेन्ज’मा पुरै ‘कामयाव’ हुन भने सकेनन् । तिनको अझ भित्री ‘मकसद’ के थियो ? ! प्रारम्भिक लख त यसै पनि काट्न सकिन्छ यसबाट को को लाभन्वित हुँदैछन्, को को बढी ताहुरमाहुर देखाइरहेका छन् र कुन कुन शक्ति तिनको निशानामा परेका छन् ।
अहिलेको यो अवस्था लरतरो राष्ट्रिय संकट होइन । जनताको वास्तविक अपेक्षा र राष्ट्रको संकट मोचन गर्न फराकिलो राष्ट्रिय मेलमिलाको विकल्प छैन । त्यसको अनिवार्य शर्त भनेको नेताको मात्र होइन नेतृत्वको पुनर्गठन नै हो । त्यसले मात्र गुमेको साख आर्जन गर्न र जनताको विश्वास जित्न सक्दछ र मुलुकलाई स्थिरताकाका साथ अग्रगति दिन सक्दछ । हामी जाग्नु पर्दछ । स्वार्थी र वैरीहरुले फेरि खप्पर फोरे पनि ‘यो राष्ट्र बाँच्छ, बाँच्छ’, ‘शिर उचाली’ लम्कन्छ ।

प्रतिक्रिया